कर्जा लगानी वृद्धिले गार्हस्थ्य उत्पादनमा सहयोग «

कर्जा लगानी वृद्धिले गार्हस्थ्य उत्पादनमा सहयोग

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी वृद्धि हुनु भनेको अर्थतन्त्र चलायमान हुनु हो । नेपालले उदार आर्थिक नीति अबलम्बन गरेपछि निजी क्षेत्रलाई उद्यमशील बन्न बैंक तथा वित्तीय संस्थाले नै सहयोग गरेका हुन् । अर्थतन्त्रमा चाहिने वित्तीय मध्यस्थताको कार्य गर्न बैंक तथा वित्तीय संस्था खोल्ने कार्यमा सरकारले खुलापन ल्याएपछि निजी क्षेत्रको लगानी पनि बढ्यो भने नागरिकको वित्तीय पहुँच पनि बढ्दै गयो, जसका कारण नेपालमा उद्यमशीलता फस्टाउने अवसर पाएको छ । एउटा नागरिकको बचत अर्को नागरिकले बैंक तथा वित्तीय क्षेत्रमार्फत परिचालन गर्दा अर्थतन्त्र चलायमान भएका कारण नै आज मुलुकमा उद्यमहरू खुल्न सकेका छन् र मुलुकभित्रै रोजगारी पनि सिर्जना भएको छ । यदि बैंक तथा वित्तीय संस्थाले आफ्नो पहुँच तथा दायरा विस्तार गर्ने अवसर नपाएका भए मुलुकभर उद्यमशीलता फस्टाउने अवसर हुने थिएन । सरकारको लगानीबाट मात्रै कुनै पनि मुलुकमा उद्यमशीलता फस्टाएको छैन, न त रोजगारीका अवसर सिर्जना भएको छ । त्यसैले, २०४६ सालपछिको उदारीकरणले ल्याएको खुला अर्थनीतिका कारण बैंक तथा वित्तीय संस्थाहरू खुल्ने क्रम वृद्धि हुँदै गएका कारण उत्पादन, उद्यमशीलता तथा आर्थिक गतिविधि बढ्दै गएको हो भन्ने कुरामा कुनै सन्देह छैन । हाल मुलुकमा भएका धेरै उद्योगधन्दा तथा कलकारखाना मात्र होइन, ससाना पसलदेखि ठूला–ठूला सपिङ मललगायतका आर्थिक गतिविधिका पछाडि बैंक तथा वित्तीय संस्थाको ठूलो योगदान छ ।
तर, पछिल्ला करिब दुई वर्षदेखि कोरोनाका कारण अर्थतन्त्र शिथिल भएको छ । किनकि नेपालमात्र नभएर विश्वका करिब–करिब सबै मुलुक अझै बन्दाबन्दीको अवस्थामा छन् । कोरोना कहरका कारण उद्योगधन्दा पनि बन्द भएका छन् । घरेलु, साना, मझौलादेखि ठूला उद्योगसम्म कोरोना कहरका कारण अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । हाल केही उद्योग सञ्चालनमा रहे पनि पर्यटन तथा हवाई एवं स्थल यातायात पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । तर, कोरोना कहरका कारण आर्थिक गतिविधि सुस्ताएको अवस्थामा पनि बैंकहरूको लगानी भने दोब्बरले वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षसम्ममा बैंकहरूको कुल कर्जा ३७ खर्ब २१ अर्ब पुगेको छ । साथै, गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँले वृद्धि भएको छ, जुन अघिल्लो वर्ष ६ खर्ब १५ अर्ब रुपैयाँले बढेको थियो । वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेप बढ्नुको कारण नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कोभिड प्रभावित उद्योगी–व्यवसायीको कर्जा पुनर्संरचना गर्न पाउने सुविधा मानिएको छ । यही सुविधा प्रयोग गर्दै बैंकहरूले कोभिड प्रभावित कर्जाको पुनर्संरचना गर्दा ऋण विस्तार भएको मानिएको छ ।
साथै, सरकारले कोभिड प्रभावित उद्योगी–व्यवसायीलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाका साथै व्यवसाय निरन्तरता कर्जासमेत दिएका कारण पनि कर्जा विस्तार भएको देखिन्छ । किनकि २०७८ जेठ मसान्तसम्ममा १ खर्ब ४८ अर्ब ३५ करोड सहुलियत दरको पुनर्कर्जा स्वीकृत भएकोमा १ खर्ब २७ अर्ब ९ करोड लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि २०७८ जेठ मसान्तसम्ममा ८२ करोड २४ लाख कर्जा स्वीकृत भएको छ । यसका साथै कुनै–कुनै बैंकहरूले आफ्नो वित्तीय अवस्था राम्रो देखाउनका लागिसमेत नयाँ शीर्षकमा छोटो अवधिका ऋण दिएको हुन सक्ने पनि देखिएको छ । तसर्थ, केन्द्रीय बैंक चनाखो भएर वित्तीय जोखिमबारे निरन्तर अनुगमन गर्नु पनि आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्