उद्योगलाई बैंकको ब्याजमा केही सहुलियत दिने प्याकेज ल्याउनुपर्छ «

उद्योगलाई बैंकको ब्याजमा केही सहुलियत दिने प्याकेज ल्याउनुपर्छ

निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटो नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त उद्योग हो । यस्ता सामग्री उत्पादन गर्ने उद्योगमध्ये एनएस पाउने एसियन कंक्रिटो प्रालि पहिलो उद्योग भएको जनाएको छ ।
एसियन कंक्रिटो आउनुपूर्व पनि अन्य कम्पनीहरू थिए । एसियन कंक्रिटोले आफ्नो उत्पादन बजारमा आउनेबित्तिकै एनएसको मापदण्ड प्राप्त गर्नका लागि प्रक्रिया अगाडि बढाएको थियो । एसियन कंक्रिटोबाट उत्पादित हरेक सामग्री अब नेपाल गुणस्तरअनुसार हुनेछन् । जर्मनीबाट मेसिनसहित प्रविधि ल्याएर बनाइएका सामग्री अन्य उद्योगको भन्दा गुणस्तरीय, बलियो र टिकाउ हुने कम्पनीले दाबी गरेको छ । कम्पनीबाट उत्पादित सामग्री वातावरणमैत्री, बलियो निर्माण सामग्री उत्पादन गर्दै आएको छ । पाँचजना व्यवसायीले करिब डेढ अर्ब लगानीमा अत्याधुनिक कंक्रिट उद्योगको तीन वर्षअगाडि प्लान्ट स्थापना गरी इँटा, डिभाइडर, ब्लक तथा सडकको छेउ किनारामा लगाउनेदेखि घरभित्र र बगैंचालाई सुन्दर बनाउनेसम्मका २३ प्रकारका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।
उद्योगबाट उत्पादन भएको ब्लक फुटपाथ तथा भित्री सडकका लागि बहुपयोगी हुने गरेको छ । नवलपरासीको रामग्राम नगरपालिका अवस्थित उद्योग ७ बिघा क्षेत्रफलमा स्थापना गरिएको छ । गुणस्तरीय निर्माण सामग्रीको उत्पादन गरिरहेको एसियन कंक्रिटो प्रालिले पछिल्लो समय सहरका फुटपाथ तथा बाटोमा प्रयोग हुने डिभाइडर उपलब्धता मात्र गरेको छैन, यसले सहरमा सौन्दर्यता पनि थपेको छ । पछिल्लो समय गुणस्तरीय निर्माण सामग्रीको प्रयोग, यसको सहजता, बजारको माग आदिमा केन्द्रित भएर एसियन कंक्रिटोका प्रबन्ध निर्देशक मनिष रुङ्गाटासँग कारोबारले गरेको कुराकानीको सार :

