कर्णाली करिडोरको १२२ किमि सडक हस्तान्तरण «

कर्णाली करिडोरको १२२ किमि सडक हस्तान्तरण


कर्णालीको लाइफ लाइनका रूपमा रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सलिसल्लासम्मको १२२ किमि सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । निर्माणको जिम्मा लिएको सात वर्षमा नेपाली सेनाले निर्माणकार्य सकेर हस्तान्तरण गरेको हो ।
कालिकोटको खुलालुदेखि हिल्सासम्म कुल २८१ किलोमिटर लम्बाइ रहेको कर्णाली करिडोरको १२२ किलोमिटर नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको थियो । त्यसमध्ये बाँकी रहेको सलिसल्लादेखि हिल्सासम्मको १५९ किलोमिटर सडक निर्माणको जिम्मा हिल्सा सिमकोट सडक आयोजनाले लिएको छ ।
नेपाली सेनाले सात वर्षमा निर्माण सम्पन्न गरेको १२२ किमि सडक गएको हप्ता हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको कर्णाली करिडोर निर्माणमा एक अर्ब ६५ करोड ५५ लाख खर्च भएको छ । यो सडकले कालिकोट जिल्लाको खुलालुदेखि बाजुरा, हुम्ला हुँदै चीनको सीमाना हिल्सासम्म जोड्ने भएको छ । करिडोरको निर्माणकार्य सम्पन्न गरी असार ३१ गते (बिहीबार) नेपाली सेनाले सडक विभागअन्तर्गतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको हो ।
११ वर्षदेखि सडक विभागले निर्माणकार्य सुरु गरेको आयोजनामा करोडौं बजेट खर्चिए पनि अपेक्षित काम हुन नसकेपछि नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको थियो । २०७१ मा मन्त्रीस्तरीय निर्णय गरी नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको थियो । २०७१ चैत ९ गतेबाट सेनाले निर्माणकार्य सुरु गरेको थियो ।
नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले कर्णाली करिडोर हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको जानकारी दिए । “पाँच वर्षमा नै सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो,” उनले भने, “सात वर्षमा निर्माणको काम सम्पन्न भएको छ । कोरोनाका कारण निर्धारित समयमा काम सक्न केही ढिलाइ भएको हो ।”
नेपाली सेनाले जिम्मा पाएको १२२ किमि सडक निर्माणकार्य सकेर सडक विभागलाई हस्तान्तरण गरेको हिल्सा–सिमकोट आयोजनाका प्रमुख विसुनदास लामाले बताए । कर्णाली करिडोरअन्तर्गत कालिकोटमा ४० किलोमिटर, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्लामा ११३ किलोमिटर रहेको छ ।
२०५७ मा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले शिलान्याश गरेको कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको १९२ किलोमिटर सडक निर्माण कार्यले १५ वर्षसम्म पनि गति लिन नसकेपछि नेपाली सेनालाई जिम्मा दिइएको थियो । कर्णाली करिडोर निर्माण पूरा भएपछि चीनसँगको सीमा जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको सडक बन्नेछ । यसको कुल लम्बाइ ५३० किलोमिटर छ ।
सडक निर्माण भएपछि भारतबाट मानसरोवर आउने पर्यटकका लागि छोटो दूरीको मार्ग हुनेछ । सडक निर्माणपछि पर्यटन र व्यापारका दृष्टिले तीन देशको ट्रान्जिट बन्ने कालिकोटको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्