प्रतिस्पर्धाबाट कामदार छनोट गर्न नेपाल–जापान सहमत «

प्रतिस्पर्धाबाट कामदार छनोट गर्न नेपाल–जापान सहमत

बिचौलिया र ठगी नियन्त्रण गर्न संयन्त्र बन्ने

सरकारले जापानको रोजगारीलाई सुरक्षित, पारदर्शी र सर्वसुलभ बनाउन छुट्टै संयन्त्र विकास गर्ने गरी जापानसँग संवाद अघि बढाएको छ । सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा विकृति र ठगी बढ्दै गएको भन्दै जापानको रोजगारीका लागि विश्वसनीय प्रणालीको विकास गरी सोही संयन्त्रभित्र रहेर कामदार पठाउने गृहकार्य सुरु गरेको हो । यसरी बनाएको संयन्त्रले योग्यता, सीप र दक्षताका आधारमा रोजगारीका लागि जापान जाने नेपाली कामदारको छनोट गर्ने छ । छनोट प्रक्रियालाई पारदर्शी बनाउन तेस्रो पक्षको कुनै पनि संलग्नता नहुने गरी प्रणाली विकास गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
नेपाली कामदार छनोटलाई पारदर्शी र निष्पक्ष बनाउने विषयमा दुई मुलुकका प्रतिनिधिबीच सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छलफल भएको छ । श्रममन्त्री गोर्कण बिष्ट र नेपालका लागि जापानी राजदूत मासामिची साईगोबीच नेपाली कामदार पठाउने सम्बन्धमा दुई देशबीचको सहकार्यमा एक संयन्त्र स्थापना गरी युवालाई आर्थिक भार कम गर्ने गरी काम गर्ने सहमति भएको छ । छलफलपछि मन्त्री बिष्टले नेपालका लागि रोजगारीको अवसर मिलाएकोमा आभार व्यक्त गर्दै जापानमा नेपाली कामदार लैजाने विषयमा भर्ना र छनोट प्रणालीलाई पारदर्शी र भरपर्दो बनाउनुपर्ने विषयमा दुवै मुलुकको समान धारणा रहेको बताए । श्रम मन्त्रालयमा प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदार छनोट पारदर्शीरूपमा हुने बताए । प्रवक्ता रेग्मीले नेपाली कामदार जापान पठाउने विषयको टुंगो लागेको भन्दै नेपाली युवा जापान जाँदा कुनै मध्यस्थकर्ता वा बिचौलियाको ठगीमा नपरुन् भन्ने विषयमा मन्त्रालय सजग रहेको बताए ।
नेपालका लागि जापानी राजदूत साइगोले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा लैजाने बारेमा जापान सरकारको सकारात्मक धारणा रहेको बताए । उनले नेपाली युवा जापान पठाउने विधी र प्रक्रियाका सम्बन्धमा काम अघि बढीरहेको जानकारी दिए ।
मन्त्रालयले रोजगारीका विषयमा छलफलका लागि जापानको एक प्राविधिक टोली छिट्टै नेपाल आउने जनाएको छ । जापानी टोलीले नेपालको प्राविधिक समूहसँग छलफल गरी दुवै देशको पारस्परिक हित अनुकूल उपयुक्त विधी, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमै जापान कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने प्रवक्ता रेग्मीले जानकारी दिए ।
जापान सरकारले आफ्नो पछिल्लो निर्णयअनुसार नेपाललाई औपचारिकरूपमै अवधारणा समटेर अवधारण बनाउन अनुरोध गरिसकेको छ । नेपालले आफ्नो अवधारणामा नेपाली कामदारको सुरक्षा, सेवा सुविधा र कानुनी पक्षका विषयमा छलफल गरिरहेको छ । छलफलपछि भएका निर्णय आगामी माघ २ गते नेपाल आउने जापानी प्राविधिक टोली समक्ष पेस गरिने र दुवै देशबीच पुनः छलफल गरी निर्णय लिने जनाएको छ । नेपाल सरकारले सम्पूर्ण तयारी पुरा गरी आगामी वैशाखबाट नेपाली कामदार पठाउने सम्बन्धमा गृहकार्य गरिरहेको छ ।
जापानी सरकारले कम्तिमा ३ लाख ४५ हजार विदेशी कामदारलाई रोजगारीका लागि आफ्नो देशमा लैजाने निर्णय यसअघि नै गरिसकेको छ । नेपालबाट नर्सिङ, केयर गिभर, रेस्टुरेन्ट, निर्माण, उद्योग र कृषि जस्ता क्षेत्रमा ठूलो संख्यामा कामदार जान सक्ने देखिन्छ । नेपालले कामदार पठाउनुअघि कामदारको सुरक्षाका लागि जापानको भ्रमण गरी प्राविधिक टोलीसँग छलफलसमेत गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्