मेक इन नेपाल अभियानको लक्ष्य «

मेक इन नेपाल अभियानको लक्ष्य

नेपाल उद्योग परिसंघले अगाडि सारेको मेक इन नेपाल अभियानबाट वार्षिक डेढ लाख नयाँ रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको छ । औद्योगिक विकासका लागि उद्योग विभागमा वार्षिक १ हजार उद्योग दर्ता गर्ने, आउँदो ५ वर्षमा निर्यात ४.६ अर्ब डलर पु-याउने, तथा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सन् २०२५ सम्म २२ र सन् २०३० सम्म २५ प्रतिशत योगदान दिने उद्देश्य सहित अभियान अगाडि बढेको परिसंघको भनाइ छ ।
नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि, प्रवद्र्धन र उपभोग वृद्धि गरी विश्व बजारमा निर्यात गर्न यो अभियानको सुरुवात गरिएको भन्दै परिसंघले अभियानको मुख्य उद्देश्य नेपाली उत्पादन वृद्धि गरी आत्मनिर्भर तर्फ अगाडि बढाउन अर्थतन्त्र निर्माण गर्न सहयोग गर्नु रहेको पनि बताएको छ ।
उद्घाटन समारोहमा बोल्दै परिसंघका अध्यक्ष शतिषकुमार मोरले सरकार, उद्योगी–व्यवसायी र सर्वसाधारण उपभोक्ताहरूले नेपालमा उत्पादन हुने वस्तुहरूको उपभोगमा जोड दिए मात्र मुलुकको व्यापार घाटा कम गर्न सकिने उल्लेख गरे । नेपाली उत्पादनको गुणस्तर, परिमाण र मूल्य प्रतिस्पर्धी नभईकन यस अभियानले सार्थकता पाउन नसक्ने भएकाले वस्तु र सेवाको गुणस्तर वृद्धि गर्नु आवश्यक रहेको उनले बताए । यस्तै, बजारको माग र निर्यात सम्भाव्यता समेत हेरी उत्पादन वृद्धि गर्नु र उत्पादन लागत कम गरी मूल्य प्रतिस्पर्धी वस्तु र सेवाको उत्पादन र प्रवद्र्धन गर्नु आवश्यक हुने परिसंघको ठहर छ । नेपाली वस्तु र सेवालाई विश्वव्यापी बनाउने र यसको स्वदेशी उपभोग वृद्धि गर्ने गरी अघि सारिएको यो अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्र समन्वयात्मक रूपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको मोरले बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले सरकारले कोरोनाको खोपको प्रबन्ध गरी नेपाललाई दक्षिण एसियाको आकर्षक लगानी गन्तव्यको रुपमा अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्