छाया सरकार बनाउँदै कांग्रेस «

छाया सरकार बनाउँदै कांग्रेस

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलका नेता पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकार बनाउने निर्णय गरेको हो ।
संसदीय दलको बैठकमा छाया सरकार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् । बैठकपछि उनले भनिन्, ‘‘छाया सरकार गठन गर्ने भन्ने पहिलेबाटै तयारी भइरहेको थियो । चाँडोेभन्दा चाँडो सरकार गठन गर्ने निर्णय भएको छ ।’’ संसदीय दलको बैठकले इच्छुक सांसदहरुलाई रुची भएका कुनै तीन मन्त्रालयको नाम उल्लेख गरेर सचिवालयमा दिन भनेको सचेतक भुसालले जानकारी दिइन् ।
कांग्रेसले यसअघि नै छाया सरकार गठन गर्ने निर्णय गरेको थियो । यसअघिकै छाया सरकार बनाउने निर्णयलाई संसदीय दलको बैठकले कार्यान्वयनमा ल्याएको हो । सांसद मिनेन्द्र रिजालका अनुसार सभापति देउवाको नेतृत्वमा गठन हुने छाया सरकारका लागि नाम दिन सात दिनको समय दिइएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार बनेलगत्तै छाया सरकार बनाउने बताएको कांग्रेसले १० महिनापछि छाया सरकार गठन गर्न लागेको हो । छाया सरकार बनेपछि छाया मन्त्रीले आफूले पाएको मन्त्रालयको काम कारवाहीको निगरानी गर्ने र त्यही आधारमा संसदमा सम्बन्धित मन्त्रीलाई प्रश्नसमेत गर्ने बताइएको छ ।
संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर भएको गुनासो आएपछि कांग्रेसले छाया सरकार नै बनाएर सक्रियता बढाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्