साढे दुई सय म्यानपावर कम्पनीको कारोबार शून्य «

साढे दुई सय म्यानपावर कम्पनीको कारोबार शून्य


खाडी र मलेसियाबाहेकका नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ म्यानपावरको कारोबार नै शून्य भएको छ । कोरोना संक्रमणका कारण खुम्चिएको श्रम गन्तव्यको विस्तार गर्न नसक्दा विदेश जाने मात्र नभई म्यानपावरमा कार्यरत धेरैले रोजगारीसमेत गुमाएका छन् ।
कोरोना संकटका कारण वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका ८ सय ५४ म्यानपावर कम्पनीमध्ये २ सय ५१ म्यानपावर कम्पनीले एक जना पनि श्रमिक विदेश पठाउन नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
कोरोना संक्रमणका कारण श्रम गन्तव्यबाट नेपाली श्रमिकको माग नआएपछि सानो लगानीमा सञ्चालनमा रहेका कतिपय म्यानपावर कम्पनी संकटमा परेका छन् । व्यवसाय सञ्चालन गर्न २ करोड धरौटी राखेर इजाजतपत्र लिएको भए पनि श्रम गन्तव्यले माग नपठाउँदा कम्पनीको कारोबार नै शून्य भएर यस्तो अवस्था आएको हो । गत वर्षसम्म इजाजतपत्र लिएका ८५४ म्यानपावरमध्ये एक वर्षमा १९ जना श्रमिक विदेश पठाउनेको म्यानपावरको संख्या १४१ रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । विभागको गत आर्थिक वर्ष २०७७-७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार, हाल सञ्चालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनीमध्ये १० देखि ३० जना श्रमिक पठाउने म्यानपावरको संख्या १२९ रहेको छ ।
गत वर्ष सबैभन्दा बढी श्रमिक विदेश पठाउने एड्भान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रालिले २ हजार ४ सय ९४ जना श्रमिक विदेश पठाएको छ । त्यस्तै २ हजार १७२ जना विदेश पठाएर सान नेपाल प्रालि दोश्रो नम्बरमा परेको छ । गत वर्ष एक हजार भन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर संख्या ९ रहेको छ । संख्याका आधारमा तेश्रोमा स्काई स्टार रिक्रुटमेन्ट प्रालिले १ हजार ४६२ जना कामदार विदेश पठाएको छ । एक हजार ४४५ कामदार विदेश पठाएर प्याराडाइज इन्टर्नेशनल प्रालि संख्याका आधारमा चौथो नम्बरमा परेको छ । पाँचौ नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिसले १ हजार ४२९ र छैटौंमा रहेको भिजन एण्ड भ्यालू ओभरसिज प्रालिले १ हजार ३५५ जना कामदार विदेश पठाएका छन् ।
गत वर्ष २५ म्यानपावर कम्पनीले १ जना, १५ म्यानपावरले २ जना, १७ म्यानपावरले ३ जना, १६ म्यानपावर कम्पनीले ४ जना मात्रै श्रमिक विदेश पठाएका छन् । ४ सय १७ म्यानपावर कम्पनीले १ सय भन्दा कम संख्यामा श्रमिक विदेश पठाउन सकेका छन् । गत वर्ष ११ म्यानपावर कम्पनीले मात्र ५ सय भन्दा बढी संख्यामा श्रमिक विदेश पठाउन सकेका छन् । त्यस्तै ४ सय २० म्यानपावर कम्पनीले ५ सय भन्दा कम संख्यामा मात्र श्रमिक विदेश पठाएको विभागको तथ्यांकले देखाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पुर्वअध्यक्ष रोहन गुरुङले कोभिड संकटका कारण श्रम गन्तव्यबाट माग नआएका कारण पनि म्यानपावरले श्रमिक पठाउन नसकेको बताए । उनले नेपालको श्रम बजार वार्षिक आउन लगभग ५ लाखक श्रमयोग्य जनशक्तिलाई वैकल्पिक रोजगारी दिइरहेको वैदेशिक रोजगारीका लागि नयाँ बजार खोज्न सरकारले नयाँ योजना नल्याएको आरोप लगाए ।
आर्थिक वर्ष २०७६-०७७ मा सबै भन्दा बढी श्रमिक पठाउने द रिभर ओभरसिज यस पटक ७औ स्थानमा पुगेको छ । यो कम्पनी कारवाइमा परी करोबार रोक्का गरिएको कारण एक वर्षमा १ हजार ३१० जना मात्रै विदेश पठाउन सकेको छ । आठौं नम्बरमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रालिले १ हजार २३३, नवौं नम्बरमा रहेको एल समिट म्यानपावर प्रालिले १ हजार १३९ र दसौं नम्बरमा रहेको इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले ९ सय २० जना मात्रै कामदार विदेश पठाएको छ । गत वर्ष म्यानपावर कम्पनीमार्फत ५५ हजार ८७९ पुरुष र ५ हजार ५४९ जना महिला गरी कुल ६१ हजार ४२८ जना मात्रै विदेश गएका छन् ।

प्रतिक्रिया दिनुहोस्