सम्झौता कार्यान्वयन नभए २५ गतेअघि नै अनसन : डा.केसी «

सम्झौता कार्यान्वयन नभए २५ गतेअघि नै अनसन : डा.केसी

प्राध्यापक डा. गोविन्द केसीले सरकारसँग भएका सम्झौता कार्यान्वयन नभए पुस २५ गतेअघि नै पुनः अनसन बस्ने चेतावनी दिएका छन् । सोमबार त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आफूहरुसँग भएका सम्झौता कार्यान्वयन नभए २५ गतेअघि नै पुनः अनसन बस्ने चेतावनी दिएका हुन् ।
उनले देशमा रहेको अराजकता, दण्डहीनता र भ्रष्टाचार अन्त्य गर्न आफू सरकारसँग लड्न तयार रहेको पनि बताए । सरकार जनताको पैसा खाएर माफियाका लागि काम गरिरहेको आरोप उनले लगाए । केसीले स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सरकारले व्यापारीकरण गरिरहेको भन्दै भने, “आफूलाई साम्यवादी भन्नेहरु जनता मार्न माफियासँग लागेका छन् । यिनीहरु जनतामारा, विद्यार्थीमारा हुन् । सर्वहारावादी भन्छन् तर यिनीहरु सर्वहारामारा हुन् ।”
अहिलेका राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरु जनताका नोकर भएको बताउँदै डा. केसीले नोकर भएर पनि उनीहरुले मालिक तथा राजाका झैं व्यवहार गरिरहेको बताए । बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिएकोमा आपत्ति जनाउँदै केसीले यसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को अर्बौं रुपैयाँको लगानी रहेको भन्दै यसलाई सम्बन्धन दिने अरुलाई किन नदिने भन्दै प्रश्न समेत गरे ।

 

प्रतिक्रिया दिनुहोस्