फोरजी सेवा निर्धारित समयै पूरा हुन्छ : नवनियुक्त प्रवन्ध निर्देशक अधिकारी «

फोरजी सेवा निर्धारित समयै पूरा हुन्छ : नवनियुक्त प्रवन्ध निर्देशक अधिकारी

काठमाडौं-नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पदभार ग्रहण गरेका छन् । सरकारको ०७५ पुस १९ गतेको निर्णयबमोजिम ३ वर्षका लागि अधिकारीलाई प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो ।
पदवहाली कार्यक्रममा उनले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरू अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीहरूलाई आह्वान गरे । उनले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने दाबी गरेका छन् ।

परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकूल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने, १ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने उनका योजना छन् ।
मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मुख्य सहरहरू तथा पकेट क्षेत्रहरूमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापनमा उनले जोड दिने बताएका छन् । त्यसैगरी कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आईपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रबन्ध निर्देशक अधिकारी यसअघि प्रबन्ध निर्देशकको कार्यालयमा प्रबन्धक पदमा कार्यरत थिए । उनी तत्कालीन दूरसञ्चार संस्थानमा ०५९ फागुनमा टेलिकम इन्जिनियर पदमा प्रवेश गरेका थिए । ०६५ मा वरिष्ठ इन्जिनियर, ०७० मा उप–प्रबन्धक र ०७५ वैशाख १६ देखि प्रबन्धक पदमा कार्यरत थिए । उनी एक्सेस नेटवर्क, ट्रान्समिसन नेटवर्क, वायरलेस ब्रोडब्यान्ड एक्सेस, अन्तर्राष्ट्रिय व्यापार, ब्याकबोन ट्रान्समिसन आदि क्षेत्रको साथै कम्पनीको सह–प्रवक्ता र नोडल अधिकृत समेतको कार्य अनुभव रहेको छ । उनले २०६२ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा विशिष्ट श्रेणीमा एमएस्सी गरेका छन् । त्यसैगरी २०५८ मा पुल्चोक क्याम्पसबाटै इलेक्ट्रोनिक्स इन्जिनियरिङमा विशिष्ट श्रेणीमा बीई गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्