सुशासन समितिमा दैवी प्रकोपसम्बन्धी छलफल «

सुशासन समितिमा दैवी प्रकोपसम्बन्धी छलफल

राज्य व्यवस्था तथा सुशासन समितिमा विपद् र दैवी प्रकोपसम्बन्धी विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ ।
समितिको मंगलबारको बैठकमा सभापति शशी श्रेष्ठले शुक्रबार मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताइन् । समितिको बैठकमा सांसदहरूले बाढी पहिरो तथा डुबानबाट पीडित भएका जनताको उद्दार, राहत तथा पुनस्र्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए ।

कतिपय स्थानमा सरकारको उपस्थिति नै नभएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडलाई बोलाएर जानकारी लिने माग गरेका थिए ।
छलफलमा विपद् तथा दैवी प्रकोपसम्बन्धीका कुरामा सांसदहरूले आफ्नो धारणा राखेका थिए । सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिवेदनमा रहेका प्रमुख बुँदाहरू सचिवालयले उल्लेख गरेर आफ्नो भाषामा राख्न अनुरोध गरे ।
त्यस्तै छलफलमा बोल्दै सांसद विजय सुब्बाले प्रतिवेदन आफूले पढ्न पाउने माग राख्दै अध्ययनपछि मात्रै यसमा सुझाव दिनसक्ने बताए ।
सांसद् प्रेम सुवालले समितिमा पेस भएको प्रतिवेदनमा सुझाव नपुगेको गुनासो गरे । तीनवटै उपसमितिले बनाएको प्रतिवेदन अर्को एक समितिले हेर्दा उपयुक्त हुने उनको धराणा थियो । त्यस्तै यसोदा सुवेदी गुरुङले मनाङ र सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पीडितलाई अझै राहत दिन नसकेको बताइन् । उनले राहतमा खसी देखाएर फर्सी दिने त्यो पनि आज, भोलि नभएर पर्सी भएको बताइन् ।
त्यस्तै डा. डिला संग्रौलाले उपसमितिले दिएको प्रतिवेदन स्वीकार्दै समितिका सुझावलाई प्रतिनिधिसभामा लैजाने वातावरण मिलाउन सुझाएकी थिइन् ।
साथै, सांसद् लालबाबु पण्डितले उपसमितिको विषयमा छलफल मात्रै भएको तर समितिले प्रतिवेदन तयार नरगेको बताए । सुशासन समितिको बैठकमा बोल्दै पण्डितले समितिले प्रतिवेदन ड्राफ्टमा ल्याएर छलफल गर्नुपर्ने धारणा राखेका थिए । संसद् पुनस्र्थापना भएपछि संसदीय राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्