औद्योगिक समृद्धिको मूल मन्त्र र राजनीतिक स्थायित्व «

औद्योगिक समृद्धिको मूल मन्त्र र राजनीतिक स्थायित्व

ऊर्जाशील औद्योगीकरणको अवधारणाले मात्र धेरै हदसम्म स्वदेशी उद्योगको संवद्र्धन, प्रवद्र्धन तथा विकासमा थप सहयोग पुग्ने अवस्था प्रारम्भ हुने देखिन्छ ।

आर्थिक समुन्नतिको प्रतिफल केवल कृषिक्षेत्रमा मात्र देख्ने परम्परागत व्यावसायिक सोचलाई एक्काइसौं शताब्दीअनुरूप परिष्कृत, परिमार्जित एवं व्यवस्थित गर्न जरुरी भइसकेको छ, जसको उपयुक्त विकल्प भनेको समुच्च औद्योगिक क्षेत्रको विकासको सम्भावनालाई लिन सकिन्छ । किनकि ऊर्जाशील औद्योगीकरणको अवधारणाले मात्र धेरै हदसम्म स्वदेशी उद्योगको संवद्र्धन, प्रवद्र्धन तथा विकासमा थप सहयोग पुग्ने अवस्था प्रारम्भ हुने देखिन्छ । प्रस्तुत तथ्यगत आर्थिक समृद्धिको अवधारणालाई मूल मन्त्र मान्दै सुरक्षित एवं अनुशासित रहँदै व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउने हो भने हाम्रा स्वदेशी उद्योगहरू निश्चित रूपमा मुलुकको आर्थिक समृद्धिका धरोहरको रूपमा अग्रणी भूमिका निर्वाह गर्न पूर्ण रूपले सक्षम रहनेछन् भन्ने विश्वास लिन सकिनेछ ।
अन्यथा, औद्योगीकरणको परिकल्पना साकार तुल्याउन असहजताको परिस्थिति निर्माण हुने देखिन्छ । तसर्थ, सम्बद्ध क्षेत्रको विकासका लागि अति आवश्यक तत्व मानिएको पुँजी निर्माणको आधारभूत स्रोत एवं लगानी प्रवद्र्धनलाई बढावा दिँदै कार्यान्वयनमा ल्याउनु जरुरी छ, जसका लागि सहुलियतपूर्ण कर्जा विकासको अवधारणामा आधारित रहँदै लगानीमैत्री वातावरणको निर्माणले यस क्षेत्रको विकासको सम्भावनालाई मूर्त रूप धारण गर्ने सक्ने अवस्था तयार पार्नेछ भन्न सकिन्छ ।
तदुपरान्त, न्यून लागत खर्च एवं ज्यालाको उच्चतम सदुपयोग गर्दै अत्यधिक मुनाफा आर्जन गर्न सहयोग पुग्नेछ । परिणामतः स्वदेश एवं वैदेशिक निर्यातको क्षेत्रमा उत्साहजनक प्रगति हासिल गरी लगानीमैत्री वातावरणलाई थप ऊर्जा प्रदान गर्न सहयोगीको भूमिका निर्वाह गर्ने कुरामा हामी कसैको पनि दुईमत रहनेछैन । प्रस्तुत प्रवृत्तिको विकासले प्रविधिमैत्री अब्बल दक्ष जनशक्ति तथा औद्योगिक उत्पादन क्षमता विकासमा अलौकिक सफलता हासिल गर्नुका साथै आर्थिक विकास एवं समृद्धिको मूल मन्त्रलाई यथार्थमा साकार पार्नेछ ।
जसको सफल प्रयोगले हालसम्म विश्वमा न्यूनतम ज्यालामा श्रम बेच्ने नेपाली संस्कृतिलाई सदाका लागि अन्त्य गर्दै स्वदेशी श्रम स्वदेशमा नै खर्चिने लगानीयोग्य वातावरणको अभ्युदय भई निश्चित रूपमा औद्योगीकरणलाई टेवा पुग्नेछ भन्दा त्यति अत्युक्ति नहोला, जसलाई श्रम आत्मनिर्भरताको सकारात्मक परिणाम मान्न सकिन्छ । जसको विकासले गुणस्तरीय वस्तु तथा सेवाको सम्भावनाका साथै वैदेशिक मुद्रा आर्जनको क्षेत्रमा उल्लेख्यनीय सफलता प्राप्त गर्न कुनै किसिमको कठिनाइ भोग्नुपर्ने अवस्था रहँदैन ।
प्रस्तुत कार्यको विकासले हाल प्राप्त भएको वैदेशिक विप्रेषणको दरको अनुपातमा अत्यधिक वैदेशिक मुद्रा सहजै मुलुकभित्रबाट नै सञ्चित गर्ने अवस्था आरम्भ गर्न स्वदेशी उद्योगहरू खरो रूपमा सबल एवं सक्षम रहन्छन् भन्ने तथ्यलाई व्यावहारिक रूपमा समेत प्रमाणित गर्नेछ ।
