५२ व्यवसायिक फर्म कारबाहीमा «

५२ व्यवसायिक फर्म कारबाहीमा

विराटनगर-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विभिन्न व्यावसायिक फर्मलाई कारबाही गरी १९ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा ५२ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७-०७८ मा २ सय २ वटा फर्म अनुगमन गरेकोमध्ये कैफियत भेटिएका ५२ वटा फर्मलाई कारबाही गरेको हो । कारबाहीमा परेका उद्योग र पसलहरू रहेका छन् । गत वर्ष २२ वटा फर्म कारबाही गरेको थियो भने आर्थिक वर्षमा झण्डै तेब्बर कारबाहीमा परेका हुन् । गत आर्थिक वर्षमा वाणिज्य कार्यालयले ठूला सम्पिङ सेन्टरहरूलाई पनि कारबाहीको दायरमा ल्याएको छ । म्याद गुज्रिएको खाद्यवस्तु बिक्री वितरण गर्नेदेखि खरिद गरेको भन्दा अत्याधिक मुनाफा गरी कालोबजारी गर्नेसम्म ठूला सम्पिङ सेन्टरहरूलाई वाणिज्य कार्यालयले कारबाहीको दायरमा ल्याएको वाणिज्यका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । “उपभोक्ता ठग्ने सबै व्यावसायिक फर्मलाई हामीले कारबाही गरेका छौं,” पोखरेलले भने, “ठूला साना सबैलाई कारबाहीको दायरामा ल्याउँदा उपभोक्तामा वाणिज्य कार्यालयप्रतिको विश्वास बढेर गएको छ ।”
आर्थिक वर्षमा १ हजार ८ सय ३९ वटा नयाँ फर्म दर्ता भएका छन् । नविकरण- संशोधन ३ हजार ३ सय ६ र खारेजी २ सय वटा फर्म भएको वाणिज्य कार्यालये जनाएको छ । प्रदेश १ का १४ जिल्ला कार्यक्षेत्र भए पनि विगतका वर्षहरूमा मोरङमा मात्र वाणिज्यले अनुगमन गर्दै आएको थियो । तर गत आर्थिक वर्षमा मोरङबाहेक झापा, सुनसरी, धनकुटा, इलाम, उदयपुर र पाँचथरमा पनि अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्