खोप र आर्थिक पुनरुत्थानमा सहयोग गर्न विश्व बैंकलाई आग्रह «

खोप र आर्थिक पुनरुत्थानमा सहयोग गर्न विश्व बैंकलाई आग्रह


अर्थमन्त्री जनार्दन शर्माले कोभिडसँग लड्न तथा अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । यसअघि पनि सहयोग गरेबापत धन्यवाद दिँदै उनले बिहीबार विश्व बैंकका प्रतिनिधिसँगको भर्चुअल बैठकमा नेपाल सरकारको पहिलो प्राथमिकता पनि जनता बचाउनु नै रहेकाले विश्व बैंकको सहयोग महत्वपूर्ण हुने जनाए ।
अर्थमन्त्री शर्माले कोभिड महामारीबाट जनतालाई बचाउन विश्व बैंकले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै कोभिड उपचारको लागि विश्व बैंकले नेपाललाई २९ मिलियन र कोभिड खोप खरिदको लागि ७५ मिलियन अमेरिकी डलर सहयोग गरेको पनि स्मरण गरे । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिनु सरकारको दोस्रो प्राथमिकता रहेको बताउँदै मन्त्री शर्माले यस अभियानमा समेत विश्व बैंकको सहकार्य आवश्यक रहेको विश्वास व्यक्त गरे । बैठकमा मन्त्री शर्माले कोभ्याक्स सुविधा अन्तर्गत विकासशील देशहरुले पाउनुपर्ने खोप समानुपातिक वितरणको आधारमा गरिनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।
त्यस्तै, विश्व बैंकका तर्फबाट बोल्दै विश्व बैंकका कन्ट्री डाइरेक्टर फ्यारिस हदाद जार्वोसले नेपाल सरकारले तय गरेको प्राथमिकतामा सहकार्य गर्न विश्व बैंक तयार रहेको बताए । विश्व बैंक र नेपालबीच लामो सम्बन्ध रहेको बताउँदै उनले कोभिड खोपको साथै वातावरणीय स्वच्छता र जलविद्युत क्षेत्र विश्व बैंकको रणनीतिक प्राथमिकताको क्षेत्र रहेको जनाए ।
अर्थ मन्त्रालयमा आयोजित भर्चुअल बैठकमा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र सहसचिव एवं अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्