विराटनगर–धरान ६ लेन सडक निर्माण सुस्त «

विराटनगर–धरान ६ लेन सडक निर्माण सुस्त

विराटनगर–धरान ६ लेन सडक निर्माण अत्यन्तै सुस्त भएको छ ।
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण सुस्त भएपछि सर्वसाधारण सास्ती व्यहोर्न बाध्य छन् । निर्माण सुस्त भएकै कारण विराटनगरस्थित रोडशेषबाट बरगाछीसम्मको करिब डेढ किमि छिचोल्न मोटरसाइकललाई झण्डै आधा घन्टा लाग्छ । जताततै सडक भत्काइएको छ । यही सडकबाट मालबाहकका साथै यात्रुबाहक सवारी आवतजावत गर्ने गरेका छन् । “यो सडक पार गर्नु भनेको निकै ठूलो युद्ध जितेबराबर छ,” विराटनगर कञ्चनबारीका हरिहर नेपाल भन्छन्, “यसबाहेक कतिबेला दुर्घटनामा परिने हो भन्ने त्रास पनि छ ।”
यो सडकखण्डमा साना–ठूला गरी दैनिक एक दर्जन दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ । निर्माणाधीन सडक र सडकको दुवैपट्टी खनेको नालाले सर्वसाधारण समस्या परेका हुन् । अति व्यस्त उक्त सडकमा सवारीसाधनले उडाएको धुलोले विराटनगरवासी मार्कामा परेका छन् । विराटनगरदेखि इटहरीसम्म दुवैपट्टी ढल निर्माणले पनि सडक धुलामे बनेको हो ।
निर्माणको ठेक्का पाएका ठेक्केदारहरूले वातावरणीय सुरक्षाका लागि धुलो नउड्न सडकमा पर्याप्त पानी नहाल्ने र समयमा काम नगरेकाले यस्तो अवस्था आएको हो । ६ लाइन सडक योजनाका प्रमुख विनोद मौवारले सडक निर्माणले तीव्रता नपाएको स्वीकारे । सरकारले आवश्यक बजेट, मापदण्डअनुसारको जग्गा उपलब्ध नगराउनु, सडकमा परेको विद्युतीय पोल, खानेपानीको संरचना र रुख हटाउन समय लाग्ने र सम्बन्धित कार्यालयसँग समन्वयको अभावले रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणमा ढिलाइ भएको उनी बताउँछन् ।
परियोजनाअन्तर्गत पहिलो चरणमा रानीदेखि इटहरीसम्म २९ किमि ६ सय मिटर सडक, नाला र फुटपाथ निर्माणका लागि ११ वटा प्याकेजमा ५ अर्ब ४ करोड ६१ हजारमा ठेक्का लागेर काम भइरहेको र यस वर्ष थप ४ किमि ठेक्का लागेको उनले बताए । “विराटनगरको बरगाछी चौकदेखि आयल निगमसम्म ३ किमिसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ,” उनले भने, “बरगाछीभन्दा दक्षिण २२ सय मिटर विराटनगर बजार क्षेत्रमा अबको ५ महिनाभित्र सडकको बीच भाग ८ मिटर कालोपत्रे गरेर धुलो नियन्त्रण गर्न काम अगाडि बढाएका छौं ।” सडकमा धुलो उडेर सर्वसाधारणको स्वास्थ्यमा असर पर्न नदिन बजार क्षेत्रमा पानी हाल्न निर्माण कम्पनीलाई निर्देशन दिएको उनको भनाइ छ ।
विराटनगरस्थित रोडशेष चोकभन्दा दक्षिण ६ लेन सडकअन्तर्गत दुवैपट्टी निर्माण भइरहेको नालामा मापदण्डविपरीत गुणस्तरहीन इँटा प्रयोग भइरहेको छ । उक्त खण्ड निर्माणको ठेक्का कान्छाराम कन्स्ट्रक्सन काठमाडौंले पाएको छ । प्रमुख मौवारले निर्माण कम्पनीले गुणस्तरहीन इँटा प्रयोग गरिरहेको सूचना आपूmलाई पनि आएकाले त्यसको अनुगमन गरेर कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए ।
सो सडक १० अर्ब ९८ करोडको लागतमा अहिले केन्द्रबाट १५ मिटर दायाँ र १५ मिटर बायाँ गरी ३० मिटरमा ६ लेन सडक निर्माण सुस्त भइरहेको छ । सुनसरीको दुहबी बजार खण्डमा मापदण्डअनुसारको जग्गा सरकारले उपलब्ध नगउँदा खण्डमा सडक निर्माणका लागि टेण्डरसमेत आह्वान हुन सकेको छैन । सरकारले चालू आर्थिक वर्षमा उपलब्ध गराएको ६० करोड बजेटमध्ये ४५ करोड खर्च भइसकेको उनले बताए । दुई वर्षको अवधिमा विराटनगरको बरगाछीदेखि आयल निगमसम्म मात्रै कालोपत्रे भएको छ । यो सडकको बीचमा डिभाइडर राख्ने कार्य हाल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्