सिँचाइ योजनाको धमाधम सम्झौता «

सिँचाइ योजनाको धमाधम सम्झौता

पर्वत-जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण हुन लागेका सिँचाइ योजनाहरू धमाधम सम्झौता हुन थालेका छन् ।
गण्डकी प्रदेशअन्तर्गत स्थापना भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतद्वारा चालू आवका लागि तोकिएका योजना धमाधम सम्झौता भई कामसमेत सुरु हुन लागेका हुन् । प्रदेश सरकारअन्तर्गत सिँचाइका ९ वटा योजनामध्ये पाँचवटा सम्झौता भइसकेका छन् भने तीनवटाको सर्भेक्षण सम्पन्न भई लागत अनुमान तयारीमा रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै एउटा योजनाको सर्भेक्षण सुरु गरिएको छ । प्रदेश सरकार अन्तर्गतकै नदी नियन्त्रणतर्फ ७ वटा योजना रहेकोमा चारवटा सम्झौता भइसकेका छन् । दुई वटाको लागत अनुमान तयार हुँदै गरेको र एउटा योजनाको सर्भेक्षण सुरु गरिएको कार्यालय प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार एसियाली विकास बैंकको सहयोगमा सञ्चालित जिल्लाको सबैभन्दा ठूलो सिँचाइ योजनाको निर्माणकार्य तीव्र रूपमा भइरहेको छ । पर्वतको फलेवास नगरपालिकामा रहेको उक्त योजनाका चालू आवको चैत मसान्तसम्म सम्पन्न हुनेछ । त्यसैगरी संघीय सरकारको बजेटअन्तर्गत भोर्लेडाँडा सिँचाइ आयोजना फलेवास–१० कुर्घा र कर्नास–माझकुलो सिँचाइ योजना फलेवास–११ पाङराङको काम पनि अन्तिम चरणमा पुगेको छ । केही महिनामै काम सम्पन्न हुने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।
त्यसैगरी चिर्दिखोला घट्टेकुलो सिँचाइ आयोजनाको पनि टेन्डर आह्वान भइरहेको छ । कुल २ करोड ९८ लाख ९६ हजार रुपैयाँको लागतमा निर्माण हुने उक्त आयोजनाबाट ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ हुने भएको छ । झण्डै तीन किमि नहर निर्माण गर्नुपर्ने उक्त आयोजनामा २ सय २० जना कृषक प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
उता उत्तरी पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङमा पनि बास्कोट खोला ओडारे सिँचाइ आयोजना निर्माण हुने भएको छ । उक्त आयोजनाका लागि पनि टेण्डर आह्वान भइसकेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त आयोजनाबाट ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने भएको छ । कुल २ करोड ३० लाख ४६ हजार रुपैयाँ योजनाको लागत रहेकोमा १ करोड ४९ लाख ७२ हजार ३ सय ८७ रुपैयाँ ठेक्का रकम रहेको पनि कार्यालयले जनाएको छ । यो आयोजनाबाट एक सय ३६ परिवारका ८ सयभन्दा बढी बासिन्दा लाभान्वित हुनेछन् ।
पर्वतमा झण्डै सात हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । चालू आवमा सञ्चालित योजना पूरा भएपछि करिब २ सय हेक्टर थप जमिनमा सिँचाइ सुविधा पुग्ने कार्यालयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्