विपद् पूर्वतयारी प्रभावकारी बनाउन राज्य समितिको निर्देशन

राज्य व्यवस्थापन तथा सुशासन समितिले विपद् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारले आवश्यक समन्वय, साझेदारी र सहकार्यमार्फत् अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले विपद्को पूर्वानुमान, पूर्वतयारी, प्रविधि, शिक्षा, उपकरण, स्रोत र नियमित सक्रियताका साथ प्रभावकारी ढंगले अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति शशी श्रेष्ठले बताइन् ।
विपद् जोखिम न्यूनीकरण गर्न आवश्यक व्यवस्था एवं पहल गर्न तीनै तहका सरकारहरुसँग समन्वय, साझेदारी र सहकार्य गर्न आवश्यक रहेको सभापति श्रेष्ठले बताइन् । साथै उनले विपद् व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकतामा राखेर विपद् एवं जोखिमका सूचनाको पूर्वानुमान गर्नसक्ने यथार्थ तथ्यांक, सूचना, एवं जानकारी पारदर्शी रूपमा सबै नागरिकले जुनसुकै बेला जहाँ र जहिले पनि प्राप्त गर्न सक्ने गरी आवश्यक प्रबन्ध गर्न गृह मन्त्रालयलाई समितिले निर्देनशन दिएको छ ।
समितिले विपद् व्यवस्थापनको कार्यक्रम सञ्चालन गर्दा सरकारी एवं गैरसरकारी पक्षलगायत नागरिकबीचको सहकार्य साझेदारी कायम गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भूमिकालाई साधन स्रोत, प्रविधिक एवं जनशक्तिको प्रबन्धसहित सशक्त र प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएको पनि बताइन् । त्यस्तै बैठकले नेपाल सरकारबाट घोषणा गरिएका मनाङ र सिन्धुपाल्चोक जिल्लाका विपद् ग्रस्त क्षेत्रलाई विपद् व्यवस्थापनको नमुना क्षेत्रको रूपमा विकास गर्न पनि निर्देशन दिएको छ ।
अहिलेको विपद्बाट क्षतिग्रस्त भएको मनाङ र सिन्धुपाल्चोक र दार्चुलालगायत अन्य जिल्ला तथा क्षेत्रमा अवरुद्ध भएका स्थानीय पूर्वाधार शीघ्र मर्मत तथा सुचारु गरी सम्बद्ध निकायबीच समन्वय गर्दै राहत र उद्धार क्षतिपूर्ति गर्ने र (एकीकृत बस्ती) सुरक्षित स्थानमा बस्ती स्थानान्तरणलाई उच्च प्राथमिकता दिँदै उच्च तदरुकताका साथ विपद् जोखिम न्यूनीकरणको कार्यलाई अघि बढाउने र समितिले यसअघि दिएका निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्न निर्देशन दिएको पनि सभापति श्रेष्ठले बताइन् ।