औद्योगिक समूह आएको प्रस्तुत परिणामजन्य कारक तत्व विशेषले देखाएको स्पट दिग्दर्शन भनेको रोजगारीबिनाको आर्थिक विकास र समृद्धिको गन्तव्यलाई सफतापूर्वक चिर्दै आत्मसम्मानसहितको स्वदेशी रोजगार एवं श्रम विकासको सम्भावनालाई निश्चित रूपमा जीवन्त तुल्याउने कार्यगत एकतामा स्वदेशी उद्योगले अग्रणी भूमिका निर्वाह गर्न कुनै प्रकारको कसर बाँकी राख्ने छैनन् भन्न सकिन्छ । प्रस्तुत कार्य त्यतिबेला पूर्ण रूपले सम्भव रहन्छ, जति बेला उद्योगमैत्री लैङ्गिक समानताको मूल मर्मलाई आत्मसात् गर्दै श्रमको आधारमा लैङ्गिक विभेदको अवधारणालाई त्याग्ने प्रयास गरिन्छ । यो यस्तो सुखद कडी हो, जसले दक्षता, सीप र रोजगारको क्षेत्रमा आमूल परिवर्तनको प्रत्याभूति कायम गर्नेछ ।
जसबाट मुलुकको औद्योगिक छवि उच्च रहनुका साथै आर्थिक विकास र समृद्धिका लागि नयॉ, नौलो र आवश्यकताको सिद्धान्तमा आधारित गुणस्तरीय वस्तु तथा सेवा पस्कने कार्यमा स्वदेशी उद्योगहरू तयारी अवस्थामा रहेका छन् भन्ने सन्देश प्रवाह हुने देखिन्छ ।
यस क्षेत्रमा सकारात्मक परिणाम प्राप्तिका लागि आर्थिक विकासको लक्ष्यअनुसारको गुरुयोजना छनोट गरी संघीय राज्यको अवधारणाअनुसार मुलुकको सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्ने कार्यलाई प्रमुख प्राथमिकता राखेर कार्ययोजनालाई अगाडि बढाउनुपर्ने हुन्छ । यस प्रकारको कार्यको विकासले औद्योगिक समृद्धिलाई गति प्रदान गर्नेछ । साथै उच्चस्तरको औद्योगिक प्रतिफल प्राप्तिका लागि आर्थिक विकासका दृष्टिले पछाडि परेका क्षेत्र पहिचान गरी व्यवस्थित गर्न आवश्यक पर्ने कार्यतालिका निर्माणलाई पहिलो प्राथमिकता राखी कार्यान्वयनलाई अगाडि सार्नुपर्ने हुन्छ । साथै, कोभिड–१९ का कारण ऋणात्मकतातर्फ उन्मुख रहँदै आएको अर्थतन्त्रलाई प्राण भर्ने कार्यमा उत्साहजनक नतिजा हासिल गर्न सहयोग पुग्नेछ ।
एक्काइसौं शताब्दीको प्रविधिमैत्री युगलाई स्वदेशी उद्योगले व्यवहारतः स्वीकार गरी प्रविधि र उपलब्धताको उचित सदुपयोग तथा मूल्यांकनका आधारमा औद्योगिक प्रतिष्ठानहरूले आफ्नो कार्यक्षेत्रभित्र समाहित गर्ने हो भने मनग्य लाभ हासिल गर्ने अवस्था प्रारम्भ भइसकेको हुँदा कुनै पनि पक्षले विलम्ब नगरी व्यवहारमा उतार्नुपर्ने हुन्छ । समृद्धि र विकासका लागि औद्योगीकरणको मूल मन्त्रलाई आत्मा साक्षी राखी मन, वचन र कर्मले लागू गर्नु समयको माग हो । नयाँ–नौलो अन्वेषण र सम्भावनाको ढोका खोल्न सकिने प्रशस्त सम्भाव्यताहरू जीवन्त रहेको भन्ने औद्योगिक मूल्य–मान्यताले औद्योगीकरणको यात्रालाई सहजीकरणतर्फ डो-याएर लैजानेछ भन्ने विश्वास रहँदै आएको छ ।
तर, यसका लागि केवल मेहनत र दृढ आत्मशक्तिलाई क्रमभङ्ग नगरीकन निरन्तरताको सदैव खाँचो रहन्छ । जुन मुलुकको शान्तिपूर्ण राजनीतिक स्थायित्वमा पूर्ण रूपले निर्भर रहने तत्व हो । शान्तिपूर्ण स्थायित्वले समृद्धिको परिकल्पनालाई वास्तवमै जीवन्त तुल्याउनेछ, जसको सुखद पक्ष भन्नु नै सुमधुर रूपमा औद्योगिक सञ्चालनको वातावरण तयार हुनु हो ।
परिणामतः उत्पादन क्षमताको विश्वनीयताका आधारमा स्वदेशी उद्योगले आफ्नो उत्पादकत्वमा उल्लेख्य मात्रामा अभिवृद्धि गर्दै समृद्धिको मूल मन्त्र रहँदै आएको औद्योगिक कार्ययोजनालाई क्रमशः अगाडि बढाउने प्रयत्न गर्ने हो भने निश्चित रूपमा विकसित औद्योगिक राष्ट्रको समकोटीमा नेपालले आफ्नो छुट्टै छवि बनाउन सक्षम रहनेछ भन्ने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्