८९ अर्बको कृषिजन्य वस्तु आयात, निर्यात ११ अर्ब «

८९ अर्बको कृषिजन्य वस्तु आयात, निर्यात ११ अर्ब

५ महिनामा ८९ अर्ब ४० करोड ९६ लाख ५७ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तुको आयात भएको छ । सो अवधिमा नेपालबाट ११ अर्ब ४३ करोड ५३ लाख ५२ हजार रुपैयाँको कृषिजन्य वस्तुको निर्यात भएको छ ।

 कृषि प्रधान मुलुकले पछिल्लो पाँच महिनामा ८९ अर्बको कृषिजन्य वस्तु आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि सो रकम बराबरको कृषिजन्य वस्तुको आयात गरेको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार ५ महिनामा ८९ अर्ब ४० करोड ९६ लाख ५७ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तुको आयात भएको छ । सो अवधिमा नेपालबाट ११ अर्ब ४३ करोड ५३ लाख ५२ हजार रुपैयाँको कृषिजन्य वस्तुको निर्यात भएको छ । चालू आर्थिक वर्षमा धानको उत्पादन ९ प्रतिशतले बढे पनि खाद्यान्नको आयात भने कम हुन सकेको छैन । पाँच महिनामा चामल, मकै, गहुँको आयात ठूलो परिणामा भएको तथ्यांकले देखाएको छ ।
कृषिजन्य वस्तुको आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न सकेको छैन । स्वदेशी उत्पादनको लागत महँगो भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, गुणस्तरीय वस्तु उत्पादन नहुनुले निर्यात बढ््न सकेको छैन । अर्थविद् डा. पोषण पाण्डे निर्यात बढाउनका लागि गुणस्तरीय वस्तु ठूलो परिणामा उत्पादन गर्नुुपर्ने बताए । “मुलुकमा आयात बढ्दै गए पनि हामीले निर्यात बढाउन सकेको छैनौं,” उनले भने, “कृषिजन्य उत्पादनलाई प्रतिस्पर्धी गराउन सके आयात कम गर्न सकिन्छ ।”
केन्द्रका अनुसार पाँच महिनामा १३ अर्ब ५८ करोड ४ लाख ३२ हजार रुपैयाँ बराबरको चामल आयात भएको छ । चालू आर्थिक वर्षमा ५६ लाख मेट्रिक टन धानको उत्पादन भएको कृषि विकास मन्त्रालयले जानकारी दिएको छ । यस्तै ६ अर्ब ९८ करोड ८० लाख ४० हजार रुपैयाँ बराबरको तरकारी आयात भएको केन्द्रको तथ्यांक छ । यस्तै ५ अर्ब ७१ करोड ६० लाख ८६ हजार रुपैयाँको फलफूल, ५ अर्ब १९ करोड ११ लाख ५७ हजार रुपैयाँ बराबरको मकै, ५ अर्ब ३८ करोड ३० लाख ६ हजार रुपैयाँको स्वयबिन तेल आयात भएको छ । नेपालमा पोल्टी व्यवसायमा आत्मनिर्भर बने पनि दानका लागि ब्राजिल र अर्जेन्टिनाबाट ठूलो परिणाममा मकै आयात हुन्छ ।
यस्तै ४ अर्ब ९९ करोड २८ लाख ७८ हजार रुपैयाँको दलहन, ४ अर्ब ३९ करोड ३८ लाख ८० हजार रुपैयाँको अन्य तेलजन्य पदार्थ र २ अर्ब ३९ करोड ७१ लाख ७२ हजार रुपैयाँको गहुँ आयात भएको तथ्यांक छ ।
यस अवधिमा नेपालबाट १ अर्ब ८८ करोड ९८ लाख ६७ रुपैयाँ जुन निर्यात भएको छ । १ अर्ब ९३ करोड ६२ लाख ३ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । यस्तै १ अर्ब २३ करोड ६७ लाख ७३ हजार रुपैयाँको अलैंची, १ अर्ब ६५ करोड ८९ लाख ४ हजार रुपैयाँका जुुटका झोला, ६५ करोड ६३ लाख ३४ हजार रुपैयाँको दाल, ४३ करोड ६५ लाख५३ हजार रुपैयाँको चाउचाउ निर्यात भएको केन्द्रको तथ्यांक छ । ६४ करोड ३७ लाख ६६ हजार रुपैयाँको मेडिकल हर्ब, २७ करोड ६८ लाख १२ हजार रुपैयाँको अदुवा र १२ करोड ५० लाख १६ हजार रुपैयाँको मासुसन्य सामान आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्