विस्थापित पहिरो पीडित जोखिम क्षेत्रमा फर्किन बाध्य «

विस्थापित पहिरो पीडित जोखिम क्षेत्रमा फर्किन बाध्य


जिल्ला प्रशासन कार्यालय गुल्मीले विस्थापितको नाम दिएकाहरू पहिरोको जोखिम क्षेत्रमा फर्कन बाध्य भएका छन् ।
जिल्लाको इस्मा गाउँपालिका–१ र मुसिकोट नगरपालिका–२ का २५० घरलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले विस्थापित भनेकोमा अहिले उनीहरू पुरानै जोखिम क्षेत्रमा फर्किन बाध्य भएको पहिरोमा ८ वर्षीय छोरी गुमाएका स्थानीय रामबहादुर खत्रीले बताए । “हामी पहिरो पीडितलाई स्थानीय सरकारले केही ध्यान दिएन,” पीडित खत्रीले भने, “राज्यले नहेरेपछि हामी फेरि जोखिम क्षेत्रमा फर्किन बाध्य भएका छौँ ।”
इस्मा गाउँपालिका–१ मल्दी सबैभन्दा बढी प्रभावित क्षेत्र हो । स्थानीयहरू अहिले उक्त जोखिम क्षेत्रमा पहिरोको डरैडरमा बसिरहेका छन् । राज्यको तदारुकता कम हुनाले जिल्ला प्रशासन कार्यालयले विस्थापित भनेकाहरू सबै पुरानै जोखिम क्षेत्रमा फर्किन परेको स्थानीय पहिरोपीडित विशाल कुँवरले गुनासो गरे । यी केही सामान्य उदाहरण हुन् । मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाका २ सय घरपरिवार अपवादबाहेक सबै ज्यानलाई जोखिममा राखेर पहिरो प्रभावित क्षेत्रमा फर्किएका छन् । तिनै तहका सरकारसहित जिल्ला प्रशासन कार्यालय गुल्मीले समेत त्यस पहिरो प्रभावित क्षेत्रका घरपरिवारलाई विस्थापित भन्ने तर स्थापित नगर्नाले राज्य संयन्त्रमाथि नै प्रश्न खडा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले गत वर्षको असार १८ गते राती अविरल वर्षाका कारण गएको पहिरोले इस्मा गाउँपालिकाको वडा नम्बर १ र मुसिकोट नगरपालिकाको २ मा मानवीय क्षतिसँगै २५० घर विस्थापित भएको, दुई विद्यालय, एक स्वास्थ्यचौकी, ८८२ रोपनी जग्गामा लगाइएको बालीनाली नष्ट, ७० सिँचाइ कुला, ६५ खानेपानी मुहान र करिब ३९० पशुपंक्षीको क्षति भएको बताएको थियो । क्षति पुगेका सिँचाइ कुला र खानेपानी मुहान लाखौं रकम खर्च गरेर पीडितले नै बनाएका छन् । फेरि पनि पहिरो जानसक्ने भन्दै स्थानीय त्रसित छन् । यसमा स्थानीय सरकार उदासीन बनेको छ । फेरि पनि आफूहरू पहिरोको सिकार हुनसक्ने भन्दै अन्यत्र जाने ठाउँसमेत नरहेको पहिरो पीडितले गुनासो गर्दै आएका छन् ।
तर, इस्मा गाउँपालिका–१ का वडाध्यक्ष चूराबहादुर खत्रीले आफू निरन्तर पीडितको पक्षमा रहेको बताए । वडाले गाउँपालिकासँग समन्वय गरी प्रदेश र केन्द्र तहका सरकारसँग माग गरी सहयोग भइरहेको प्रतिक्रिया दिए । पहिरो प्रभावित क्षेत्रमा जोखिम कम भएमा त्यहाँ बस्ने र अन्यत्र बस्नेका लागि घर तयार भएको र हुने वडाध्यक्ष खत्रीले जानकारी दिए ।
इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले विस्थापित भनिएकारूरु अन्यत्र बसाइँ सर्न नमानेको बताए । “हामीले विस्थापितका लागि गाउँपालिकाका विभिन्न ठाउँमा १० वटा घर बनाएका छौँ,” अध्यक्ष विष्टले भने, “बाँकी विस्थापितको फाइल प्रदेशमा पठाएका छौँ, त्यसलाई प्राधिकरणले हेरेर सहयोग गर्छ ।” स्थानीय सरकार हुँदै प्रदेश सरकारले पनि सहयोग गरेको र गर्ने बताउँदै गाउँपालिकाका अध्यक्ष विष्टले क्षति हुन घण्टा पनि नलाग्ने तर त्यसलाई व्यवस्थापन गर्न लामो समय लाग्ने बताए । खानेपानीका मुहान र सिचाइँका कुला मर्मत तथा व्यवस्थापन गर्न गाउँपालिका निरन्तर लाग्ने पनि उनले स्पष्ट पारे ।
गाउँपालिकाले १० वटा घर निर्माण गरेको विषयमा आफू जानकार हँुदै पहिरो पीडितहरूले अव्यवस्थित तरिकाले अपायक पर्ने गरी गाउँपालिकालाई जहाँ मन लाग्छ त्यहीँ घर बनाएको गुनासो गरेका छन् । गाउँपालिकाले वडा नम्बर १ का विस्थापित पीडितका लागि गाउँपालिकाको वडा नम्बर ४ र वडा नम्बर २ लगायतका विभिन्न स्थानमा घरहरू निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्