शिक्षामा जोड दिँदै रोल्पा नगरपालिका «

शिक्षामा जोड दिँदै रोल्पा नगरपालिका

प्रदेश – लुम्बिनी
जिल्ला – रोल्पा
उपप्रमुख – मनकुमारी घर्तीमगर
प्रमुख प्रशासकीय अधिकृत -मोहन पौडेल
जनसंख्या – ३४ हजार ९ सय ९८
बस्ती संख्या – ८ सय ९२
क्षेत्रफल – २७०.४२ वर्ग किमि
वडा – १०

रोल्पा नगरपालिकाले ‘एक घर एक रोजगार’ कार्यक्रम अघि सारेको छ । यसका लागि उसले हरेक वर्ष १ सय जना प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी बजेट विनियोजनसमेत गर्दै आएको छ ।
यसका लागि नगरपालिकाले पहिलो वर्ष ४० लाख र त्यसपछि हरेक वर्ष ३० लाखका दरले प्राविधिक छात्रवृत्तिका लागि बजेट विनियोजन गर्दै आएको छ । उक्त बजेटबाट शैक्षिक सत्र २०७४ मा ५५ जना, शैक्षिक सत्र २०७५ र २०७६ मा ५१-५१ जना र शैक्षिक सत्र २०७७ मा ५५ जना विद्यार्थीले छात्रवृत्तिबाट अध्ययन गरेका थिए ।
प्राविधिक जनशक्ति उत्पादन गर्ने भन्दै नगरपालिकाले स्थानीय सरकार गठन भएको सुरुको वर्षदेखि नै छात्रवृत्तिको व्यवस्था गरेको हो । डिप्लोमा तहको बाली विज्ञान, पशु विज्ञान, ओभरसियर र अहेब तथा १८ महिने सब–ओभरसियर, वन विज्ञान र स्वास्थ्य अध्ययनमा सहयोग गर्ने भन्दै हरेक वर्ष १ सय जना विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम अघि सारेको छ ।
इन्जिनियरिङ, पशुविज्ञान र बाली विज्ञान जिल्लाभित्रैका शिक्षण संस्थाहरूमा अध्यापन गराइँदै आएको छ भने वन विज्ञान र स्वास्थ्यका लागि जिल्ला बाहिर पठाइने गरेको छ । नगरपालिकाको छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरूले पढाइ पूरा गरेपछि एक वर्ष नगरपालिकामा स्वयंसेवा गर्ने गरी नीति बनाउन थालेको नगरपालिकाले जनाएको छ ।
निर्वाचनमा गरेको प्रतिबद्धताबमोजिम एक घर एक रोजगार कार्यक्रमअन्तर्गत प्राविधिक छात्रवृत्तिको व्यवस्था गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । अहिले छात्रवृत्तिमा पढिरहेकाहरू पढाइ सकेपछि आफूले पढेको विषयमा रोजगार हुन्छन् भन्ने भनेर नगरपालिकाले एक घर एक रोजगारको कार्यक्रम अघि सारेको हो, नगरप्रमुख केसीले भने ।
त्यसो त निर्वाचनका बेला नगरलाई शैक्षिक हबका रूपमा विकास गर्ने चुनावी नाराले पनि निकै चर्चा पाएको थियो । शैक्षिक विकासको आधार निकै कमजोर रहेको नगरमा शैक्षिक हबको विषय धेरैको उत्सुकता र चासोको विषय थियो । केसी भारी मतले नगरप्रमुखमा निर्वाचित समेत भएपछि शैक्षिक हबका लागि पनि काम गरिरहेको बताउँछन् ।
पहिलो वर्षको बजेट र नीति तथा कार्यक्रममा ‘रोल्पा नगरपालिकालाई रोल्पा पोलिटेक्निक कलेज, जलजला बहुमुखी क्याम्पस, कृषि क्याम्पस र नमुना विद्यालय श्री बालकल्याण नमुना माविको एकीकृत समायोजनको नीति अवलम्बन गर्दै शैक्षिक हबका रूपमा विकास गरिनेछ’ भन्ने शिक्षा नीति सार्वजनिक गरे ।
नगरपालिकाले नगर शिक्षा योजनामा नगर क्षेत्रका शैक्षिक संस्थाहरूलाई गुणस्तरीय शिक्षाप्रदायकका रूपमा विकास गरी नगर क्षेत्र तथा बाहिरका विद्यार्थी र आमअभिभावकहरूको पहिलो रोजाइको केन्द्र बनाउने भनेर शैक्षिक हबलाई परिभाषित गरेको छ । साधारण शिक्षा, प्राविधिक शिक्षा र सीपमूलक तालिमलाई एकीकृत र समन्वयात्मक ढंगले अगाडि बढाउने र शिक्षाका लागि सबैको आकर्षणको केन्द्र बनाउनेतर्फ शैक्षिक हबलाई केन्द्रित गर्ने भनिएको छ ।
दक्ष शिक्षक गुणस्तरीय शिक्षा, समृद्ध र समुन्नत रोल्पा नगरपालिका हाम्रो इच्छा भन्ने आदर्श वाक्यका साथ आगामी पाँच वर्षलाई सामुदायिक विद्यालय सुधार अभियानका रूपमा सञ्चालन गरिनेछ भनेर शिक्षासम्बन्धी नीति तय गरेको नगरपालिकाले हरेक वर्ष उच्च प्राथमिकताका साथ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७४-०७५ मा संघीय सरकारको ससर्त अनुदान र सामाजिक सुरक्षा कार्यक्रमको बजेटबाहेक २६ करोड ७३ लाख २५ हजार १ सय ६० को बजेट ल्याउँदा शिक्षा क्षेत्रका लागि ४० लाख बजेट विनियोजन गरेको थियो ।
यसैगरी दोस्रो वर्ष ससर्त, सामाजिक सुरक्षा कार्यक्रम र बहुक्षेत्रीय पोषण कार्यक्रमको बजेटबाहेक कुल ३२ करोड ९८ लाख ९१ हजार २ सय २२ को बजेट ल्याउँदा शिक्षा क्षेत्रमा ७५ लाख विनियोजन गरेको थियो । कार्यकालको तेस्रो वर्ष नगरपालिकाले ३८ करोड ५४ लाख ५ हजार ३ सय २७ को बजेट ल्याउँदा शिक्षामा १ करोड ३० लाख विनियोजन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षका लागि ३५ करोड ७७ लाख ४१ हजार बजेट प्रस्ताव गरेको नगरपालिकाले शिक्षाका लागि १ करोड ३० लाख विनियोजन गरेको छ । नगरपालिकाले शिक्षा क्षेत्रका लागि हरेक वर्ष बजेट वृद्धि गर्दै गएको नगर शिक्षा अधिकारी पराजुलीको भनाइ छ । चालू आर्थिक वर्षका लागिसमेत पर्याप्त बजेट विनियोजन गरेको नगरपालिकाको भनाइ छ ।
प्रस्तुति : महेश न्यौपाने

प्रतिक्रिया दिनुहोस्