सार्क गतिशीलताको सन्दर्भ «

सार्क गतिशीलताको सन्दर्भ

saarc

हरेक समस्याको सामूहिक हिसाबले समाधान गर्ने उद्देश्यका साथ स्थापना भएको सार्क पछिल्लो समय निकै सुस्त र निष्काम भएको थियो । आज विश्व नै कोरोनाले त्रसित भएको बेलामा सार्कमा सहभागी सबै देश मिलेर यो समस्याको समाधान गर्ने वाचा मोदीले भिडियो कन्फरेन्सबाट गरे । सन् १९८५ डिसेम्बरमा विधिवत् स्थापना गरिएको संगठनलाई पुनः गतिशील बनाई मिलेर कार्य गर्ने खबरले आमजनमानसमा खुसी छाएको थियो । विगतका तीतामीठा घटनालाई भुलेर एक भई अगाडि बढ्ने काम एकदमै उत्तम हो ।
कोरोनाविरुद्ध लड्नका लागि एक आर्थिक कोष निर्माण गरी अगाडि बढ्नका लागि १ करोड अमेरिकी डलरबराबरको रकम राख्ने घोषणा गरेका मोदी पुनः मौन रहेका छन् । वर्तमान समयमा कोरोनासँग जुध्न ठूलो आर्थिक अभावको सामना गर्नुपर्ने अवस्था छ । दूरदर्शी राजनेताले संकटका समयमा आमनागरिकको मन जित्ने गरी कार्य गर्नुपर्छ । त्यसमा पनि दक्षिण एसियाली सहयोग संगठन बढी महत्वपूर्ण भएको छ । मूलतः भारतसँग हामो धर्म चालचलन, रहनसहन आदि धेरै मिल्ने भएकाले पनि धेरै निकटको सम्बन्ध रहेको छ । खासगरी भारत र पाकिस्तानबीचको सम्बन्धका कारणले समयमा नै नियमित सम्मेलन हुन नसकिरहेको अवस्थामा अब पुनः सार्कलाई गतिशील बनाउने जुन पहल भएको थियो, त्यो अत्यन्तै सकारात्मक कदम पनि निश्चय नै थियो ।
भारतीय र भुटानीबीच पनि त्यस्तै सम्बन्ध रहेको छ । आपसी सम्बन्ध र सद्भावको विस्तार गर्दै मिलेर कुनै पनि समस्याको समाधान गर्ने जुन उद्देश्य हो, सो सराहनीय थियो । सार्कको सिद्धान्तहरू पनि महत्वपूर्ण रहेका छन् । क्षेत्रीय संगठनबाटै एकताको विकास गरी अगाडि बढ्ने उद्देश्यलाई व्यवहारमा उतार्नका लागि सबै सदस्य एक हुनु जरुरी हुन्छ । अहिलेको जटिल अवस्थामा मिलेर कोरोनासँग लड्न सक्दा एउटा गतिलो उदाहरणसमेत हुने थियो, जुन समस्त विश्वलाई नवीन पाठ पनि बन्ने थियो । ससाना विवादमा अलमलिएर महत्वपूर्ण संगठनलाई गतिहीन बनाइराख्नु उचित हुँदैन । आठवटै देश आपसमा मिलेर भाइचाराको सम्बन्धको विकास गर्दै एकताबद्ध हुनु आजको आवश्यकता पनि हो । पछिल्लो समय सार्क अत्यन्तै सुस्त हुँदै गएको सन्दर्भलाई मनन गर्दै यस्तो असहज परिस्थितिमा संगठित रूपमा समस्याको समाधान गर्नु सबैका लागि हितकर हुन्छ । सार्कका सिद्धान्तअनुसार सार्वभौम समानताको आदर प्रादेशिक अखण्डता र राजनीतिक स्वतन्त्रता तथा अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र पारस्परिक लाभको सिद्धान्तमा आधारित हुने जस्ता सवालहरू समेटिएका छन् । जुन सहयोग दुईपक्षीय वा बहुपक्षीय सहयोगको विकल्पका रूपमा होइन, त्यसको पूरकका रूपमा हुनेछ ।
दक्षिण एसियाका जनताको हितलाई अभिवृद्धि गर्नु र तिनीहरूको जीवनस्तरमा सुधार ल्याउनुका साथै यस क्षेत्रमा आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक विकासलाई वृद्धि गर्नु तथा सबैलाई सम्मानका साथ बाँच्ने अवसर आपसमा दिनुपर्छ भन्ने देखिन्छ । आपसी समझदारी कायम गरी एकअर्काको समस्यालाई बुझेर पारस्परिक विश्वास बढाउँदै लैजानुपर्छ । त्यसैगरी आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक विकासमा जोड दिँदै सहयोग अभिवृद्धि गर्नु आजको आवश्यकता पनि हो । समान हितका विषयमा अन्य देशसँग मिलेर आपसी सहयोगलाई मजबुत बनाउँदै बहुपक्षीय चासोका विषयलाई जोडदार रूपमा उठाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ । सार्कको बडापत्रअनुसार यो संगठन राजनीतिक विवादबाट टाढा रहनुपर्छ । तर, व्यवहारमा भने आन्तरिक विवादकै कारणले पटक–पटक बैठक स्थगित भएका धेरै उदाहरण पाइन्छन् । कतिपय सन्दर्भमा राजनीति हावी भएरै सम्बन्ध विच्छेद भएको देखिन्छ । मूलतः भारत र पाकिस्तानबीचको आपसी सम्बन्ध नमीठो भइरहने समस्याले गर्दा नै पटक–पटक सम्बन्धमा चिसोपन आएको देखिन्छ । हाल नेपाल र भारतबीच सीमा विवाद पुनः चर्चामा रहेको छ । हरेक हिसाबले भारत र नेपालको सम्बन्धलाई सुमधुर राख्नका लागि वार्ताबाटै पहल गर्नुपर्छ । यी दुई देशको सम्बन्ध छिमेकीको मात्र नभई विविध र बहुआयामिक रहेकाले पनि थप गम्भीर भएर सौहार्दपूर्ण वातावरण निर्माण गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्