उद्यमशिलताप्रति युवा आकर्षण बढ्दो

- भारतमा इन्जिनियरिङ अध्ययन सकेर नेपाल फर्केका संगम सिंह अनलाइन सपिङ कम्पनी खोल्न चाहन्थे । तर, बजार अध्ययन गर्दै जाँदा अनलाइनमा सामान बेच्ने कम्पनीका एउटा साझा समस्या थाहा पाए, ग्राहकले अनलाइनमा अर्डर गरेको सामान उनीहरूको दैलोमा पुर्याउने र सामानको पैसा भुक्तानी लिने (क्यास अन डेलिभरी) सेवाको असहजता । त्यसपछि उनले ई–कमर्स कम्पनी खोल्ने योजना त्यागेर बजारमा अगाडि नै उपस्थिति जनाइसकेका कम्पनीहरूलाई उक्त क्यास–अन–डेलिभरी सेवा प्रदान गर्ने कम्पनी ‘नेप–एक्सप्रेस’को स्थापना गरे ।
- सन्तोष पाण्डे र उनका साथीले विदेशमा रहेका नेपालीले पठाएका उपहारहरू तिनका साथी र परिवारलाई पठाइदिने व्यवसाय सुरु गर्ने योजना बनाए । तर, व्यवसाय सुरु गर्नु अगाडि यसका विभिन्न पक्षबारे पढ्दै जाँदा थाहा पाए कि संसारमा ‘सरप्राइज उद्योग’को क्षेत्र पनि एकदम ठूलो भइसकेको रहेछ । यसको दायरा अझ फराकिलो हुँदै रहेछ । अनि उनीहरूले सुरुमा सोचेभन्दा भिन्न कम्पनी ‘अफरिङ ह्याप्पिनेस’ खोल्न पुगे ।
- दीपेश खेतान र उनका साथीहरू मिलेर भर्खरै एउटा ‘एड्माना’नामक डिजिटल एडभरटाइजिङ कम्पनी खोलेका छन् । जसले डिजिटल विज्ञापनदाता र प्रकाशकलाई जोड्ने काम गर्छ । यसमा विज्ञापनदाताले उक्त विज्ञापनबाट आएको परिणाम (व्यापार)अनुसारमात्रै पैसा भुक्तानी गर्न मिल्ने सुविधा छ ।
नेप–एक्सप्रेस, अफरिङ ह्याप्पिनेस, एड्माना र टुडेज टेलिग्रामलगायतका १०० भन्दा बढी नवउद्यमीहरूले यस साता ग्यालेक्सी पब्लिक स्कुलको परिसरमा आफूले उत्पादन गरेका सामान र प्रदान गर्ने सेवाहरूको प्रदर्शनी गरे । ‘जिबिजि बिजफेस्ट’ नाम दिइएको उक्त प्रदर्शनी आयोजना गरेको थियो– काठमाडौंका प्रविधि व्यवसायीहरूको समूह गुगल बिजनेस ग्रुपले । जसमा मुख्य सहकार्य थियो– ‘खल्ती डिजिटल वालेट’को ।
भारतमा सिए अध्ययन सकेर भर्खरैमात्र नेपाल फर्केकी वर्षा दुलाल उक्त प्रदर्शनीमा नेपाली युवाहरूले के–कस्ता स्टार्टअप गर्दैछन् र आफ्ना उत्पादन तथा सेवामार्फत् समाजका केकस्ता समस्या समाधान गर्दैछन् भन्ने जान्न उत्सुक थिइन् । सहभागी नवउद्यमीका स्टलहरू घुमिसकेपछि उनी नेपाली युवा उद्यमीको काम देखेर उत्साहित भइन् ।
काठमाडौंमा ११ कक्षामा अध्ययन गर्दै गरेका राहुल यादव पनि उत्साहका साथ मेला अवलोकन गरिरहेका भेटिए । उनले स्टार्टअपहरूका स्टल घुम्नुका साथै उक्त मेलाको अवसरमा आयोजित विभिन्न प्रविधि विशेषज्ञहरूले प्रस्तुत गर्ने कार्यशाला कक्षामा उपस्थित भएर ‘गुगल’का विभिन्न प्रविधि र टुलहरू पनि सिके । यसबाट उनी निकट भविष्यमा स्टार्टअप कम्पनी खोल्ने सोच पलाएको बताउँछन् ।
वर्षा र राहुलजस्ता पाँच हजारभन्दा बढी स्टार्टअपहरूमा रुची भएका युवाहरूले मेला अवलोकन गर्नुका साथै स्टार्टअप संस्थापकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरे । उक्त मेलाले नेपालमा स्थापना भएका सबै प्रकारका स्टार्टअपहरूलाई एउटै ठाउँमा ल्याउने जमर्को गरेको थियो । मोबाइल गेम बनाउने कम्पनीहरू, एनिमेसन, डिजिटल मार्केटिङ, अनलाइन सपिङ, अनलाइन शिक्षा प्रदान गर्ने, अनलाइन स्वास्थ्य सेवा प्रदान गर्ने, नेपाली ब्रान्डका लुगा उत्पादन गर्नेदेखि आधुनिक कृषिमा संलग्न कम्पनीहरू उक्त मेलामा सहभागी थिए । मेलाले विद्यार्थी र भविष्यमा आफ्नै स्टार्टअप गर्ने सोच बनाएका युवाहरूलाई स्टार्टअप सुरु गरिसकेकाहरूसँग अन्तरक्रिया गर्ने र उनीहरूबाट सिक्ने अवसर प्रदान गरेको आयोजक गुगल बिजनेस ग्रुपले जनाएको छ ।
उल्लेखनीय संख्यामा स्टार्टअपहरू तथा स्टार्टअप गर्न इच्छुक युवाको उपस्थिति देखेर उत्साहित मेलाका संयोजक तथा गुगल बिजनेस ग्रुप काठमाडौंका प्रबन्धक अमित अग्रवालले भने, “नेपालमा स्टार्टअप गर्ने ट्रेन्ड भर्खरै मात्र सुरु भएको छ । समाजमा विद्यमान विभिन्न चुनौतीमै अवसर देखेर तिनै समस्या समाधान गर्न स्थापना भएका स्टार्टअप यत्रतत्र देख्न सक्छौँ । यद्यपि, धेरै जनालाई स्टार्टअप भनेको के हो र के–कस्ता स्टार्टअप कम्पनीहरू नेपाली बजारमा आएका छन् र तिनीहरूले के–के काम गर्छन् भन्ने धेरैलाई थाहा छैन । अनि, स्टार्टअपहरूसँग महँगो प्रदर्शनी हलमा गएर आफ्ना सेवाको प्रचार गर्ने क्षमता र स्रोतसाधन पनि हुँदैन । त्यसैले गुगल बिजनेस ग्रुपले नेपाली स्टार्टअपका यिनै समस्याहरूको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरूका सम्भावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्ने हेतुले यो प्रदर्शनी आयोजना गरेको हो ।”
कार्यक्रममा विशेषज्ञहरूले गुगलका विभिन्न नयाँनयाँ प्रविधिसम्बन्धी प्रस्तुति पनि दिएका थिए । जुन स्टार्टअपहरूको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्वपूर्ण हुने सहभागीहरूले बताए ।