वैदेशिक रोजगार त्यागेर टेम्पो व्यवसाय «

वैदेशिक रोजगार त्यागेर टेम्पो व्यवसाय

भोजपुर-भोजपुरको पूर्व गाउँपालिकाका देवी गौतम विदेश त्यागेर टेम्पो व्यवसायमा लागेका छन् । अरुण गाउँपालिका–५ प्याउलीबजार जरायोटार घर भएका देवी गौतमले विदेश जान छाडेर करिब अढाइ महिनाअघि पाँच लाख ऋणपानले किनेको टेम्पो चलाउन थालेसँगै आजभोलि उनको दैनिकी राम्रोसँग बितेको छ ।
रोजगारका लागि विदेशमा रहेका गौतमले स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने मनासयले टेम्पो खरिद गरी ग्रामीण भेगका मानिसलाई सेवा दिनुका साथै उनले राम्रो आम्दानीसमेत गरेका छन् । वैदेशिक रोजगारबाट गाउँ फर्केपछि दिनभर गाउँमा त्यसै लर्खरिएर समय व्यतीत गर्ने उनको जीवनमा अहिले एकाएक परिवर्तन आएको छ । “पहिले काम पनि हुन्थेन, साथीभाइसँग लर्खरियो, बस्यो दिन बितिहाल्थ्यो । तर यो पेशा अंगालेपछि दैनिक जीवनमै परिवर्तन आएको छ,” उनले भने, “घरकै खाना खाएर काम गर्न सकिने यो सजिलो पेसाले यहाँका मानिसलाई सहज सेवा पनि पुगेको छ र आफूलाई पनि घरखर्च, बालबच्चाको पढाइखर्च धान्न सजिलो भएको छ ।” प्याउलीबजारसम्म मात्र सडकको राम्रो पहुँच पुगेकाले प्याउली आसपासका तिवारीभञ्ज्याङ, चम्पे, चरम्बी, याङपाङ, याकु, जरायोटारका मानिस टेम्पो चढ्न आउने गरेका छन् । टेम्पो चढ्नलाई विशेषगरी प्याउलीबजारमा शनिबार र बुधबारको दिन ग्रामीण भेगका मानिसको घुइँचो लाग्ने गर्छ । सडकको राम्रो पहुँच पुग्नसके टेम्पोले ग्रामीण भेगका मानिसलाई अझै बढी सेवा दिने स्थानीय चम्पेनिवासी बबिता राईले बताइन् ।
प्याउलीबजारदेखि धनकुटा सिमानामा पर्ने लेगुवाबजार, तिवारीभञ्ज्याङ, ओदाने, भोर्लाबोट, बजार आसपासमा यात्रुको चाप बढी छ । प्याउलीबजारमा जस्तै करिब पाँच महिनाअघिमात्र भोजपुर सदरमुकाममा पनि दुईवटा टेम्पोले सर्वसाधारणलाई सेवा दिइरहेको छ । विशेषगरी बजार वरपरबाट मानिस र सामान ओसारपसार गर्न भ्याइनभ्याइ भएको छ टेम्पो चालकलाई । अहिले टेम्पोले दैनिक रूपमा शनिबारे हटियालाइन, बजार क्षेत्र, पानीट्यांकी, देउराली, टक्सार, हस्पिटल, एयरपोर्ट लगायतका स्थानमा मात्र नभई सदरमुकाम आसपासमा रहेको सात किमि दूरीमा पर्ने बोखिम, भैंसीपंखासम्म यात्रु र सामान ओसारपसार गर्छन ।
आफ्नो लागि छोटो दूरीको यात्राको आनन्द र किराना पसलका सामान बजारदेखि ल्याउन टेम्पो एकमात्र सहज, सुरक्षित, सुलभ र रमाइलो साधन भएको भोजपुर नगरपालिका–५ बोखिमका व्यापारी हरि प्रधानले अनुभव सुनाए । उनले भने, “पसलका सामान कतिपय ठ्ला बसले बोक्न पनि मान्दैनन् बोके पनि बसको छतमा जथाभावी राखिने हुँदा सुरक्षित पनि हुँदैन । तर त्यहीँ बजारदेखि दुई सय पचास रुपैँया तिरेपछि आनन्द, सुरक्षित र रमाइलो तरिकाले घरै अगाडि ल्याइदिन्छ ।” प्रधानजस्ता बजार क्षेत्रमा बसोबास गर्ने मानिसको टेम्पोमा चढ्ने लर्काे भेटिन्छ ।
अर्जुन बस्नेत

प्रतिक्रिया दिनुहोस्