प्रभावकारी बन्दै टोल शिक्षा «

प्रभावकारी बन्दै टोल शिक्षा


कोरोनाको दोस्रो लहरसँगै लामो समयदेखि अवरुद्ध रहेको पठनपाठनलाई निरन्तरता दिने भन्दै रोल्पाको एक सामुदायिक विद्यालयले सुरु गरेको टोल शिक्षा प्रभावकारी देखिन थालेको छ । वैकल्पिक शिक्षाको रुपमा रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमुना माविले सुुरु गरेको टोल शिक्षामा विद्यार्थीको उपस्थिति, अभिभावकको क्रियाशीलताका र अन्य विद्यालयले गरेको अनुसरणले सो शिक्षा प्रभावकारी देखिएको हो ।
कोरोनाको दोस्रो लहरसँगै बन्द भएको विद्यालय खुल्ने सुनिश्चित नहुँदा अभिभावकको माग वमोजिम टोल–टोलमा पठन–पाठन सुरु गरिएको विद्यालयको प्रधानाध्यापक मधुसूदन पोख्रेलले जानकारी दिए । विद्यालय बन्द रहे पनि पढाइ बन्द नहोस् भनेर यो विधिबाट पठनपाठनलाई निरन्तरता दिएका छांै प्रधानाध्यपक पोख्रेलले भने । कक्षा नर्सरीदेखि कक्षा ३ सम्म टोल शिक्षा सुरु गरेको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरूमा पढ्ने बानी घट्दै गएको भन्दै अभिभावकले पटक–पटक वैकल्पिक विधिवाट पठन–पाठन गर्न गरेको आग्रहबमोजिम तल्ला कक्षाहरूमा टोल शिक्षा सुरु गरेका हौ विद्यालय व्यवस्थापन समितिका सदस्य जीतवहादुर डाँगीले भने । टोल शिक्षामा बढीमा २५ जना विद्यार्थीलाई एउटा कक्षामा राख्ने गरिन्छ सदस्य डाँगीले भने । टोल शिक्षा सुरु गर्नु पूर्वविद्यालयले स्वास्थ्य मापदण्डको वारे अभिभावकहरूलाई अभिमुखीकरण गरेको थियो । कोरोना संक्रमण प्रति उच्च सजग रहँदै टोल शिक्षा सुरु गरिएको विद्यालयले जनाएको छ ।
चालू शैक्षिक सत्रमा कक्षा नर्सरी देखी कक्षा ३ सम्म भर्ना भएका ४ सय २३ मध्ये ३ सय ५८ विद्यार्थी टोल शिक्षामा समावेश भएका छन् विद्यालयका शिक्षक टेकनाथ आचार्यले भने । टोल शिक्षामा सहभागी हुनेहरूको संख्या दिनानुदिन बढ्दै गएकाले भर्ना भएका तर टोल शिक्षामा नआएका विद्यार्थीलाई पनि यथाशीघ्र सहभागी गराउने पहल भइरहेको छ शिक्षक आचार्यले भने । लामो समय विद्यालय बन्द भएका कारण उनीहरू सदरमुकाम छोडेर घर गएका हुन सक्छन् आचार्यले भने । रेडियोवाट सूचना जारी गरेर तथा अन्य विकल्प खोजेर निकट भविष्यमा नै छुटेका सवैलाई टोलशिक्षामा सहभागी गराउने पहल गरिरहेका छौ आचार्यले भने ।
विद्यालयले थालनी गरेको टोल शिक्षाले विद्यार्थीहरू पढाई प्रति आशावादी देखिएको अभिभावकहरूको भनाइ छ । लामो समय विद्यालय बन्द रहँदा मोबाइल र टिभीमा झुमिने केटाकेटी टोल–टोलमा गएर पढ्न पाएकोमा आफुहरू खुसी भएको अभिभावक खटक वहादुर खत्रीले भने । विद्यार्थीमा पढ्ने लेख्ने बानी विर्सदै गएको देख्दा दुःख लागेको थियो टोल शिक्षाले उनीहरूलाई व्यस्त वनाएको छ खत्रीले भने ।
सो विद्यालयले गरेको राम्रो अभ्यास जिल्लाका अन्य विद्यालयले पनि अनुशरण गर्न थालेका छन । बालकल्याण माविले सुरु गरेको टोल शिक्षालाई आफूहरूले पनि अनुसरण गरेको सरस्वती आधारभूत विद्यालय रोल्पा नगरपालिका २ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगवहादुर वलीले जानकारी दिए । जिल्लाका अन्य सामुदायिक र संस्थागत विद्यालयहरूले पनि टोल शिक्षा संचालन गर्ने तयारी गरिरहेको वताइएको छ ।