एसियन कंक्रिटो कस्तो उद्योग हो ? यसले कस्तो खालको निर्माण सामग्री उत्पादन गर्दै आएको छ ?
कम्पनी कंक्रिटका इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट ट्रायल तथा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गर्ने उद्योग हो । यसबाट उत्पादन भएका निर्माण सामग्री फुटपाथ तथा बाटोहरू बनाउन प्रयोग हुन्छ । विदेशमा यो प्रविधि भनेको २ सय वर्ष पुरानो प्रविधि हो । हाल हामीले ब्लक, टायल्स र इँटा तथा कर्भस्टोनका करिब २३ दर्जन निर्माण सामग्री उत्पादन गर्दै आएका छौं ।
विदेशमा यो इटरनल वे सर्भिस लेन बन्छ, त्यो सबै एसियन कंक्रिटोकै कम्पनीहरूले बनाउने हो । यसले वातावरणीय प्रभाव सन्तुुलन राख्न सहयोग पु-याउँछ । यो भएको खण्डमा बाढी तथा जमिनमा पानीको स्रोतलाई सुनिश्चत गर्न पनि सहयोग गर्छ । एसियन कंक्रिटोबाट उत्पादन भएका ब्लकहरू प्रयोग गरे पनि पानी जमिनमुनि जान सक्छ । यसबाट जमिनमा पानीको सतह कायम राख्न सहयोग पुग्छ । यदि ब्लकको साटो कंक्रिटो ढलान गरेको खण्डमा पानी जमिनमुनि जानबाट रोकिन्छ, जमिनमा पानीको तह घट्छ । यसरी सिमेन्टको ढलान जमिनमा बढेसँगै पछिल्लो समय जमिनमा पानीको सतह घटेर जमिन भासिने समस्या बढेको छ । यसको निराकरणका लागि पनि फुटपाथमा लगाइने ब्लकले सहयोग पुग्छ । यो दीर्घकालसम्म पनि टिक्ने भएकाले गर्दा एकपटक लगानी गरेपछि लामो समयसम्म ढुक्क भएर प्रयोग गर्न सकिन्छ । यसको ठूलो फाइदा भनेको जस्तै कालोपत्रे गर्दा दुईदेखि तीन वर्षमा पुनः मर्मतसम्भार गर्नुपर्छ, तर फुटपाथमा प्रयोग गरिने यो ब्लक लामो समयसम्म टिक्ने भएकाले गर्दा खर्च कटौती हुन्छ ।

नेपाली बजारमा परम्परागत निर्माण सामग्रीको मात्र प्रयोग गर्दै आएकोमा हाल एसियन कंक्रिटोले ठूलो लगानीका साथ सार्वजनिक निर्माण सामग्री नै उत्पादन गर्ने सोचको विकास कसरी भयो ?
२०७२ सालमा विनाशकारी भूकम्प आएको थियो, त्यसपछि त्यसबाट धेरै ठूलो मानवीय तथा भौतिक क्षति हुन गयो । भौतिक क्षति भएपछि त्यसको पुनर्निर्माणका लागि निर्माण सामग्रीको माग बढ्ने आकलन हामीले गरेका थियौं । तत्कालीन सरकारले पनि नयाँ नेपाल निर्माणको योजनासहित काम गर्ने बताउँदै आएको थियो । सोही अवसरलाई सदुपयोग गर्नका लागि निर्माण सामग्री उत्पादन कम्पनी खोलेका हौं । नेपालमा भएका ठूला आयोजना तथा बाटो बनाउँदा प्रयोग हुने निर्माण सामग्रीको अभावलाई पूर्ति गर्नका लागि हामीले एसियन कंक्रिटो तीन वर्षअगाडि स्थापना गरेका हौं । यसअघि नेपालमा भएका सानो निर्माण सामग्री उत्पादन कम्पनीका उत्पादनले बजारको मागलाई धान्न नसक्ने अवस्था थियो । सरकारले पछिल्लो समय सडकको विस्तारमा गुणस्तरीय निर्माण सामग्रीको अभावलाई परिपूर्ति गर्नका लागि नै हामीले कम्पनी स्थापना गरेका हौं । हामीले अहिले डेढ सय टनको चाप दिएर ब्लक तथा निर्माण सामग्री उत्पादन गर्दै आएका छौं । सरकारले ठूलो लगानी गरी भौतिक पूर्वाधारका काम गरिरहेको भए पनि गुणस्तरीय निर्माण सामग्रीलाई परिपूर्ति गर्नु हाम्रो लक्ष्य थियो । यसले गर्दा बजारमा प्रतिस्पर्धा बढेर गएको छ भने दूरदराजमा पनि निर्माण सामग्री सप्लाइ गर्नका लागि पनि सहज भएको अवस्था छ ।

