लकडाउनमा समेत ट्राफिक प्रहरीले राजस्व संकलन बढायो «

लकडाउनमा समेत ट्राफिक प्रहरीले राजस्व संकलन बढायो

ट्राफिक प्रहरीले गतआर्थिक वर्ष ६ हजारभन्दा बढी सवारी साधन कारबाहीबाट साढे ५७ लाखभन्दा बढी राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा एक तिहाइ बढी हो ।
आर्थिक वर्ष २०७७/७८ मा ट्रक, बस, कार, जिप, मोटरसाइकल लगायतका सवारी साधन कारबाहीबाट ५७ लाख ७० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७६।७७मा ४ हजार ३ सय सवारी कारबाहीबाट ४३ लाख राजस्व संकलन गरेको थियो ।
ट्राफिक प्रहरीकाअनुसार गतआर्थिक वर्ष २ हजार बढी मोटरसाइकल कारबाहीबाट सबैभन्दा धेरै २१ लाख ५१ हजार ५ सय राजस्व संकलनभएको छ भने सबैभन्दा कम राजस्व ४ वटा टेम्पो कारबाहीबाट ४५ हजार रकम संकलन गरिएको छ । यसैगरी, बस कारवाहीबाट ४७लाख७० हजार, कार, जिप, ट्याक्टर कारबाहीबाट १८ लाख ५५ हजार, भ्यान कारबाहीबाट १५ लाख ९८ हजार ५ सय र ट्रक कारवाहीबाट १३ लाख ५३ हजार ५ सय राजस्व संकन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले आर्थिक वर्ष २०७७÷७८ मा सवारी नियम उल्लंघन गर्ने ६ हजार ७ सय १७वटा सवारी साधनलाई कारबाही गरेको हो । गत आर्थिक वर्ष यात्रुहरू बढी बोक्ने, चालक अनुमतिपत्रबिना सवारी साधन चलाउने, बढी भाडा असुल्ने ठूला तथा साना गरी ६ हजार भन्दा बढि सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव निरीक्षक (सई) भानुभक्त नेपालले जानकारी दिए ।
गत आर्थिक वर्षको सुरुको एक महिना र अन्तिम ३ महिना कोरोना महामारीका कारण लकडाउन भयो । लकडाउनमा अनुमतिबिना सवारी चलाउनेलाई जरिवाना शुल्कसमेत बढाएको थियो । गतवर्ष सबैभन्दा धेरै २ हजार ४ सय ५७ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । यस्तै कार, जिप, भ्यान १ हजार ९ सय ४० वटा, ट्रक १ हजार ५ सय ४६ वटा, ५ सय ४८ वटा बस, २ सय २२ वटा ट्याक्टर र ४ वटा टेम्पो कारबाहीमा परेका छन् । गत वर्ष सबैभन्दा बढी माघ महिनामा ८ सय १५ वटा सवारी साधान कारबाहीमा परेका छन् भने दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि जिल्लामा निषेधाज्ञा लागू भएपछि सबैभन्दा कम जेठ महिनामा २ सय वटा सवारी साधानमात्रै कारबाहीमा परेको ट्राफिक प्रहरी प्रमुख नेपालले बताए ।
जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने सानातथा ठुला सवारीका साधनहरू कारबाहीमा पर्ने गरेका छन् । दोस्रो लहरको कोरोना संक्रमण चलिरहेको समयमानिषेधाज्ञा गरिएपनि सो अवधिमा पनि सवारीका साधानहरू कारबाहीमा परेको देखिएको छ । सवारी साधन दुर्घटना तथा ट्राफिक उल्लंघनका घटनाहरू नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई चुनौतीको विषय बनेको छ । खासगरी जिल्लाको भौगोलिक विकटता, ग्रामीण कच्ची सडक, सवारी साधनहरू यान्त्रिक रूपमा समक्ष नहुनु, चालकको लापरबाहीका कारण सवारी दुर्घटना तथा ट्राफिक नियम उल्लंघन हुने गरेको ट्राफिक प्रहरी प्रमुख नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्