जुम कक्षामा बढ्दै विद्यार्थी आकर्षण
रोल्पा । विद्यालयले कक्षा ४ देखि १२ सम्म सुरु गरेको जुम कक्षामा समेत विद्यार्थीको आकर्षण देखिन थालेको छ । अघिल्ला वर्षहरूमा निकै कम मात्रै विद्यार्थीको सहभागिता रहने जुम कक्षामा यस वर्ष आकर्षण देखिन थालेको छ सो विद्यालयका विज्ञान शिक्षक लेखमणी खड्काले भने । जुम कक्षा सुरु गरेको केही दिनमै विद्यार्थीको यस्तो आकर्षण देखिएकाले क्रमशः सवै विद्यार्थी जुमको पहँुचमा आउने आशा गरेका छौं खड्काले भने । मैले पढाउने कक्षा १० को विज्ञान विषयमा ८७ जना सहभागि भएका छन शिक्षक खड्काले भने । जुममार्फत संचालन गरेको पठनपाठनमा तल्ला कक्षाको तुलनामा माथिल्ला कक्षामा विद्यार्थीको उपस्थिति बढी देखिएको खड्काको भनाइ छ ।
सदरमुकाम आसपासमा वस्नेहरूलाई नेटको सुविधा रहे पनि ग्रामीण क्षेत्रमा यसको पहुँच नहुँदा सवै विद्यार्थीलाई समावेश गर्न कठिनाई परिरहेको विद्यालयको भनाई छ । वैकल्पिक विधिवाट पढाई सुरु भएको जानकारी सामाजिक संजाल र एफएम रेडियोहरूवाट दिइरहेका लाग निकट भविष्यमै यो संख्या पनि वृद्धि हुने अपेक्षा गरेका छांै प्रधानाध्यपक मधुसुदन पोख्रेलले भने । जुम कक्षाले शिक्षक र विद्यार्थीलाई प्रविधिमा अद्यावधिक गर्न सहयोग गरेको छ पोख्रेलले भने । भौगोलिक विकटताका कारण यसको प्रयोगमा केही समस्या देखिए पनि शिक्षक विद्यार्थीले आधुनिक प्रविधिको सीप हासिल गरिरहेका छन पोख्रेलले भने ।
टोल शिक्षा र जुम कक्षाको पहुँचमा नआएका विद्यार्थीहरूलाई विद्यालयको नियमति पठन–पाठन सुरु भएसंगै छुटेका पाठहरू दोहो¥याउने व्यवस्था गर्छौं प्रधानाध्यपक पोख्रेलले भने । भौतिक उपस्थितिमा पठन पाठन गर्दा नानीवावुको पढाईमा समय दिन नसकेका अभिभावकले जुम कक्षामा भने समय दिएको देखिन्छ पोख्रेलले भने । जुम कक्षामा शिक्षकले पढाए नपढाएको तथा विद्यार्थीले पढे नपढेको सहजै अनुगमन भइरहेको देखिन्छ प्रधानाध्यपक पोख्रेलले भने ।
विद्यालयले अघिल्लो वर्षसमेत वैकल्पिक कक्षा सुरु गरेको थियो । टोल शिक्षा, जुम कक्षा र रेडियो शिक्षा गरि तीनवटा वैकल्पिक कक्षा सञ्चालन गरे पनि रेडियो कक्षाको प्रभावकारीता मापनको मापदण्ड नभएकाले यस वर्ष रेडियो कक्षा संचालन नगरेको विद्यालयले जनाएको छ ।
जिल्लाको पहिलो नमुना माविका रूपमा रहेको सो विद्यालयमा २ हजार ६ सय वढी विद्यार्थीले अध्ययन गर्छन् । विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य,मानविकि र शिक्षाशास्त्रमा पठन पाठन गर्ने गर्दछ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद अन्तरगत सिभिल इन्जिनियरिङ विषयमा प्री डिप्लोमा र डिप्लोमा तहका कक्षा समेत सञ्चालन हँुदै आएका छन् ।

महेश न्यौपाने

प्रतिक्रिया दिनुहोस्