सेजका उद्योगले ६० प्रतिशत मात्रै निर्यात गरे पुग्ने «

सेजका उद्योगले ६० प्रतिशत मात्रै निर्यात गरे पुग्ने

काठमाडौं-विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालन हुने उद्योगले ६० प्रतिशत मात्रै वस्तु निर्यात गरे पुग्ने भएको छ । देशको ब्यापारघाटा बढिरहेका बेला निर्यात प्रवद्र्धनमा विशेष योगदान दिने उद्देश्यले स्थापित सेजमा यसअघि ७५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था गरिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेजका उद्योगलाई निर्यातमा छुट दिँदै ६० प्रतिशतमा झारेको हो ।
सेजमा स्थापित उद्योगले २५ प्रतिशत मात्रै आन्तरिक बजारमा खपत गर्न पाउनेमा अब भने ४० प्रतिशत स्वदेशी बजार पाएका छन् । उत्पादित ७५ प्रतिशत वस्तु निर्यात गर्न कठिन हुने भन्दै व्यवसायीले उक्त सिमा घटाउन पटकपटक सरकारसँग माग गर्दै आएका थिए । सोही बमोजिम सरकारले उक्त सिमा घटाएको हो । यसअघि नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणालगायतका निजी क्षेत्रका प्रतिनिधि संस्थाका नेतृत्वले सेजमा उत्पादित सामग्रीको स्वदेशी बजार हिस्सा बढाइदिन आग्रह गरेका थिए ।
उद्योगीहरूले सुरुवातका केही वर्षमा सेजको प्रावधान केही सहज बनाउनुपर्ने भन्दै पहिलो चरणमा निर्यातभन्दा पनि उद्योग नै सञ्चालनमा जोड दिन आग्रह गरेका छन् । बढ्दो व्यापार घाटा सम्बोधन गर्न पनि ६० प्रतिशतसम्म निर्यात गर्ने उद्योगलाई सेजमा प्रवेश दिन उद्योगीहरूको माग थियो । अब उद्योगीको माग सम्बोधन भएको छ । “देशको व्यापारघाटा बढिरहेका बेला जतिसक्यो देशमै उत्पादन बढाउने र निर्यात गर्नमा जोड दिनुपर्छ,” उद्योग बाणिज्य महासंघका निर्यात प्रवद्र्धन सभापति प्रकाशसिंह कार्कीले भने, “अब सेजमा थप उद्योगको आकर्षण बढ्छ ।”
यस्तै सेजमा सरकारले प्रतिस्क्वायर फिट २० रूपैयाँ भाडा तय गरेको छ । यसअघि प्रतिस्क्वायर फिट १ सय ५० रूपैयाँ भाडा लिने व्यवस्था गरिएको थियो । सेजबाट सरकारले उद्योगको प्रबद्र्धन गर्नुपर्ने भन्दै भाडा दर घटाउन पनि उद्योगीहरूको माग छ ।
सेजमा स्थापना हुने उद्योगले पहिलो ५ वर्षसम्म शत्प्रतिशत छुट, कम्तिमा ६० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योग भए त्यसपछिका १० वर्षसम्म ५० प्रतिशत छुट पाउँछन् । अन्य उद्योग भए पाँच वर्षसम्म ५० प्रतिशत छुटको व्यवस्था छ । यस्तै उद्योगलाई बिक्री गरिने कच्चा पदार्थ तथा उद्योगबाट उत्पादित सामानलाई मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था सरकारले नियमावलीमार्फत गरेको छ । यसैगरी कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकिङ सामग्री, प्लान्ट, मेसिनरी, यन्त्र उपकरण, औजारहरू तथा पार्टपूर्जा र तीन वटासम्म सवारी साधनमा भन्सार महसुल छुटको व्यवस्था गरिएको छ ।
भैरहवा सेजमा १८ वटा उद्योग सञ्चालनको अन्तिम तयारीमा छन् । बाँकी रहेका १९ वटा प्लटका लागि गरिएको पछिल्लो आवदेनमा ४ वटा उद्योगको आवदेन परेको छ । सरकारी निर्णयसँगै अब थप आकर्षण बढ्ने अनुमान गरिएको छ । सेजका उद्योगको मुख्य उद्देश्य निर्यात गर्नू नै हो । कुनै कारणवश निर्यात गर्न नसकेको अवस्थामा ४० प्रतिशत आन्तरिक बजार पाएपछि उद्योग टिक्न सक्ने सेज प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट बताउँछन् । सेजमा आवेदन दिइसकेका उद्योगबाट झन्डै ५ अर्ब रूपैयाँभन्दा धेरै लगानी हुने भएको छ । सरकारले पाँचखाल, सिमरा, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढीलगायतका क्षेत्रमा पनि सेज स्थापनाको काम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्