अहिलो एसियन कंक्रिटोको उत्पादन कहाँ–कहाँ आपूर्ति गर्दै आउनुभएको छ ? प्रयोगकर्ताबाट कस्तो प्रतिक्रिया प्राप्त गर्नुभएको छ ? अरू निर्माण सामग्रीभन्दा कसरी फरक छ ?
हामीले नवलपरासीबाट करिब डेढ अर्ब रुपैयाँको लगानीमा एसियन कंक्रिटो स्थापना गरेका हौं । यहाँबाट नै हामीले मुलुकभरिका माग भई आउने क्षेत्रमा आपूर्ति गर्दै आएका छौं । अहिले बढी माग भैरहवा, काठमाडौं, विराटनगर, पोखरा, बुटवल र वीरगन्जका सहरी क्षेत्रमा भएका छन् भने हामीले उत्पादन गर्ने सडक डिभाइडर सरकारका विभिन्न निकायमा विस्तार भएका सडकहरूमा आपूर्ति गर्दै आएको अवस्था छ । हामीले अटोमेसनमा निर्माण सामग्री उत्पादन गर्दै आएका छौं । कति चापमा निर्माण सामग्री उत्पादन गर्दा कत्तिको लोड धान्न सक्छ, यसको विषयवस्तु बुझेर गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएका छौं । साथै गुणस्तरीय सामग्री उत्पादनका लागि सबै प्रविधिको प्रयोग गरी उत्पादन गरेका छौं भने उद्योगले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ । कतिको लोड धान्ने गरी निर्माण सामग्री बनाउने हो, माग भइआएको खण्डमा त्यसलाई पनि सम्बोधन गरेका छौं भने ४० एमएम थिक्नेसदेखि लिएर ५ सय एमएम थिक्नेस सम्मको फोल्डर बनाउन सकिन्छ, अनि न्यूनतम ३० एमपीएदेखि लिएर ७० एमपीएसम्मको सामग्री उत्पादन गर्छ ।

हाम्रो जस्तो देशमा गुणस्तरीय सामानभन्दा पनि कम मूल्यको सामग्री बढी उपयोग हुँदै आएको छ । सार्वजनिक खरिद ऐनले पनि कम मूल्यको सामग्री खरिदका लागि जोड दिएको छ । एसियन कंक्रिटोले उत्पादन गरेका सामग्री गुणस्तरीय र महँगो भएकाले गर्दा कसरी बजारमा प्रतिस्पर्धा गरिरहनुभएको छ ?
सरकारको यस्तो नीतिले गर्दा हामी अहिलेसम्म पनि बजारमा संघर्ष नै गरिरहेका छौं । हामीले लोकल उत्पादकभन्दा केही बढीमात्र मूल्य राखेर बजारमा आएका छौं । जसले गर्दा बजारमा विक्रेता तथा क्रेतालाई सहज होस् भन्ने हाम्रो मान्यता थियो । आउने दिनमा भने मूल्यमा केही हेरफेर गर्नुपर्ने अवस्था छ । किनकि लगानी धेरै रहेको गुणस्तरीय सामान उत्पादन गरेका छौं । पछिल्लो समय दुई वर्षदेखि कोभिड–१९ का कारण बजारमा प्रवेश नपाएको अवस्था छ । बजारको अवस्था, कच्चा पदार्थमा भएको मूल्यमा भएको वृद्धिलाई हेरेर पनि मूल्य समायोजन गर्नुपर्ने बाध्यता छ । अहिले बजारमा राम्रो र गुणस्तरको छाप स्थापित गरेर आगामी दिनमा मूल्यमा वृद्धि नगरी सामग्री उत्पादन गर्न सक्ने अवस्था छैन । आज माग कम भएकाले गर्दा प्लान्टको कुल क्षमतामा उत्पादन गर्न सकेका छैनौं । हाल ४० प्रतिशतमात्र उत्पादन गर्दै आएका छौं । माग बढेको अवस्थामा हामीले कुल क्षमतामा उत्पादन गर्न सकेको खण्डमा स्थानीय स्तरमा उत्पादन हुने सामग्रीको मूल्यमा नै हामीले गुणस्तरीय निर्माण सामग्री आपूर्ति गर्न सक्ने अवस्था छ ।

