राहतको लोभमा गलत तथ्यांक «

राहतको लोभमा गलत तथ्यांक

कालिकोट आगलागी

जुम्ला – कालिकोटको पलाँता गाउँपालिका–१ को खाडा न्यौपाने गाउँमा भएको आगलागीमा नष्ट भएका घर संख्याबारे विवादास्पद तथ्यांक सार्वजनिक भएको छ । आगलागीको १० दिनपछि प्रहरीले त्यहाँ ३२ घरमात्र पूर्ण जलेको दाबी गरेको छ भने गाउँपालिका प्रमुखले ४२ घर जलेको दाबी गरेका छन् ।
पुस ८ गते मध्यरातको आगलागीमा ८७ घर (पूरै गाउँ) नै खण्डहरमा परिणत भएको खबर सार्वजनिक भएको थियो । कालिकोटका डीएसपी विनोद शर्माले सार्वजनिक भएजस्तो परिमाणमा क्षति नभएको सूचना सार्वजनिक गरेका छन् । उनका अनुसार आगलागीमा खाडा न्यौपानेका ३२ घरमात्र जलेको पुष्टि भएको छ । “त्यसबेला म बिदामा भएकाले सम्पूर्ण विवरण यकिन रूपमा आउन सकेन । तर सूचना दिने प्रहरी र गाउँपालिकाका पदाधिकारीबाटै धेरैपल्ट एउटै विवरण जानुलाई सामान्य गल्तीका रूपमा मात्र लिन सकिँदैन,” उनले भने । जिम्मेवार निकायबाटै बारम्बार गलत तथ्यांक दिइनुले पीडितका नाममा कमाउने दाउ रहेको उनले आशंका गरे ।
थोरै घर जले पनि सञ्चारमाध्यममा संख्या धेरै आएपछि डीएसपी शर्माले आफैं संलग्न भएर अनुसन्धान गरेका थिए । अनुसन्धानपछि ३२ घरमात्र जलेको पुष्टि हुनुले धेरै जनाको मिलेमतोमा दोब्बरभन्दा बढी देखाइएको उनले दाबी गरे । अन्य आश्रित परिवारसमेत जोडेर जम्मा ४२ परिवार प्रभावित भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले गलत सूचना दिएर राहत पचाउने खेलमा लागेका सबैको विवरण केही दिनभित्रै सार्वजनिक गर्ने बताएको छ ।
प्रहरीले ३२ घरमात्र पूर्ण जलेको पुष्टि गरिरहँदा पनि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले ४२ वटै पूर्ण क्षति भएको दाबी गरेका छन् । “मैले पहिलेदेखि नै ४२ घर भन्दै आएको हुँ, हल्लाको भरमा ८७ भनियो,” उनले भने, “प्रहरीले भनेजस्तो ३२ घरमात्रै होइन । ४२ नै पूर्ण रूपमा क्षति भएका हुन् ।”
राहत ८७ परिवारलाई नै वितरण गरिएको जानकारी दिँदै आएको स्थानीय प्रशासनले अहिले ४२ घरपरिवार मात्र सम्पर्कमा आएको बताएको छ । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले राहत बाँड्दा पीडित ४२ परिवारमात्र सम्पर्कमा आएको बताए । उनले भने, “राहत अहिलेसम्म ४२ घरलाई मात्र बाँडिएको छ, ४२ भन्दा बढी परिवार हामी पीडित हौं भनेर आएका पनि छैनन् । तर गलत सूचनाका कारण राहतको लोभमा संख्या बढाइएको पाइएको छ ।” पताला गाउँपालिका अध्यक्ष बम, उपाध्यक्ष दानादेवी न्यौपाने र वडाध्यक्ष मानबहादुर भण्डारीले नै ६५ घरधुरी नष्ट भएको सहीछापसहितको मुचुल्का जिल्ला प्रहरी कार्यालय कालिकोटमा पुगेको छ । तर अध्यक्ष र उपाध्यक्ष दुवैले एक सातासम्म सञ्चारमाध्यममा ८७ घर जलेको जानकारी दिँदै आएका थिए ।
राहत वितरणका लागि खाडा पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समेत घर संख्या पुष्टि गर्ने प्रयास नगरेको पाइएको छ । ८७ घरका लागि नै राहत लिएर गएका उनले सुर्खेत फर्केपछि पनि ८७ घर जलेको नै बताएका थिए । सोहि अनुसारको राहत वितरण समेत गरिएको छ । तर ८७ परिवार पीडित नभएको सही भए गलत सूचना दिने जोसुकै भए पनि कारवाही गरिने भएको छ ।
धेरै राहत पाउने लोभमा क्षतिको विवरण बढाएको पाइएको छ । यसमा स्थानीय मानबहादुर भण्डारी, सूचना दिने प्रहरी, गाउँपालिका अध्यक्ष र उपाध्यक्षकै मिलेमतोमा राहत बढाउन तथ्यांक हेरफेर गरेको खुलासा भएको छ । “मैले त मुचुल्कामा सहीछाप गरेकै छैन, फसाउन आरोप लगाइएको हो,” गाउँपालिका उपाध्यक्ष तथा वडाध्यक्ष सोहि गाउँपालिकाका भएको र राहत बढाउने लोभले विवरण बढाएको भन्दै अध्यक्ष बलमे बताए ।
राहतकै आशमा केहीले आगलागीको भोलिपल्ट आफैंले घर भत्काएको समेत पाइएको छ । तराईमा पक्की घर बनाएर बसेकाहरू समेत राहतका लागि कालिकोट फर्केका छन् । घरमा कोही नबस्ने र अरूको जिम्मा लगाएर तराईमा बसेकाहरू राहत लिनकै लागि फर्केको अध्यक्ष बमले नै पुष्टि गरे ।

हबल्दार खड्का निलम्बन
आगलागीको गलत सूचना दिएर सञ्चार माध्यम र सरकारलाई समेत झुक्याएको भन्दै इलाका प्रहरी चौकी थिर्पुमा कार्यरत प्रहरी हवल्दार यज्ञबहादुर खड्कालाई निलम्बन गरिएको छ । विभिन्न संचारमाध्यममा घटनाको गलत विवरण टिपाएर राहत रकम बढाउने दाउमा लागेकालाई सघाएकाले हबल्दार खड्कालाई निलम्बन गरिएको डीएसपी बिनोद शार्माले बताए ।

प्रतिक्रिया दिनुहोस्