तरकारी बिक्री गरेर घडेरी «

तरकारी बिक्री गरेर घडेरी

पर्वत-पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवती तथा महिलाको संख्या पनि उल्लेख्य मात्रामा बढ्दै गएको छ । स्वदेशमै केही गर्न नसकेर वा नचाहेर विदेश पलायन हुने महिलाको संख्या बढ्दै गएको बेला यहाँकी एक महिलाले भने व्यावसायिक तरकारीखेती गरेर मनग्गे आम्दानी गर्न थालेकी छन् ।
पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित बुमिकी सीता सापकोटाले व्यावसायिक तरकारीखेती गरेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्न थालेकी हुन् । घर वरिपरि रहेको झण्डै एक रोपनी जग्गालाई उपयोग गरेर मौसमी तथा बेमौसमी तरकारीखेती गर्नुभएकी सापकोटाले तरकारीबाटै भएको कमाइले घडेरीसमेत किनिसकेकी छन् । उनले भरतपुर महानगरपालिकामा चार आनाको घडेरीसमेत किनेकी हुन् ।
घरायसी काम धन्दा सकेर वरिपरि रहेको जग्गामा गोलभेडा, काउली, आलु, बन्दागोपी, खुर्सानी, लौका, साग, घिरौलालगायत मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने गरेको उनले बताएकी छन् । सिँचाइको पर्याप्त सुविधा नभए पनि खानेपानीको धाराबाट बचत भएको र खेर गएको पानी संकलन गरेर तथा गाईवस्तुको गहुँत प्रयोग गरेर अर्गानिक तरकारी उत्पादन गर्ने गरेको सापकोटाले सुनाइन् ।
उनले दुईवटा प्लास्टिक घरमा गोलभेडाखेती गर्दै आएकी छन् भने बाँकी जग्गामा अन्य तरकारी लगाउने गरेको बताइन् । उनले भनिन्, “पहिले पहिले घरका लागि मात्रै तरकारी लगाउने गरिन्थ्यो, विगत एक दशकदेखि व्यावसायिक रूपमा लगाउन थालेकी हुँ, आफू निकै सफल भएको अनुभव भएको छ ।” सापकोटाका अनुसार उत्पादित तरकारी स्थानीय ठूलीपोखरी बजार, खौलालाकुरी बजार र सदरमुकाम कुश्मामा बिक्री हुने गरेको छ ।
अहिले त बाह्रैमास मोटरबाटो सुचारु हुन्छ, बिक्री गर्नका लागि कुनै समस्या छैन, ग्राहक पनि घरमै आउँछन् उनले भनिन् । पैसा कमाउनका लागि विदेशनै जानुपर्छ वा जागिर नै खानुपर्छ भन्ने रहेनछ सापकोटाले भनिन्, “सामान्य मेहनतले पनि प्रसस्त कमाइ हुँदोरहेछ ।” आफूलाई घरमा ताजा तरकारी खान पनि हुने, इष्टमित्र, परपाहुनालाई कोसेली दिन पनि हुने, कमाइ पनि हुने भन्दै सापकोटाले यही पेसामा रमाउने गरेको बताइन् ।
सापकोटाको तरकारी फार्ममा श्रीमान् हेमराज सापकोटाले पनि सघाउँदै आएका छन् । पेसाले राजनीतिमा सक्रिय हेमराजले फुर्सदको समयमा खेतबारीमा श्रीमतीलाई सघाउने गरेको बताए । उनी राजनीतिसँगै पण्डितको काम पनि गर्छन् ।
सापकोटाले तरकारीबाटै भएको कमाइबाट घडेरी किन्ने, मासिक रूपमा बचत गर्नुुका साथै आफ्ना दुईवटा छोरालाई उच्च शिक्षासमेत पढाएकी छन् । राजधानीको शंकरदेव क्याम्पसमा उच्च शिक्षाका लागि छोराहरूलाई खर्चसमेत यही तरकारीबाट पुगेको उनले बताए । आफू लामो समयदेखि व्यावसायिक रूपमा तरकारी कृषकको रूमा रहेको भए पनि कुनै निकायबाट अहिलेसम्म केही पनि सहयोग नपाएको उनको गुनासो छ । उनले स्थानीय तह वा प्रदेशबाट अझै उन्नत जातका बीउ तथा अन्य प्राविधिक सहयोग पाएमा अझै पनि आम्दानी गर्न सकिने उनको भनाइ छ ।
प्रसस्त धन कमाउने रहर बोकेर विदेश जानेलाई उनको सुझाव छ कि खाडी मुलुकमा जोखिम मोलेर धेरै आम्दानी गर्नुभन्दा, गाउँमै नंग्रा खियाउन बेस हुँदोरहेछ । उनले बढ्दै गएको बाँझो जग्गामा व्यावसायिक रूपमा खेती गर्न महिलालाई आग्रहसमेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्