गुणस्तरीय तथा कम मूल्यमा निर्माण सामग्री उत्पादनका लागि के–कस्तो समस्या छ, सरकारले यसमा कसरी सहजीकरण गर्न सक्छ ?
उपत्यकाभित्र र बाहिरबाट धेरै स्थानमा फुटपाथको निर्माण गरेर सहरमा सौन्दर्यकरण गरेका छौं । यसरी हामीले उत्पादन गरेका निर्माण समग्रीको प्रयोग गरेर धेरै राम्रो फुटपाथ तथा बाटो बनेको छ । यसरी हामीले उत्पादन गर्ने सामग्रीको आम जनमानस र निर्माण व्यवसायीहरूबाट माग बढेको अवस्था, बढी उत्पादन गरेर उत्पादन लागत घटाउन सहयोग पुग्छ । यसले गर्दा उत्पादन सामग्रीमा सबै पहँच पुग्न जान्छ ।

पछिल्लो दुई वर्षदेखि कोभिड–१९ को महामारीबाट उद्योग व्यवसायमा समस्या उत्पन्न भएको छ । स्थापनको तीन वर्ष पूरा गर्दा हालसम्म उत्पादित सामग्रीलाई बजारसम्म पु¥याउन के–कस्तो आरोह–अवरोह झेल्नुप-यो ?
कम्पनीले जहिलेबाट उत्पादन थालेको थियो त्यसको केही समयपछि कोभिड–१९ को मारमा परेको अवस्था छ । लगानीका लागि बैंकबाट लिएको कर्जाको ब्याज भुक्तानीमा समस्या भएको छ भने अर्कातर्फ उत्पादित सामग्री बजारमा पठाउन नसक्दा थप आर्थिक बोझ झेल्नुपरेको अवस्था छ । बजारमा हामी नयाँ थियांै, बजारमा यसबारेमा जानकारी पनि थिएन, अर्कातर्फ गुणस्तरीय भएकाले गर्दा केही महँगो पनि थियो । गुणस्तरीय उत्पादन सबैको रोजाइमा पनि थिएन पछिल्लो समय सर्वसाधारण तथा सरकारमा गुणस्तरीय सामग्रीको प्रयोगमा आएको चेतनाले केही सहज भए पनि पर्याप्त बजार नपाएको अवस्था छ । ९९ प्रतिशत कच्चा पदार्थ स्थानीयस्तरमा नै पाउने भएकाले गर्दा केही सहज भएको अवस्था छ । बालुवा, गिट्टी, ढुङ्गा, सिमेन्टको उपलब्धता स्थानीय स्तरमा नै हुने भएकाले गर्दा सहज छ, केही निर्माण सामग्रीमा प्रयोग हुने रंगमात्र बाहिरबाट आपूर्ति गर्नैपर्ने अवस्था छ । यस्ता उद्योगलाई सरकारले बैंकको ब्याजमा केही सहुलियत प्याकेज ल्याएको खण्डमा हामीलाई धेरै राहत हुने थियो ।

कम्पनीमा रोजगारीको अवस्था कस्तो छ ? नेपालमा गुणस्तरीय निर्माण सामग्रीको उपलब्धता सहज छैन, यस्तो अवस्थामा कसरी निर्माण सामग्रीको व्यवस्थापन गर्दै आउनुभएको छ ?
हाम्रो प्लान्ट अटोमेटेट प्लान्ट हो । प्रत्यक्ष रोजगारी भनेको करिब १ सयको हाराहारीमा रहेको छ भने निर्माण सामग्री उत्पादन भएपछि यसमा करिब ७ सयभन्दा बढीले प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी प्राप्त गर्ने गरेको अवस्था छ । यसको प्रयोग जति बढी हुन्छ त्यति नै रोजगारी वृद्धि भएको अवस्था छ । कच्चा पदार्थका लागि धेरै समस्या छैन, वर्षायाममा केही समस्या हो, यो समयमा पनि क्रसर तथा निर्माण ढुवानी कम्पनीले मौज्दात राख्ने गरेको अवस्था छ, साथै सिमेन्टको पनि यहाँ सहज रूपमा पाउने भएकाले गर्दा कच्चा पदार्थको उपलब्धतामा समस्या छैन ।

