विद्यार्थीद्वारा सामूहिक धानखेती «

विद्यार्थीद्वारा सामूहिक धानखेती

लमजुङ-लमजुङको राइनास नगरपालिका–४ सातबिसेमा रहेको सौभाग्योदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले धानखेती गरेका छन् । कृषि प्राविधिक शिक्षाअन्तर्गत कृषिबाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ९ र १० का विद्यार्थी र शिक्षक कर्मचारी गरी ८५ जनाले विद्यालयको पाँच रोपनी जमिनमा सामूहिक धानखेती गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितिमा शिक्षक र विद्यार्थीले यही साउन ४ र ५ गते राइनास–४ को टिमुरेस्थित विद्यालयको जग्गामा उन्नत जातको धान रोपाइँ रोपेका हुन् । कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाइसँगै व्यावहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले यसै वर्षबाट धानखेती गर्न लगाइएको विद्यालयका प्रधानाध्यापक दिनानाथ त्रिपाठीले बताए ।
विद्यार्थीले धानखेतीसँगै तरकारीखेती पनि गरेका छन् । एउटा टनेलमा टमाटर लगाएका छन् भने लौका र करेला पनि फलाएका छन् । त्यस्तै विद्यालय परिसरमा माछापालनसमेत गरिएको छ । अघिल्लो वर्षबाटै आधा रोपनी क्षेत्रफलमा पोखरी निर्माण गरी सुरु गरिएको माछापालनका लागि नगरपालिकाले पाँच सय भुरा सहयोग गरेको विद्यालयले जनाएको छ ।
विद्यार्थीले च्याउ उत्पादनसमेत गरेर बिक्री गरेको विद्यालयका प्रधानाध्यापक त्रिपाठीले बताए । तरकारीखेती तथा विद्यार्थीले गरेको कृषि उत्पादन बिक्रीबाट आएको आम्दानीमध्ये बीउबिजन र मललगायतको खर्च कटाएर बाँकी रकम कृषि प्राविधिक कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ । दुई वर्षे कोर्स समाप्तिसँगै कोषमा जम्मा भएको रकम सम्बन्धित विद्यार्थीलाई बाँडिदिने प्रअ त्रिपाठीले बताए ।
परम्परागत खेतीलाई आधुनिक प्रविधिबाट सिकाउने उद्देश्यले विद्यालयले सैद्धान्तिक र प्रयोगात्मक शिक्षासँगै कृषिसँग सम्बन्धित आवश्यक संरचना निर्माणलाई पनि प्राथमिकता दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वतन्त्र हमालले बताए । उनका अनुसार कृषिज्ञान केन्द्रको पाँच लाख सहयोगमा कृषि ल्याब र विद्यालय परिसरमा तरकारी खेतीका तीनवटा टनेल निर्माण गरिएको छ ।
विद्यार्थीहरूलाई परम्परागत खेतीभन्दा आधुनिक तरिकाले प्राविधिक सीप सिकाउने उद्देश्यका साथ विद्यालयले आन्तरिक स्रोत र साधनले भ्याएसम्म र साझोदारीमा संरचना निर्माण गर्दै आएको जनाएको छ ।
वि.सं २०१२ मा प्राविको रूपमा स्थापित विद्यालय २०२५ सालबाट माध्यमिक तह सञ्चालनमा आएसँगै वि.सं २०७६ देखि कक्षा ९ मा कृषिबाली विज्ञानको पढाइ सुरु भएको हो । विद्यालयले आगामी शैक्षिक सत्रबाट ११ कक्षा सञ्चालनको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्