साउनमा पनि चुरा पोतेको व्यापार हुन सकेन «

साउनमा पनि चुरा पोतेको व्यापार हुन सकेन

यस वर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन । साउन लागेसँगै काठमाडौंको असन बजार हरियो, राता, पहेलो चुरा, पोते, मेहेन्दी र पँहेलो कपडाले सजिएको छ ।

तर गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन् । हातमा मेहेन्दी र चुरा लगाएर ब्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड लाग्ने गर्दथ्यो । यस वर्ष कोरोनाका कारण भनेजति व्यापार हुन नसकेको असनका व्यापारी राजु लामिछानेले बताए । लकडाउन खुलेपनि कोरोनाको डरले गर्दा मानिस घरमै थुनिन बाध्य भएकाले व्यापार सन्तोषजनक हुन नसकेको लामिछानेले बताए ।

उनले यस वर्ष साउनको पहिलो साता बितिसक्दा पनि गत वर्षको तुलनामा ७/८ प्रतिशत मात्र व्यापार भएको बताए । सबैलाई कोभिड विरुद्धको भ्याक्सिन लगाउन सके व्यापार आशा गरे अनुसार हुने विश्वास उनको छ ।
“मानिसको कमाइ छैन, कसरी किन्न आउनु ? गत वर्षको तुलनामा यस वर्षको बजार धेरै डाउन छ” उनले भने, “सरकारले कोभिड विरुद्धको भ्याक्सिन लगाउन सक्यो भने अलि बढ्थ्यो कि ?”

प्रतिक्रिया दिनुहोस्