फोहोरमैला व्यवस्थापन : सधैंको समस्या «

फोहोरमैला व्यवस्थापन : सधैंको समस्या

काठमाडौंलगायत विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द हुँदा वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याका रूपमा खडा भएको छ । साँच्चै भन्नुपर्दा ६ वटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकाका सहरहरूमा फोहोरमैला व्यवस्थापन भोग्नेलाई भोगिनसक्नु, बुझ्नेलाई बुझिनसक्नु छ । बेलाबखत विभिन्न प्रकारका निहुँ तथा कारणले गर्दा सहरहरूको फोहोरमैला उठ्न नसकी सहर दुर्गन्धित बन्दै आइरहेको छ । सो कारणबाट काठमाडौं उपत्यकालगायत अन्य सहरी क्षेत्र दूषित भई सहरभरि सडक, गल्ली र चोकमा थुप्रिएको फोहोरमैला नउठी, उच्च तापक्रम र अविरल वर्षाको समयमा सहरी क्षेत्रमा दुर्गन्धित भई जनस्वास्थ्यमा प्रतिकूल असर परी हजारौं व्यक्ति झाडापखाला, विषमज्वरो, हैजा, उच्च रक्तचाप आदिबाट ग्रसित भई अस्पताल भर्ना हुने अवस्था बेलामौकामा सिर्जना भएको नौलो होइन ।
प्रकृतिले सिर्जना गरेको हावा, पानी, पहाड, नदीनाला, वनजंगल आदि सहरीकरणको तीव्र चापले गर्दा ह्रास भएको छ, जसको फलस्वरूप आदिमकालदेखि मानवसहित पर्यावरणका सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरूको सन्तुलन विनाश भएको छ । सो विनाशको फलस्वरूप लाखौं नागरिक आकस्मिक समस्या भोग्न बाध्य भएका हुन् । मुख्य समस्याका रूपमा महामारी, श्वासप्रश्वास, प्रदूषण, सार्वजनिक स्थल विनाश, शारीरिक यातना एवं मृत्युसमेत छन् । नेपालको प्रमुख सहर काठमाडांैको सन्दर्भमा वातावरणको मुख्य समस्याका रूपमा रहेको छ । काठमाडौंमा वायु प्रदूषणको मुख्य कारकका रूपमा भन्नुपर्दा सवारी साधनको बढ्दो चाप, जनसंख्या वृद्धि, प्राकृतिक स्रोतको दोहन, समन्वयको अभाव, आधुनिक प्रविधिको जथाभावी प्रयोग, वनजंगल विनाश, अव्यवस्थित सहरीकरण, औद्योगीकरण, फोहरमैलाको अव्यवस्थित, अनुगमनको अभाव, ऐन–कानुनको कार्यान्वयन नहुनु, जनचेतनाको कमी, अवैज्ञानिक सडक विस्तार, भूकम्पबाट विनाश भएका भौतिक संरचनाहरूको निर्माण तथा मर्मतले गर्दा काठमाडौंलगायत देशका अन्य सहरी क्षेत्रमा फोहोरमैलाको समस्या तथा धूलो र धूवाँकोे प्रदूषण उच्च बिन्दुमा छ ।
फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडौं महानगरपालिका, ललितपुर, भक्तपुर, बनेपा, विराटनगर, धनगढी, सुर्खेत, वीरगन्ज, पोखरा, भरतपुरलगायत देशका विभिन्न सहरहरूमा फोहोरमैलाको व्यवस्थापन समस्याका रूपमा रहेको छ । काठमाडांै उपत्यकाको हाल दैनिक निष्काशन हुने करिब १२ सय मे.टन फोहोरमैला व्यवस्थापन प्रमुख समस्या भएको देखिन्छ । विभिन्न बहानामा फोहरमैला डम्पिङ गर्न नपाई काठमाडौंलगायत अन्य सहरमा जताततै फोहोरमैलाले वातावरण प्रदूषण भई जनस्वास्थ्यमा तीव्र असर पारेको हुन्छ । साथै ट्राफिक व्यवस्थापनमा समेत अस्तव्यस्त तुल्याएको पाइन्छ ।
फोहोरमैला व्यवस्थापनको विवेचना गर्दा राजधानी काठमाडौंको गर्नु उपयुक्त होला । काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल्ड साइटमा फोहोरमैला निष्कासन गर्न थालेको करिब १६ वर्ष पुगिसक्यो । दुई–तीन वर्षका लागि मात्र तयार गरिएको सो डम्पिङ साइट २०६२ जेठ २२ देखि प्रयोगमा आएको हो । काठमाडौं, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाएको सो डम्पिङ साइटमा हाल १८ वटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्डफिल्ड साइटका रूपमा नुवाकोटको बन्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल्ड साइट निर्माण कार्य सम्पन्न हुँदै छ । दुई वर्षका लागि भनेर बनाएको डम्पिङ साइटमा करिब १६ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले स्थानीयवासी आक्रान्त हुनु स्वाभाविक नै हो । फोहोर कुहिई बगेको अर्धठोसका कारण प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ, गाईवस्तु एवम् कृषि उपज, जलथल, वातावरणमा नै नकारात्मक असर परेको गुनासो छ । सो ल्यान्डफिल्ड साइटको क्षमता सकिएकाले बन्चरेडाँडा ल्यान्डफिल्ड साइट बनाउने निर्णय भएको थियो । बन्चरेडाँडामा सिसडोलको जस्तो नभई फोहोर छुट्ट्याएर मात्र राख्ने स्यानेटरी ल्यान्डफिल्ड साइट हुने कुरा प्रकाशमा आएको छ । सो पनि ढिलाइ भइरहेको छ । यसै सिलसिलामा सिसडोल ल्यान्डफिल्ड साइट २०७८ साउनको पहिलो हप्ता पूर्ण रूपमा भरिएपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनमा ठूलो चुनौती आएको छ । बन्चरेडाँडामा दसैंअघि फोहोर व्यवस्थापन हुन नसक्ने सम्बन्धित पक्षले जनाएको छ । ल्यान्डफिल्ड साइटको फोहोर कुहिएर बगेको लेदोले फोहोर बोक्ने गाडी ल्यान्डफिल्ड साइटमा पुग्नसमेत मौसमी समयमा कठिनाइ छ । दैनिक १२ सय मेट्रिक टनभन्दा बढी फोहोर फालिँदै आएको सिसडोल ल्यान्डफिल्ड साइट माथि भनेजस्तै पूर्ण रूपमा भरिई समस्याग्रस्त भएको छ । पूर्ण समाधानका लागि अविलम्ब बन्चरेडाँडाको ल्यान्डफिल्ड साइट निर्माण सम्पन्न गरी प्रयोग गर्नु आजको आवश्यकता हो ।