सरकारले कसरी सहजीकरण गरेको खण्डमा निर्माण सामग्री उत्पादन गर्ने कम्पनीलाई सहजता प्राप्त हुन्छ ? यसले गर्दा बजारमा सस्तो र गुणस्तरीय निर्माण सामग्री उपलब्ध हुन्छ ?
सरकारले गुणस्तरीय सामग्रीको प्रयोगमा निर्माण कम्पनीहरूलाई बाध्य पार्ने नीति जारी गरेको खण्डमा आयोजना तथा बाटोहरू दीर्घकालसम्म टिक्न सहयोग पुग्ने थियो । सरकारले पूर्ण रूपमा कमसल निर्माण सामग्रीको प्रयोगमा रोक लगाउन सकेको खण्डमा हामी जस्तो गुणस्तरीय निर्माण सामग्री उत्पादन कम्पनीलाई हौसला प्राप्त हुने थियो ।
जति निर्माण कम्पनीहरू छन्, ठेकेदारहरू छन् उनीहरूलाई बाध्य बनाउनुप-यो । जब नेपालमा उत्पादन भएको गुणस्तरीय प्रोडक्ट छ भने कमसल खालको सामान प्रयोग किन गर्ने ? नगरौँ । किनकि आज जति पैसा बाटो बनाउन तथा फुटपाथ बनाउन खर्च भइराखेको थियो, त्यो पैसा जनताको हो । तपाईं–हामीले तिरेको करले नै त्यो सडक बन्ने हो । त्यसैले यो काम दिगो हुनुप-यो । एक–डेढ वर्षका लागि टालटुल गरेर बनाइदियो, दुई वर्षपछि त्यसैमा समस्या आउँछ । तर, गुणस्तरीय सामग्री प्रयोग गरियो भने २०-२५ वर्ष हेर्नु नै पर्दैैन । त्यो किसिमको वातावरण हाम्रो नेपालमा पनि सिर्जना भइदियो भने निकै सहज हुन्छ । त्यस्तै नेपालमा हरेक ठाउँमा अहिले ‘वाटर हार्बेस्टिङ’ चुनौतीका रूपमा देखिएको छ । काठमाडौंमा नै पानीको सतह निकै तल गइसकेको छ । काठमाडौंलगायतका हाइवेहरू त कालोपत्रेबाट नै बनाउनुपर्छ, तर गाउँघरका बाटो भनौँ वा गल्लीहरू, फुटपाथहरूमा हामीले उत्पादन गरेका ब्लकलाई अनिवार्य गरियो भने समस्या समाधान हुन्छ । अन्य देशहरूमा हेर्ने हो भने यस्तो उत्पादन प्रयोग गर्नु अनिवार्य छ । नेपाल सरकारले यहाँ पनि त्यस्तै खालको कानुन ल्याइदियो भने हामीजस्ता अरू १० वटा कम्पनी आउँछन् । यसको जति प्रयोग हुन्छ सरकारको त्यति नै पैसा बचत हुन्छ । कालोपत्रे गर्दा दुई–तीन वर्षमा मर्मतका लागि ठूलो बजेट निकासा गर्नुपर्छ । यो उत्पादन प्रयोग गर्ने हो भने सरकारको धेरै रकम बच्छ जस्तो लाग्छ ।

