ग्राहक सीमा नकट्दा बढ्यो राजस्व संकलन «

ग्राहक सीमा नकट्दा बढ्यो राजस्व संकलन

निषेधाज्ञाले सीमानाका बन्द हुँदा आन्तरिक राजस्व कार्यालय झापाले वार्षिक लक्ष्यको तुलनाभन्दा बढी राजस्व संकलन गरेको छ । किनमेलका लागि सर्वसाधरण भारतीय बजार जान नसक्दा भ्याट, आयकर र अन्तःशुल्कका सूचाङ्क बढेका हुन् ।
झापास्थित आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत प्रगति हासिल गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७६/७७ को तुलनामा ३६.५४ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा ४ अर्ब ११ करोड राजस्व संकलन गर्न सफल भएको कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले जानकारी दिए । जसमा आयकर १ अर्ब ८१ करोड, मूल्य अभिवृद्धि कर १ अब ८५ करोड, अन्तःशुल्क ४४ करोड र स्वास्थ्य सेवा कर ९२ लाख संकलन भएको अधिकृत श्रेष्ठले बताए ।
कार्यालयले अघिल्लो वर्ष ३ अर्ब १ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । कोभिड–१९ को असहज परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको प्रतिप्रमुख कर अधिकृत श्रेष्ठले राजस्व संकलनमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पु¥याएका सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले शुक्रबार धन्यवाद पत्रमार्फत राजस्व तिर्ने करदाता, कर्मचारी, जिल्ला राजस्व चुहावट अनुगमन समिति, सुरक्षा निकायहरू, बैंकहरू, झापा, इलाम, पाँचथर र ताप्लेजुङ्गाका उद्योग वाणिज्य संघहरू, लेखापरीक्षक तथा कर परामर्शदाताहरू, कोष तथा लेखा नियन्त्रक कार्यालयहरू, मालपोत कार्यालय, सञ्चारकर्मी तथा अन्य करोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेका हुन् । उनले आगामी दिनमा समेत सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्