बन्चरेडाँडा काठमाडौंबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ । स्यानिटरी ल्यान्डफिल्ड साइटले बाहिरी क्षेत्रसहित १७ सय रोपनी जग्गा ओगटेको जानकारीमा आएको छ । स्यानिटरी ल्यान्डफिल्ड साइट फोहोरमैलाको वैज्ञानिक आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको जानकारीमा आएको छ । यस ल्यान्डफिल्ड साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरूले बताएका छन् । फोहोरलाई स्रोतमै छुट्ट्याएर अधिकतम पुनःप्रयोग तथा उत्पादन गरी बाँकी फोहोरमात्र ल्याएमा यो ल्यान्डफिल्ड साइट १ सय वर्ष फोहोर व्यवस्थापन गर्न सकिने सम्बन्धित पक्षको भनाइ छ । आशा गरौँ, बन्चरेडाँडा ल्यान्डफिल्ड साइटबाट स्थानीय जनतालाई वातावरण प्रदूषण हुने कार्य नभई वातावरणमैत्री हुने कुरा प्रकाशमा आए पनि उचित प्रयोगको आधारमा कतिसम्म टिक्ने हो, अहिले किटान गर्नचाहिँ नसकिएला कि ? जे होस्, सोच चैं सकारात्मक नै राखौँ ।
फोहोरमैलाको उचित व्यवस्थापनको बाधक तत्वहरू निम्न छन् ; कानुनको उचित कार्यान्वयन हुन नसक्नु, फोहोरमैला व्यवस्थापनमा संस्थागत अभावको समस्या, फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी, फोहोरमैला व्यवस्थापन नगरपालिकाको प्रमुख प्राथमिकतामा परे पनि सोअनुसार कार्यान्वयन गर्न नसक्नु, फाहोरमैला व्यवस्थापनको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव, फोहोरमैला व्यवस्थापनसम्बन्धी आवश्यक भौतिक पूर्वाधारहरू जस्तै पुनः प्रयोगशाला, ल्यान्डफिल्ड साइटको अभाव, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्नु, फोहोरमैला व्यवस्थापनमा समुदाय र निजी क्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेसिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभाव, फोहोरमैला व्यवस्थापनमा निहित स्वार्थ, फोहोरमैला व्यवस्थापनमा राजनीतिक खिचातानी, फोहोरमैला व्यवस्थापनमा देशमा चलेको अशान्ति र द्वन्द्व तथा महामारीको प्रभाव, फोहोरमैला व्यवस्थापनमा अन्तरनगरपालिका समन्वयको अभाव, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन गर्न नसक्नु, संस्थागत रूपले तालिम तथा विकास हुन नसकेको, फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई श्रोतका रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभइसकेको । यी माथिका कारणबाट काठमाडौं उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा फोहोरमैलाको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
फोहोरमैला समाधानको सबैभन्दा उत्तम उपाय नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी सोसम्बन्धी दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नका लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनुपर्ने, फोहोरमैला व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले अध्यावधिक गरिराख्ने, फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्ने, नगरवासीहरूलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्षलगायतका कार्यको जनचेतना अभिवृद्धि गरी सो व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्य योजना बनाई अगाडि ल्याउन आवश्यक छ ।
यस्तो कार्ययोजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवा सुविधा स्पष्ट रूपमा उल्लेख हुनुपर्छ, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्ने, सोबाट ठूलो धनराशिको बचत हुने, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न उपयुक्त प्रविधि भिœयाई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्ने, उपयुक्त प्र्रविधिको पहिचान गरी सही रूपले कार्यान्वयन गर्ने, नगरपालिकाकै ल्यान्डफिल्ड साइडको व्यवस्था गर्ने, पब्लिक–प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानुनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकाले कतै निकायगत जिम्मेवारीमा दोहोरापना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था हुँदा फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुने गरी विद्यमान कानुनहरूलाई परिमार्जन गरिनुपर्ने तथा प्राङ्गारिक मलको कारखाना खोल्न आवश्यक पहल गर्नुपर्छ । आशा छ, बन्चरेडाँडाको ल्यान्डफिल्ड साइट वातावरणमैत्री हुनेछ । यी माथिका कुराहरू कार्यान्वयन भएमा पक्कै पनि काठमाडौं उपत्यका र देशका अन्य सहरको फोहोरमैला व्यवस्थापन प्रभावकारी भई नेपाली जनताको स्वास्थ्य गुणस्तरीय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्