टोयोटाका सबै कारमा इलेक्ट्रोनिक भर्सन

भविष्यमा जापानी अटो टोयोटाका सबै कारमा विद्युतीय भर्सन हुने र विलासी कार लेक्सासमा २०२५ देखि विद्युतीय भर्सन हुने अध्यक्ष अकियो टोयोडाले बताए ।
अन्तर्राष्ट्रिय उपभोक्ता विद्युतीय प्रदर्शनी (सीईएस) मा कम्पनीले अमेरिकी प्रविधि कम्पनी अमेजन र राइड हेलिङ कम्पनीहरू उबर र चिनियाँ डिडीसँग उच्च तहको साझेदारी गर्ने घोषणा पनि गरेको छ ।
“हाल टोयोटाले ९० भन्दा बढी मुलुकमा ३७ वटा विद्युतीय सवारीको मोडल प्रस्ताव गरेको छ । २०२० को सुरुका वर्षहरूमा हामीसँग विश्वव्यापी रूपमा १० भन्दा बढी ब्याट्री–विद्युतीय सवारी उपलब्ध हुनेछन् । २०२५ देखि टोयोटा र लेक्ससको प्रत्येक मोडलमा या त विद्युतीय वा विद्युतीय विकल्प समावेश हुनेछन्,” टोयोडाले बताए ।
“हाम्रो उद्योगमा तीव्र दरमा प्रविधिमा परिवर्तन आइरहेको छ र प्रतिस्पर्धा पनि बढिरहेको छ । हाम्रा प्रतिस्पर्धीले लामो समयसम्म कार मात्रै निर्माण गर्दैनन् । गुगल, एप्पल र फेसबुकसमेतले मैले रातिमा सोच्ने गरेको प्रविधि निर्माण गर्दै आएका छन्,” टोयोडाले बताए ।
उनले टोयोटालाई अटोमोबाइल कम्पनीबाट मोबिलिटी कम्पनीमा रूपान्तरण गर्ने आफ्नो लक्ष्य भएको बताएका छन् । “सम्भावना अन्तहीन छ । हामी कारलाई अझै विकसित गर्न चाहन्छौं,” उनले बताए ।
टोयोटा र माइक्रोसफ्टको संयुक्त लगानीका कम्पनी टोयोटा कनेक्टेड विश्वभरिका कनेक्टेड कारका उपभोक्ताबाट करोडौ तथ्यांक उपलब्ध गर्ने र यसले आगामी कारलाई उत्कृष्ट बनाउने पनि उनले बताए ।