कर्णजित बुढाथोकीको पार्टीको नाम अब नेकपा (माओवादी केन्द्र समाजवादी) «

कर्णजित बुढाथोकीको पार्टीको नाम अब नेकपा (माओवादी केन्द्र समाजवादी)

कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी नाम परिवर्तन भएर नेकपा (माओवादी केन्द्र समाजवादी) बनेको छ । पार्टीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको नेकपा (माओवादी केन्द्र समाजवादी) को केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको जनाईएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र समाजवादी) ले २०७८ श्रावण ४, ५ र ६ गते बसेको बैठकले पार्टीको केन्द्रीय समितिको बैठकले नाम परिवर्तन तथा आन्दोलनका आगामी कार्यक्रम घोषणा गरेकोबारे जानकारी दिईएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजित बुढाथोकीले वस्तुगत अवस्थाका कारण पार्टीको नाम परिवर्तन गर्नुपरेको स्पष्ट पारे । उनले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै भने, ‘पार्टीको बैठकले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने निर्णय गरेकोे छ ।’ अध्यक्ष बुढाथोकीले पार्टीको ९औं महाधिबेशन आगामी फागुन १ देखि ३ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

उनले २ तिहाइ प्राप्त कम्युनिष्ट सरकार प्रचण्ड, केपी ओली र माधव नेपालको अदूरदर्शीता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीहरुको हातमा पुगेको टिप्पणी गरे । बुढाथोकीले ‘वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौं’ भन्ने नाराका साथ साउन २५ गते ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान उद्घाटन गर्ने निर्णय भएको जानकारी दिए । माओवादी पार्टी र शक्तिसंँग कार्यगत एकता, रणनैतिक मोर्चा र पार्टी एकतासम्म पु¥याउने बैठकले निर्णय गरेको सुनाए ।

नेपालको संसदीय व्यवस्थाले प्रतिगमनको दिशातिर यात्रा गरेको उनको भनाइ थियो । सीमा अतिक्रमण, शिक्षा र स्वास्थ्य रोजगारको आधारभूत समस्या विकराल बन्दै गएको उनको तर्क थियो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविका महत्वपूर्ण सवालहरुमा जनसंर्घषका कार्यक्रम सञ्चालन गर्ने पनि उनले जानकारी दिए । उनले कोभिड–१९ को महामारी, प्राकृतिक बिपत्तीको समयमा जनसेवा, राहत वितरण, स्वास्थ्य शिबिर, रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेकामा भावी दिनमा पनि यी कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्षहरु रंगनाथ ढकाल, बिनोद उपाध्याय, महासचिव नरेश शाही, सचिव अरुण घिसिङ, मेख बहादुर खत्री, श्रृजन विक, प्रदेश ५ का संयोजक धु्रव सत्याल, प्रदेश २ का अध्यक्ष बृद्धि विलासलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्