झापामा व्यावसायिक मेवा खेती सुरु «

झापामा व्यावसायिक मेवा खेती सुरु

झापा-झापाको अर्जुनधारा नगरपालिकाका–१० का किसानले व्यावसायिक मेवा खेती सुरु गरेका छन् । सिँचाइको अभावमा वर्षौंदेखि बाँझो रहेको ४ विगाहाभन्दा बढी जग्गामा किसानले मेवा खेती गरेका हुन् ।
“तराईको भूभाग भए पनि केही अग्लो स्थान भएकाले पानीको अभाव थियो । ४ बिगाहभन्दा बढी जमिन वर्षौंदेखि बाँझो थियो । छिमेकीको बारीमा बाली पाक्दा आफ्नो बारी मरुभूमि जस्तो देखिने गरेकोमा दिक्क लाग्ने गरेको थियो,” प्रेमसागर सापकोटाले भने, “जमिनबाट उत्पादन लिन नसकेपछि बेच्ने सोचाइ बनाइरहेका बेला मेवा खेती गर्ने प्रेरणा मिलेपछि व्यवसाय सुरु गरेका हौं ।” सापकोटाको ४ बिगाहा १० कठ्ठा जमिन त थियो तर केही उत्पादन हुने थिएन । बालीनाली लगाउने र आम्दानी लिने सोच त उनमा थियो । तर, पानीको अभावका कारण केही उत्पादन गर्न नसकेको उनले सुनाए । “जग्गा सदुपयोग गर्नेबारेमा म आफैं अन्योलमा थिएँ,” उनले भने, “अर्जुनधारा कै बुद्धि भट्टराईले सामुहिक मेवा खेती गर्न आग्रह गरेपछि व्यवसाय सुरु गरिएको हो ।” सापकोटाको सहमतिसँगै वार्षिक २ लाख रूपैयाँ भाडा तिर्ने सर्तमा जमिन भाडामा लिइयो । भट्टराईले बनाएको योजनामा सापकोटासँगै बिर्तामोडका ज्ञानुराम प्रसाई, बलबहादुर तामाङ, बुद्धिराम भट्टराई पनि मिले र सामुहिक मेवा खेती गर्ने निष्कर्षमा पुगे ।
मेवा खेती गर्ने योजना त बन्यो । तर, आफूले छनोट गरेको जमिनमा कस्तो बिउ उपयुक्त हुन्छ ? कहाँ पाइन्छ ? कहिले रोप्दा राम्रो उत्पादन लिन सकिन्छ ? लगायतका प्राविधिक ज्ञानको अभाव सुरुवाती चरणमा रहेको सापकोटा सुनाउँछन् । कुन मलको प्रयोग गर्दा ठीक भन्ने पनि आफूहरूलाई थाहा नभएको उनले बताए । “हामीले खेती गर्ने योजना मात्र बनाएका थियौँ, आवश्यक ज्ञान थिएन,” उनले भने । समूहका सदस्य भट्टराईले मेवा खेतीका बारेमा अध्ययन सुरु गरेपछि योजना सफल भएको उनले बताए ।
अध्ययनपछि जापानमा ‘हाइब्रिड’ मेवाको बीउ उपयुक्त हुने पत्ता लाग्यो र त्यही बिरुवा रोप्ने सहमति भएको उनीहरू बताउँछन् । जापानबाट बीउ ल्याउँदा प्रतिकेजीे १२ लाख रूपैयाँ लाग्ने थाहा पाएपछि उक्त बीउ सस्तोमा कहाँ पाइन्छ भन्ने विषयमा अध्ययन सुरु गरे उनीहरूले । सोही बीउ भारतको सिलिगुडीमा प्रतिकेजी ५ लाख रूपैयाँ पाइने थाहा पाए । बीउ खरिद गर्न समूहका सदस्य सहमत भएसँगै मेवा खेती गर्ने योजना सफल भयो । असारमा जमिन जोत्ने र बोरिङ गाड्ने काम सुरु गरेको सापकोटाले बताए । मेवाको बीउ नर्सरी गरेर जमिनमा सारियो । चार महिनाको यस अवधिमा अहिले फल लाग्न सुरु भएको छ ।
झापाको माटो मेवा खेतीका लागि उर्वर रहेको लगानीकर्ता बताउँछन् । दोमट र चिम्ट्याइलो कालोमाटोमा मेवा फस्टाउने भएकाले झापाको अधिकांश ठाउँ मेवाखेतीका लागि उपयुक्त रहेको सापकोटाको भनाइ छ । उनीहरूको मेवा खेती हेर्न दैनिक धेरै मानिस आउने गरेका छन् । कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा मेवाको व्यावसायिक खेती सुरु गरेको लगानीकर्ता बताउँछन् । मेवा खेतीमा दैनिक ५ जनाले रोजगारी पाएका छन् । खेतीमा औसत ४ किलो दरका मेवा फलेका छन् । लगानीको प्रतिफल मिलेको भन्दै यतिबेला लगानीकर्ता उत्साहित भएका छन् । भट्टराई पहिलेदेखि नै कृषिकर्ममा लागेका कारण व्यवसाय सफल बन्न सहयोग पुगेको ज्ञानु प्रसाईं बताउँछन् । भट्टराईको नाम कृषि क्षेत्रमा नौलो होइन । उनी यसअघि झापाको मेची खोलाको बगरमा काँक्रा र खरबुजाको नमुना खेती गरेर मेचीनगर नगरपालिकाबाट पुरस्कृत भइसकेका छन् ।
झापाको अन्य स्थानमा मेवाको व्यावसायिक खेती हुन सकेको छैन । एकपटक रोपेको मेवाले लगातार तीन वर्षसम्म उत्पादन दिने गर्दछ । प्रतिबोट औसत १५० केजीसम्म मेवा उत्पादन गर्न सक्ने बीउ उत्पादक कम्पनीले जानकारी दिएको लगानीकर्ता सापकोटा बताउँछन् । “अहिलेसम्म २५ लाख रूपैंयाँ लगानी भइसकेको छ,” उनले भने, “बिउ उत्पादक कम्पनीले १ करोड रूपैयाँमा सबै मेवा ठेक्का लिन प्रस्ताव गरेको थियो तर, नेपाली उत्पादन नेपालमा नै बिक्री गर्ने योजना बनाइएको छ ।”
अबको दुई महिनामा मेवा पाक्न सुरु हुन्छ । मेवाबाट जुस, साबुन, पेष्टलगायतका सामग्री समेत निर्माण हुने गर्दछ । उद्योग स्थापना गरेर उत्पादनलाई प्रबद्र्धन गर्न सरकार समक्ष अनुरोध गरेको बताइएको छ । तर, सरकारको ध्यान पुग्न नसकेकाले उत्पादक यतिबेला अस्पताल, विद्यालय, बजारलगायत स्थानमा पुगेर मेवाको उपभोग गर्दा हुने फाइदाबारे जनचेतना फैलाउन बाध्य छन् । उनीहरूले स्टल राखेर बिक्री गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्