सामूहिक दुना टपरी उत्पादन गर्दै महिला «

सामूहिक दुना टपरी उत्पादन गर्दै महिला

सिन्धुली-सिन्धुलीको दुधौली नगरपालिका–११ का महिलाले सामूहिक दुना टपरी उद्योग सुरु गरेका छन् । गाउँका २० जना महिलाले सामूहिकरूपमा उद्योग सञ्चालन गरेका हुन् ।
जंगलमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै ती महिला आत्मनिर्भर बनिरहेका छन् । दैनिक एकजना बराबर ५० देखि ५ सय वटा दुना टपरी उत्पादन भइरहेको उनीहरूले बताएका छन् ।
गाउँमा महिलाकै नेतृत्वमा खुसियाली कृषि तथा उद्यमशील सहकारी संस्था गठन गरी दुना टपरी बनाउन इच्छुकलाई तालिम प्रदान गरी उद्योग सञ्चालनमा ल्याइएको दुना टपरी समूहका अध्यक्ष लक्ष्मी कार्कीले बताइन् । हामीलाई सहकार्य नेपालद्वारा सञ्चालित महिला रोजगारीका लागि दिगो वित्तीय पहुच परियोजनाले गाउँमै ७ दिने दुना टपरी बनाउने तालिम दिएको थियो । उनले भनिन्, “तालिम सकिए लगत्तै हामीले उद्योग सञ्चालन गरेका हौं ।” दुना टपरी उत्पादनका लागि तालिम दिने सहयोगी संस्थाले नै उनीहरूलाई मेसिन उपलब्ध गराएको छ ।
२० जना महिला उद्यमी उद्योगमा आलोपालो गर्दै काम गर्ने गरेका छन् । उद्योगमा यति समयसम्म काम गर्नैपर्छ भन्ने अनिवार्य छैन । अध्यक्ष कार्की भन्छिन्, “घरको काम भ्याएर उद्योगमा काम गछौँ । घरायसी काम गरेर बचेको समयको सदुपयोग भइरहेको छ ।” उनले भनिन्, “वनमा त्यसै खेर गइरहेका सालका पातको पनि सदुपयोग भएको छ, हामीले पनि दुई चार पैसा आम्दानी गरिरहेका छौँ ।”
पहिले दुई चार पैसाका लागि पनि अरुसँग हात फैलाउनु पथ्र्याै । उनले भनिन्, “अहिले त आफ्नै इच्छाअनुसार लाउन खान पाएकी छु ।” गाउँमै दुना टपरी उद्योग सञ्चालन भएपछि अन्य महिला पनि स्वरोजगार बनेका छन् । “पहिले सिन्दूर पोते किन्न पनि श्रीमान्सँग हात थाप्ने महिला आफै सक्षम बन्नुभएको छ ।”
उद्योग सञ्चालमा आएको एक महिनाको अवधिमा नै ५ हजारभन्दा बढी दुना टपरी उत्पादन गरेको अध्यक्ष कार्कीले जानकारी दिइन् । उनका अनुसार उद्योगमा थाल, प्लेट र कचौरा गरी तीन साइजका दुना टपरी उत्पादन हुन्छ । थाल प्रतिथान अढाइ रुपैयाँ, प्लेट ढेड रुपैयाँ र कचौरा एक रुपैयाँमा बिक्री हुने गरेको उनले बताइन् ।
दुना पटरीका लागि उद्योमीहरू आफंैले पात टिपेर ल्याउने गरेका छन् भने गाउँका अन्य महिलाबाट पनि किन्ने गरेको छ । दुना टपरी समूहकी अध्यक्ष कार्कीले भनिन्, “एक रुपैयाँले गाउँमा लाफा किन्छौँ, लाफा टिपेर दिदी बहिनीहरूले नुन, भुटुन जोहो गर्न थाल्नु भएको छ ।” पहिले–पहिले घरधन्दामै दिन बिताउने यहाँका महिला अहिले त घरधन्दा सकेर पनि उद्योगमा काम गर्न भ्याउँछन् । सुरुमा त कसरी समय मिलाउने होला भन्ने लागेको थियो । तर गर्दै जाँदा आफंै मिल्ने कुरा पो रैछ, उनले भनिन् ।
उत्पादित दुना टपरी सिन्धुली सदरमुकाम, महोत्तरी, सर्लाही, उदयपुरलगायतका ठाँउमा बिक्री हुने गरेको उनले बताइन । उनी भन्छिन्, “दुना टपरीको माग धेरै छ, अझैं हामीले पु¥याउन सकेका छैनौं ।” उत्पादन वृद्धि गर्नका लागि समूहमा सदस्य संख्या थप्नतर्फ लागिपरिरहेको भन्दै एकजना सदस्य बराबर ५ जना सदस्य ल्याउन अनिवार्य गरेको समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्