जसपा संसदीय दलको विधान पारित «

जसपा संसदीय दलको विधान पारित

जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ ।
मंगलवार बसेको पार्टीको बैठकले संसदीय दलको विधान सुझावसहित पास गरेर पार्टीमा पठाउने निर्णय गरेको हो । बैठकपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय संसदीय दलको विधानलाई छलफल गरी पारित गरेको बताए । सरकारमा सहभागी बन्ने मन्त्रीहरुको बारेमा भने कुनै छलफल नभएको उनले बताए ।
उनले भने, ‘संसदीय दलको विधान पारित भएको छ । जसपा एउटै पार्टी हो, दुईवटा होइन ।’
त्यस्तै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मंगलबारको छलफल संसदीय दलको विधानमा मात्रै केन्द्रित रहेको बताए । बैठकले संसदीय दलको विधानलाई मुख्य एजेण्डा बनाएको र नयाँ सरकारमा सहभागी बन्ने मन्त्रीहरुको बारेमा केही कुरा नभएको डा. भट्टराईको भनाइ थियो ।
त्यस्तै पार्टीका सांसद रामबाबु यादवले संंसदीय दलको विधान पार्टीबाट अनुमोदन भएर आएपछि यस अनुसार नै संसदीय दलका पदाधीकारी चयन गरिने बताए । केन्द्रीय कार्यकारिणी समितिको बहुमत र सांसदको पनि बहुमत आफूसँगै भएको बताए। सांसद यादवले अबको १,२ दिनमा पार्टीले निर्णय गर्ने र निर्वाचन आयोगबाट पनि दलको बारेमा आधिकारिकता आएपछि पार्टी अघि बढ्ने बताए ।।
नयाँ सरकारलाई पार्टीको समर्थन रहेको बताउँदै सांसद यादवले ढिलोचाँडो सरकारमा सहभागी बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्