अर्को कुरा, चालू आर्थिक वर्षको बजेटमा सरकारले पहाड उत्खनन गरेर निर्माण सामग्री निर्यात गर्ने नीति ल्याएको छ । तपाईंका अनुसार निर्माण सामग्री बेच्दा राम्रो हुन्छ कि त्यसबाट वस्तु उत्पादन गरेर त्यसलाई निर्यात गर्दा नाफा हुन्छ ?
आजदेखि पाँच वर्षअगाडि हाम्रोे नेपालबाट ठूलो मात्रामा बालुवा, गिट्टीहरू निर्यात भइरहेको थियो । सरकारले पछि विभिन्न नीतिहरू ल्याएपछि बालुवा, गिट्टीहरू भारत जान बन्द भयो । तर, हामीले भ्यालु एडेड गरी राखेका छौं । यसको डिमाण्ड भारतमा निकै धेरै छ । तर, नेपाल सरकारले विभिन्न कम्पनीहरूलाई सबसिडी दिने हो भने भारतीय रकम भित्र्याउन सकिन्छ । त्यस्तै हाम्रोजस्तो दुई–तीनवटा उद्योगहरू आयो भने पनि भारतमा राम्रो निर्यात गर्न सकिन्छ जस्तो लाग्छ ।

यस विषयमा भारतीय बजारको पनि केही अध्ययन अनुगमन गर्नुभएको छ ?
हामीले एक–दुई ट्रक सामान भारत निर्यात पनि गरेका थियौँ । तर, मुख्य समस्या थोक उत्पादन भएकाले ढुवानीमा मात्र ३० प्रतिशत खर्च लाग्छ । वस्तुको खर्च खासै हुँदैन । मात्र ४० रुपैयाँ, ५० रुपैयाँ वर्गफिटमात्र पर्न आउँछ । तर, ढुवानीको खर्च १५ देखि २० रुपैयाँसम्म पर्न आउँछ । ढुवानीमा सरकारले केही सहयोग गर्ने हो भने ठूलो मात्रामा निर्यात गर्न सकिन्छ ।

तपाईंको उद्योगमा कुल लगानी कति छ ? अब अन्य क्षेत्रमा पनि उद्योगलाई विस्तार गर्ने योजना के छ ? अर्थात् अबको बाटो कता जाँदै हुनुहुन्छ ?
अहिले डेढ सय करोड रुपैयाँबराबरको लगानी भइरहेको छ । जुन दिन हामीले सम्पूर्ण क्षमतामा उत्पादन गर्छौं र सरकारले पनि ढुवानीमा केही सबसिडी दिन्छ भने तीन–चारवटा यस्तै कम्पनीहरू खोल्ने योजना बनाएका छाँै । एउटा काठमाडौं छेउमा खोल्ने, एउटा पूर्वमा खोल्ने, एउटा पश्चिममा खोल्ने सोच छ । तर, अहिलेलाई यो सोच मात्र हो ।

अहिले सबैभन्दा बढी माग भएको क्षेत्र कुन हो ?
अहिले सबैभन्दा बढी माग काठमाडौं, पोखरा, विराटनगर, वीरगन्जलगायत धेरै ठाउँमा भइरहेको छ । सबैभन्दा बढी भनेको काठमाडौं र पोखरामा देखिएको छ । एक–दुई ठाउँमा प्रयोग भएपछि मानिसहरू आएर हाम्रो बाटो पनि त्यस्तै हुनुप-यो । फुटपाथ पनि त्यस्तै हुनुप-यो भन्ने गरेका छन् । यसमा नगरपालिकाका मेयर साहेबहरूको ठूलो योगदान छ ।
अन्त्यमा, नेपाललाई प्रदूषण मुक्त बनाउने हो भने यसको प्रयोग गर्नुपर्छ । जस्तै अन्य देशहरूमा हेर्ने हो भने त्यहाँ धूलो उड्दैन । हेर्दा पनि सुन्दर देखिन्छ । त्यस्तो नेपाल बनाउने हाम्रो पनि चाहना छ । यसमा सबैको सहयोग चाहिन्छ । मानिसहरूमा जति जानकार हुन्छ त्यति नै यसको प्रयोग बढ्छ भन्ने हाम्रो मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्