सांसद चौधरीलाई रिहा गर्न सर्वोच्चद्वारा अस्विकार «

सांसद चौधरीलाई रिहा गर्न सर्वोच्चद्वारा अस्विकार

कारागारमा रहेकै बेला सांसदको सपथ लिएका रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले अस्विकार गरेको छ । नाबालकसहित ८ जनाको ज्यान गएको टीकापुर घटनाका आरोपी रहेका चौधरीको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले सोमबार उनलाई रिहा गर्न अस्विकार गरेको हो ।
पाँच दिनअघि प्रतिनिधिसभा सदस्यको शपथ लिएका उनीमाथिको कर्तव्य ज्यान मुद्दामा सर्वोच्चले आदेश गर्दै उनका सम्बन्धमा तल्ला तहका अदालतले गरेको आदेश नै सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले कैलाली जिल्ला अदालतको आदेश मिलेकै देखिएकाले सोही आदेश खारेज नहुने आदेश गरेको हो ।
चौधरीमाथि जाहेरीकर्ताले किटानी पोल गरेको र सहअभियुक्तहरुले बयानमा पनि चौधरीको निर्देशनमा घटनामा संलग्न भएको बयान दिएका थिए । २०७४ फागुन १४ जिल्ला अदालत कैलालीले चौधरीले कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिब आधार विद्यमान रहेको भन्ने आदेश गरेको थियो । त्यस्तै, उच्च अदालत दिपायलले २०७४ चैत २२ गते गरेको आदेश मिलेकै देखिने भन्दै सर्वोच्च अदालतले चौधरीलाई रिहाई गर्न अस्विकार गरेको हो ।
चौधरी कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध चौधरी २०७५ असार ५ गते सर्वोच्च पुगेका थिए । लामो समय फरार रही अदालतमा आत्मसर्मपण गरेका चौधरीलाई पुस १९ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले शपथ गराएका थिए । कारागारबाट सिंहदरबार ल्याइएका चौधरीलाई सांसदको लोगो लगाएर पुनः थुनामै पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्