नर्भिकले ६ अर्ब लगानी मा दुहबी र भैरहवामा अस्पताल बनाउने

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई बिस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ ।
पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ सञ्चालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम(परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार रणनीति सार्वजनिक गरेको हो । अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् ।
उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा बिस्तार गर्ने योजनाको बिषयमा जानकारी दिइन् । सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ बिस्तार गरिने उनले बताइन् । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई बिस्तार गरिनेछ । सेवा बिस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण हुनेछ । थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैयाको भव्य अस्पतालबाट सेवा सञ्चालन गर्नेछ ।
यस्तै, आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शैया तथा सुनसरीको दुहबीमा पनि १०० शैयाको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने घोषणा गरेको छ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ । यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिससमेत बन्ने कार्ययोजनामा उल्लेख छ ।
पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा बिस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन् ।