जुम्ला–जाजरकोट जोड्ने पक्की पुल ६ वर्षपछि सम्पन्न «

जुम्ला–जाजरकोट जोड्ने पक्की पुल ६ वर्षपछि सम्पन्न


जुम्ला–जाजरकोट जोड्ने पक्की पुल करिब ६ वर्षपछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । तिला गाउँपालिकाको त्रिवेणी हुँदै टोप्ला–जारजरकोट जोड्ने पक्की पुल सञ्चालनमा आएसंँगै अहिले सवारी आवतजावतमा सहज भएको छ । २०७३ सालबाट निर्माण सुरु भएको पुल २०७५ मा निर्माण गरिसक्नु पर्ने सम्झौता भएको थियो ।
तत्तकालीन जिल्ला विकास समितिअन्तर्गत प्राविधिक कार्यालय जुम्लाले खरिद प्रक्रिया गरी निर्माण सुरु गरेको थियो । तर राज्य पुनर्संरचनामा जाँदा उक्त पुल कसले निर्माण गर्ने, कसले जिम्मेवारी लिने भन्ने कुरा अन्योल भयो । जसका कारण ठेक्का पनि रद्द भयो । जुम्ला जाजरकोट जोड्ने पुलजस्तै अन्य दर्जनौ अधुरा संरचना निर्माणमा कसैले पनि चासो दिएनन् । जसका कारण ०७३ देखि ०७७ सम्म जुम्ला–जाजरकोट जोड्ने पुल अलपत्र अवस्थामै रह्यो ।
२०७३ देखि ०७५ को बीचमा बजेट सकाउने काममात्रै भयो । काम चलाउ पुल बनाउँदै खोलाले बगाउने धेरै पटक भयो भने कामदारले समेत ज्याला नपाएको भन्दै धेरै पटक आन्दोलन गरे । पुल निर्माणका लागि मिडियाले धेरै पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सरोकारवाला जुम्ला–जाजरकोट जोड्ने पुललाई चासो दिएनन् ।
तर २०७७ सालमा पूर्वाधार कार्यालयको प्रमुखका रूपमा इन्जिनियर रुपबहादुर रावल आएपछि पुल निर्माणको प्रक्रिया फेरि अघि बढेको थियो । प्रमुख रावलले भने, “सम्झौता भएको तीन वर्षमा निर्माण हुनुपर्ने हो । त्यतिबेला ठेकेदारको लापरबाही र सरोकारवालाको गैरजिम्मेवारीपनले समयमै निर्माण भएन । संघीयतापछि पनि ०७५ देखि ०७७ सम्म अलपत्र नै रह्यो । कसैले चासै दिएनन् ।”
२०७७ सालमा पुन म्याद थपेर द्रुत गतिमा काम बढाएपछि पुल निर्माणकार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख रुपबहादुर रावलको भनाइ छ । उनका अनुसार विभिन्न प्राविधिक चुनौतीका बाजबुद नियमित फिल्डमा खटेर पुल निर्माण गर्न सफल भएको हो । करिब ५२ मिटर लम्बाइ रहेको पुल निर्माणपछि गुणस्तरीयता मापनका लागि २० टनको सवारी सञ्चालन गरेर समेत परीक्षण गरिएको छ । उच्चतम प्रविधिको प्रयोग गरे बलियो तथा गुणस्तरीय पुल बनाएका छौं । उनले भने, “तिला गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको पहल तथा पूर्वाधार विकास कार्यालयका जनशक्तिको सक्रियताले ढिलै भए पनि पुल सञ्चालनमा ल्याउन सफल भयौं ।”
(हिराचन अन्जना जेभी) निर्माण कम्पन्नी काठमाडौंले चार करोड १२ लाख लागतमा पुल निर्माण सम्पन्न गरेको हो । पुल सञ्चालनमा आएसँंगै दुर्गम टोप्ला सर्मी, हुँदै इमिल्छाका नागरिकलाई आवतजावतमा सहज हुने भएको छ । निकट भविष्यमा जुम्ला हँुदै जाजरकोटसम्मको सवारी सञ्चालन हुने आशामा समेत स्थानीय नागरिक छन् ।
यता तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले लामो संघर्षका बाबजुद पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको बताए । उनले वर्षौंदेखि अलपत्र रहेको पुल निर्माणलाई पूर्णता पूर्वाधार कार्यालयले देखाएको सक्रियाले सम्भव भएको उल्लेख गरे ।

कर्णाली राजमार्गका १२ पुल निर्माण सम्पन्न
कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएका छन् । सडक डिभिजन कार्यालय सुर्खेतले आव ०७३/७४ देखि निर्माण थालिएका १२ वटा पक्की पुल गत आवमा सम्पन्न भएको जनाएको छ ।
कर्णाली राजमार्गका अधिकांश स्थानमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार कर्णाली राजमार्गमा कुवाखोला, कालेखोला, पाल्तडा, कानेगाड, गुहेगाड, दहीखोला, तिला खोला, छिडेना खोला, सिञ्जा, पातले खोला, लुम्चडी र माटेखोलामा लगायत अन्य ठाउँ गरी १२ वटा पक्की पुल निर्माण सम्पन्न भएका हुन् । करिब ४२ करोड ४५ लाख ४९ हजार लागतमा पुलहरू निर्माण भएको कार्यालयले जनाएको छ ।
अधिकांश ठाउमा नाली खोल्नाका साथै भत्केको पर्खाल लगाउने, पहिरो पन्छाउने जस्ता कार्य समयमै भएकाले यस पटकको वर्षात्मा राजमार्ग अवरुद्ध नभएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्