सरकारमा अधिनायकवादको लक्षण देखियो : बडु «

सरकारमा अधिनायकवादको लक्षण देखियो : बडु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्र प्रसाद बडुले वर्तमान सरकार सञ्चालनमा निरंकुश, स्वेच्छाचारी र अधिनायकवादको लक्षण देखिएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, “यो संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगीकार गरेको छ । तर, यी सबै सिद्धान्तमाथि प्रधानमन्त्रीबाट आक्रमण भैरहेको छ । संसद भनेको सरकारलाई उत्तरदायी बनाउने संस्था हो । तर, हिजो सदनमा सांसदहरुलाई प्रश्न गर्नसमेत दिइएन । हामी सबैले मिलेर बनाएको प्रतिनिधिसभा नियामावली–२०७५ को नियम २१९ उपनियम (१) बमोजिम प्रधानमन्त्रीले बोल्नुभएको हो । नियम २१९ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको वक्तव्यमा आधारित भएर प्रश्न सोध्न पाउने व्यवस्था छ । हिजो प्रश्न सोध्न दिइएन ।”
नेता बडुले प्रधानमन्त्रीले हिजो जवाफ दिनुपर्दथ्यो भन्ने धारणा राखे । उनले भने, “सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ । यो सरकार दुई तिहाईको हो । तर, दुई तिहाई भन्दैमा संविधानको बर्खिलापमा गएर काम गर्न हुँदैन । अहिले सरकारले संविधानको बर्खिलापमा गएर काम गरिरहेको छ ।”
उनले हिजो संसद जुन प्रक्रियामा पुगेर स्थगित भएको हो, अब पर्सी बस्ने बैठक त्यही प्रक्रियाबाट अघि बढ्नुपर्ने बताए । उनले भने, “सरकारले जवाफ दिनुपर्छ । २५ गतेको संसद् चल्छ ।”
सरकार जवाफ दिनबाट भागेको पनि उनले आरोप लगाए । उनले भने, “२५ गतेको बैठकमा प्रधानमन्त्री तयार भएर जवाफ दिन आउनुपर्छ । हाम्रो स्ट्याण्ड कायमै छ । सार्वभौम अधिकारसम्पन्न संसदको अधिकारमाथि सरकारले प्रहार गरेको छ ।”
वाइडबडी खरिद प्रकरणमा संसदीय उपसमितिले प्रतिवेदन ल्याएको समयमा सरकारले नयाँ छानबिन समिति बनाउनु आपत्तिजनक भएको पनि उनले टिप्पणी गरे । उनले भने, “सरकारले यो प्रकरणमा आफैले छानबिन गर्छौं भनेर कसैलाई चोख्याउने काम गर्न लागेको छ । सरकारले संविधानविपरित कदम चालेको छ । निरंकुशता लाद्न खोजेको छ । न्यायालयमा पनि त्रास सिर्जना गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्