आयोजनाको म्याद एक वर्ष थप्न निर्माण व्यवसायीको माग «

आयोजनाको म्याद एक वर्ष थप्न निर्माण व्यवसायीको माग


नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना समस्या र समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्ती शेरबहादुर देउवालाई भेटेर महासंघ प्रतिनिधिमण्डलले अघिल्लो सरकारले ल्याएका बजेट कार्यान्वयनको माग गर्दै पूरक बजेट ल्याइएमा त्यसमा पनि निर्माण व्यवसायीहरूको माग सम्बोधन गरिदिन आग्रह गरेको हो ।
महासंघसँगको छलफलमा प्रधानमन्त्री देउवाले व्यवसायीहरूका समस्या अध्ययन गरी समाधान गर्ने बताए । महासंघले बजेटसँग सम्बन्धित म्याद थप, धरौटी रकम फिर्ता लगायतका विषयमा प्रधानमन्त्री देउवा समक्ष लिखित सुझाव पेश गर्दै कार्यान्वयनका लागि आग्रह गरेको हो । महासंघले आर्थिक वर्ष २०७८-०७९ को बजेट वक्तव्यमा उल्लेख भएको व्यवस्थाअनुसार निर्माण आयोजनाहरूको ६ महिना म्याद थप हुने व्यवस्था भएपनि कोरोनाका कारण काम गर्न नसकेको भन्दै थप एक वर्ष म्याद थपको माग गरेका छन् ।
गत वर्षको चैत ११ गतेदेखि लकडाउन र तत्पश्चात् २०७७ माघ ११ गते म्याद थपको लागि भएको नीतिगत निर्णयबाट समेत म्याद थपको समस्या समाधान नभई दुई सिजनमा गरी करिब ५ हजार आयोजनाहरु प्रभावित भएको भन्दै महासंघले ती आयोजनाहरुको लागि म्याद थपको निर्णय भएको मितिभन्दा अगाडि म्याद समाप्त भएका सबै आयोजनाहरुको लागि निर्णय मितिबाट गणना हुने गरी स्वतः एक वर्ष म्याद थप गरिनु पर्ने माग राखेको हो ।
संसदमा संशोधनका लागि दर्ता भएको सार्वजनिक खरीद ऐनको दोस्रो संशोधन व्यवसायीमैत्री बनाउनका लागि सरोकारवालाहरू संलग्न विज्ञ टोली गठनका लागि महासंघले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।
यस्तै व्यवसायीहरूको ठूलो भुक्तानी रोकिएकाले तत्काल भुक्तान गरिदिन पनि महासंघले आग्रह गरेको छ । यसबाहेक महासंघले शुल्क जरिवाना तथा दस्तुर मिनाहा, पुनर्कर्जा, निःशुल्क बैंक ग्यारेण्टी नविकरण लगायतका विषयमा पनि महासंघले लिखित सुझाव प्रधानमन्त्रीलाई बुझाएको छ ।
महासंघले विकास निर्माण कार्यमा खटिने व्यवसायीसहित तीनका कामदार तथा श्रमिकहरूलाई कोरोनाको खोप लगाउने व्यवस्था मिलाउनु पर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्