गुप्तचर प्रमुख रेग्मी र राजदूत शेर्पा बर्खास्त «

गुप्तचर प्रमुख रेग्मी र राजदूत शेर्पा बर्खास्त

सरकारले राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का प्रमुख दीलिपकुमार रेग्मी र अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवैलाई बर्खास्त गरेको हो ।
विभागको इतिहासमा पदावधि रहँदै संगठन प्रमुखलाई बर्खास्त गरिएको यो पहिलो घटना हो । मन्त्रीपरिषद् बैठकले रेग्मीलाई विशेष सेवा नियमावली संशोधन गर्दै ३ वर्षे पदावधि लगाएर हटाउनुका साथै एआईजीको एउटा दरबन्दी पनि कटौती गरेको हो । गत वर्षसम्म अनुसन्धान विभाग गृह मन्त्रालय मातहत थियो । प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै केपी शर्मा ओलीले अनुसन्धान विभागलाई आफ्नो मातहत ल्याएका थिए । रेग्मी २०७२ जेठ १४ गते अनुसन्धान विभाग प्रमुखमा नियुक्त भएका थिए । उनको कार्यकाल २०७६ जेठ १३ गतेसम्म थियो ।
रेग्मीलाई बर्खास्त गरेर सरकारले राअविको नयाँ प्रमुखमा गणेश अधिकारीलाई नियुक्त गरेको छ ।
नेपालको संविधान २०७२ अनुसार नियमावली संशोधनका लागि लोकसेवा आयोगसँग परामर्श लिनु पर्ने संवैधानिक व्यवस्था छ । तर, विशेष सेवा नियमावली संशोधनमा सरकारले कुनै परामर्श नलिएको लोकसेवा आयोग स्रोतले जानकारी दियो । यसअघि २०३६ र २०४२ सालमा तत्कालिन राजदरबारको दबाबमा अनुसन्धान विभाग प्रमुख क्रमशः रामप्रसाद श्रेष्ठ र चाँदबहादुर राईले राजीनामा दिएका थिए । जनमत संग्रहमा पञ्चायतलाई जिताउने रणनीतिसहित श्रेष्ठलाई राजीनामा दिन र आफू अनुकूलका प्रमुखलाई ल्याउन खेल खेलिएको थियो भने २०४२ सालमा सिंहदरबार लगायत विभिन्न स्थानमा बम विस्फोट प्रकरणमा राईको राजीनामा माग गरिएको थियो । २०६१ सालमा तत्कालिन अनुसन्धान विभाग प्रमुख देवीराम शर्माको कार्यकाल बढाउनकै लागि नियमित ४ वर्ष र सरकारले चाहेमा २ वर्ष थप्न मिल्ने व्यवस्था लागू गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्