माओवादीले टुंग्याउन सकेन मन्त्रीको नाम «

माओवादीले टुंग्याउन सकेन मन्त्रीको नाम

सरकारमा कसलाई पठाउने भन्ने विषयमा माओवादी केन्द्र अनिर्णित भएको छ । पार्टीको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्री बनाउने व्यक्ति छनोट गर्न सकेन । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि माओवादीबाट जनार्दन शर्मा र फम्पा भुसाल मन्त्री बनेका छन् । तर, अन्यको नाम टुंगो लागेको छैन । माओवादी केन्द्रको भागमा ६ वटा मन्त्रालय पर्नेछन् ।
अबको गठबन्धन मुख्यतः सरकारका नीति योजना काम कारबाहीमै नै केन्द्रित गर्ने विषयमा बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले भने, ‘यसअघि जेजस्ता काम भए ती नदोहोरिऊन् भन्ने हाम्रो छ ।’ माओवादीले गठबन्धनका पार्टी मिलेर साझा कार्यक्रम तय गर्न आह्वान गरेको छ ।
स्थायी कमिटी बैठकले साउन २० मा केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यसअघि साउन १७ मा स्थायी कमिटी बैठक बसेर केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।
यसअघि स्थायी कमिटी सदस्य गणेश शाहले सरकारमा क–कसलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाइएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्