गैरकानुनी रुपमा भर्ना शुल्क असुल्दै मलंगवाको सरकारी विद्यालय «

गैरकानुनी रुपमा भर्ना शुल्क असुल्दै मलंगवाको सरकारी विद्यालय


सरकारले सबैका लागि निःशुल्क शिक्षा भने पनि सर्लाहीको एक सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट चर्को शुल्क लिने गरेको छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ५, भाँडसरस्थित रामगुलाम जनता माध्यमिक विद्यालय भर्ना शुल्कको नाममा चर्को शुल्क लिने गरेको अभिभावक तथा विद्यार्थीहरुबाट गुनासो आएको छ ।
यस विद्यालयले विद्यार्थीबाट गैरकानुनी रूपमा भर्ना शुल्क असुल्ने गरेको पाइएको छ। विद्यार्थीसँग भर्ना शुल्क भनेर लिएको पैसा विकास शुल्कको शिर्षकमा उल्लेख गरेर दिने गरेको सोही विद्यालयमा भर्खरै कक्षा ८ उतिर्ण गरि कक्षा ९ मा पुगेका छात्रा पूजाकुमारी महतोका अविभावक रवीन्द्र महतोले बताए । सरकारले सबैका लागि निःशुल्क शिक्षा भनेर लागू गरेको भएपनि भर्ना शुल्क किन लिएको भनि विद्यालयका लेखापाल रामविश्वास रायसँग प्रश्न गर्दा आफूले प्रधानाध्यापक जुगेश्वर राउतको निर्देशन तथा आदेशमा भर्ना शुल्क लिएको भनी सुनाएको महतोले बताए । पहिला त शुल्क बुझाएको पैसाको बिल दिन मिल्दैन भनी पन्छिन खोजेपनि पछि जिद्दी गरेर माग्दा भर्ना बापत लिएको शुल्क विकास शुल्कको शिर्षकमा उल्लेख गरेर दिने गरेको महतोले सुनाए ।
कक्षा १ देखि १२ सम्म सरकारले निःशुल्क शिक्षा भने पनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयले भर्ना शुल्क, परीक्षा शुल्क, गयल शुल्क, खेलकुद शुल्क, विकास शुल्कलगायतका शीर्षकमा विद्यार्थीहरुसँग जबर्जस्ती रकम असुल्ने गरेका छन् ।
अहिले विद्यालय भर्ना अभियान चलिरहेको र सोही अभियानको क्रममा आफ्नो बच्चालाई भर्ना गराउनका लागि लिएर जाँदा लेखापाल रायले भर्ना गराएबापत ५०० रुपैयाँ विद्यालयलाई बुझाउनु पर्ने नबुझाएको खण्डमा भर्ना गर्न नमिल्ने भनी सुनाएको रामगुलाम जनता मावि भाँडसरमा अध्ययनरत एक विद्यार्थीका अविभावक मलंगवा नगरपालिका वडा न–६ खुटौना निवासी ललन राय यादवले गुनासो गरेका छन् । भर्ना गराएबापत एक रुपैयाँ तिर्नु पर्दैन, सरकारले १ देखि १२ कक्षासम्मको अध्यनलाई निःशुल्क गरेको छ, बच्चाको नाम लेखिदिनु भनि आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर रकम बुझाएको र सो बापत रसिद माग्दा भर्ना शुल्क भनेर लिएको ५०० सय रुपैयाँ विकास शुल्कको शिर्षकमा उल्लेख गरेर दिएको यादवले बताए । उनीजस्तै खुटौनाका अन्य अभिभावकले पनि बालबालिका भर्ना गर्दा रकम तिर्नुपरेको उनले बताए ।
विद्यालयका प्रअ राउतलाई गैरकानुनी रुपमा विद्यार्थीहरु सँग रकम असुल नगरिदिन भनि पटकपटक आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर पिडित अविभावक तथा विद्यार्थीहरु मिलेर जिल्ला प्रशासन कार्यालयमा कारवाहीको माग राखेर निवेदन पेस गरेको र सो निवेदनको आधारमा कार्यालयले जिल्ला शिक्षा समन्वय इकाई कार्यालयमा पत्र लेखेर पठाएको बताइएको छ । साथै इकाई प्रमुख रामआधार कुशवाहाले पनि रामगुलाम माविका प्रअको नाउँमा स्पष्टीकरण दिन पत्र काटेर पठाएको अविभावक महतोले बताए ।
यसअघि पनि उक्त विद्यालयले शिक्षा नियमावलीविपरित नामांकन, परीक्षा, रजिस्ट्रेसन, सर्टिफिकेट, विकास लगायतका शिर्षकहरुमा गैरकानुनी रुपले विद्यार्थीहरुसँग रकम असुलीसकेको छ । शुल्क नबुझाएको खण्डमा परिक्षामा फेल गरिदिने खालका धम्की दिएर विद्यार्थीहरुसँग पैसा असुल्दै आएको अविभावकहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्