Logo

तेस्रो पटक म्याद थपिए पनि बसपार्क निर्माणको काम ७५ प्रतिशत मात्र पूरा

तीन पटक म्याद थपिए पनि नेपालगन्ज बसपार्क निर्माणको काम ७५ प्रतिशत मात्र पूरा भएको छ । तीन महिनाका लागि अन्तिम पटक म्याद थप गरिएपछि नेपालगन्ज उपमहानगरपालिकाले तोकिएको मितिमा निर्माण सक्न निर्माण कम्पनीलाई कडा निर्देशन दिएको छ ।
निर्माण पूरा गर्न पटक–पटक ताकेता गरेपछि निर्माण कम्पनीले काममा तीव्रता दिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । काममा दबाब दिन उपमहानगरपालिकाका कार्यवाहक प्रमुख वीरेन्द्रबहादुर शाह नेतृत्वको टोलीले निर्माणाधीन बसपार्कको स्थलगत अनुगमन तथा निरीक्षणसमेत गरेको छ ।
निरीक्षणका क्रममा कार्यवाहक प्रमुख शाहले निर्माणका क्रममा देखिएका समस्या र बाधा फुकाउन उपमहानगरपालिकाले सहजीकरण गर्ने आश्वासन दिएका छन् । उनले काम छिटो सम्पन्न गर्न देखिएका बाधा, अड्चनका बारेमा जानकारी दिन निर्माण कम्पनीका कर्मचारीहरूलाई सुझाव दिँदै तोकिएको मितिमा काम सम्पन्न नभए क्षमा दिन नसक्ने स्पष्ट पारेका छन् ।
निरीक्षणका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रशासकीय अधिकृत हरि प्याकुरेलले निर्माण कम्पनीलाई रकम अभाव हुन नदिने आश्वासन दिए । उनले छिटो सक्ने नाममा गुणस्तरहीन काम नगर्न निर्माण कम्पनीलाई सचेत समेत गराए । “जसरी काम छिटो हुन्छ त्यो विधि अवलम्बन गर्नुहोस्, तर काम तीन महिना भित्रै जसरी पनि पूरा गर्नेपर्छ,” उनले भने ।
युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्सले १५ महिनामा काम सक्ने गरी मार्च ३१, २०१६ मा उपमहानगरपालिकासँग सम्झौता गरेको थियो । त्यस अवधिमा निर्माण सम्पन्न नभएपछि उपमहानगरले तीन पटक म्याद थप गरेको छ । २८ फेब्रुअरी, २०१९ मा निर्माण सक्ने गरी अन्तिम पटक म्याद थप गरिएको कार्यकारी प्रशासकीय अधिकृत प्याकुरेलले बताएका छन् ।

तीन महिनाको म्याद थप गराएको निर्माण कम्पनीले मुख्य टर्मिनल भवन, कम्पाउन्ड वाल निर्माण, सपिङ कम्प्लेक्स, पार्किङ स्पेशलगायतका काम अन्तिम चरणमा पु¥याएको नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज गुप्ताले जानकारी दिए । उनले फिनिसिङको काम बाँकी रहेकोले थप गरिएको समयमा काम सम्पन्न हुने आशा पलाएको बताए । ठूला काम सम्पन्न भइसकेको बताउँदै उनले साना र मसिना काम बाँकी रहेको जानकारी दिए ।
बसपार्क निर्माणको काममा भइरहेको ढिलाइले नेपालगन्जबाट देशका विभिन्न स्थानका लागि छुट्ने र आउने बसहरूलाई धेरै समस्या पर्दै आएको छ भने सोही कारणले त्यहाँबाट यात्रा गर्ने हजारौं यात्रुहरूले पनि दिनदिनै समस्याहरू भोगिरहेका छन् । यातायात व्यवसायीहरूले बसपार्क निर्माणलाई छिटो पूरा गराइदिन हरेक महिना डेलिगेसन लिएर आउने गरेको उपमहानगरपालिकाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्