मेगा बैंक १२औं वर्षमा प्रवेश

मेगा बैंक नेपाल ११ वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष भोजबहादुर शाहले आगामी ५ वर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको जानकारी दिए । राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन गर्ने, उत्पादनमूलक तथा रोजगारमूलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रित गर्ने उनले बताए ।
देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान सञ्चालन गर्न लागेको अध्यक्ष शाहको भनाइ छ । “युवा वर्ग र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वरोजगार बनाउन तथा वित्तीय पहुँच स्थापनाका लागि मेगा बैंकले विशेष भूमिका खेल्छ” उनले भने ।
मेगा बैंकको बितेको ११ वर्ष सिकाइ र उपलब्धिका वर्ष रहेको बताउँदै उनले यो बीचमा मेगा बैंकले वित्तीय बजारमा छुटै पहिचान र ब्राण्ड बनाउन सफल भएको उल्लेख गरे ।
मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले संस्थापक, सेयरधनीहरु, सञ्चालक समिति, ग्राहकहरु, नियामक निकाय, कर्मचारीवर्ग र सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११औं वार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताइन् ।
मेगा बैंकले वित्तीय बजारमा छोटो समयमै अलग्गै पहिचान र ब्राण्ड बनाउन सफल भएकोमा खुसी लागेको बताउँदै उनले बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनता रहेको बताइन् । आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको सीईओ खुञ्जेलीको भनाइ छ ।
सञ्चालनको ११ वर्षको छोटो अवधिको वित्तीय सूचकांकलाई केलाएर हेर्दा मेगा बैंकले व्यावसायिक उचाई हासिल गर्न सफल भएको छ भने आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यून गर्दै ग्राहकहरुलाई एकल अंकको ब्याजदरमा ऋण उपलब्ध गराउन सफल भएको छ । जसले गर्दा कोरोना महामारीको मारमा परेका कर्जा ग्राहकहरु र नयाँ व्यावसाय बिस्तार गर्ने तयारीमा रहेका ग्राहकहरुलाई मेगा बैंकले सस्तो ब्याजदरमै बिभिन्न किसिमका कर्जा उपलब्ध गराइरहेको छ ।
बितेको ११ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८औं वाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा छ । २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ ।
मेगा बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजारभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । छिट्टै नै बैंकका थप १४ वटा शाखाहरु सञ्चालनमा आँउने बताइएको छ ।