भैरहवा भन्सारद्वारा एक खर्ब १२ अर्ब ५४ करोड राजस्व असुल «

भैरहवा भन्सारद्वारा एक खर्ब १२ अर्ब ५४ करोड राजस्व असुल

भैरहवा-कोरोना संक्रमणका बाबजुद भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्य भन्दा १३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ ।
भैरहवा भन्सार कार्यालयले बिगतका २ आर्थिक वर्षमा विभागले दिएको राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको थिएन् । गत आर्थिक वर्ष भने लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले बताए ।
“विगतका वर्षका तुलनामा गत आर्थिक वर्षको अन्तिम ६ महिनामा (जेठ बाहेक) आयात राम्रो भयो र आयात अनुसार र लक्ष्य भन्दा बढी राजस्व संकलन हुँदा वार्षिक लक्ष्य पूरा गर्न सजिलो भयो” सूचना अधिकारी पासवानले भने । त्यसै गरी एमएस ब्लेड, मोटरसाइकल तथा सिंगल क्याब गाडीको आयात समेत यो बेलहिया नाकाबाट बिगतमा भन्दा बढी हुँदा लक्ष्य अनुसार राजस्व संकलन भएको पासवानले जनाए ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७७-०७८का लागि भन्सार विभागले भैरहवा भन्सार कार्यालयका लागि ९९ अर्ब ६५ करोड ७६ लाख ८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा एक खर्ब १२ अर्ब ५४ करोड २५ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । यो कुल लक्ष्यको ११३ प्रतिशत हो ।
कार्यालयले साउनमा १०० प्रतिशत, भदौमा ९९, असोजमा ११५, कात्तिकमा ११६, मंसिरमा १०२, पुसमा ९७, माघमा १४३, फागुनमा १३५,चैतमा १६६, वैशाखमा १०१, जेठमा ५८ र असारमा १३७ प्रतिशत राजस्व संकलन गरेको थियो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा लक्ष्यको ६६ प्रतिशत मात्र पूरा गरेको थियो । सो वर्ष १ खर्ब ६ अर्ब ८८ लाख ८६ हजार रुपैयाँ लक्ष्य रहेकोमा ७० अर्ब २९ करोड १५ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७५-०७६ मा लक्ष्यको ८८ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो । सो वर्ष ९३ अर्ब ९५ करोड ९७ लाख ७३ हजार रुपैयाँ लक्ष्य रहेकोमा ८२ अर्ब ३० करोड ५३ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्