पहिराले कर्णाली राजमार्ग अवरुद्ध «

पहिराले कर्णाली राजमार्ग अवरुद्ध

मान्म, ६ साउन (रासस)ः मंगलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए । “अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ,” उनले भने, “सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।”
पहिरोका कारण यात्रुहरू अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरू बीच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर विष्टले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । “पहिरो पन्छाउने काम भइरहेको छ ।” उनले भने, “आज बेलुकासम्ममा राजमार्ग खुला हुन्छ ।” त्यस्तै, अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा ठूलो पहिरो गएकोे छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष भरत विकले बताए । “उक्त करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्