कृषिप्रधान देश नेपाल अझै धानमा परनिर्भर «

कृषिप्रधान देश नेपाल अझै धानमा परनिर्भर

नेपाल कृषिप्रधान देश हो । विश्वमा नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ । नेपालका अधिकांश जनसंख्या प्रमुख रूपमा कृषि पेसामा आबद्ध छन् । कृषि पेसामा आबद्ध किसानहरूका लागि मुख्य सिजन यही हो अर्थात् असार–साउन वा वर्षायाम किसानहरूका लागि एकदमै व्यस्त समय हो । यो समयमा प्रमुख रूपमा धानखेती गरिन्छ । धानखेतीका लागि यो एकदमै अनुकूल समय पनि हो । किसानहरू यो समय खेतीपातीको काममा खट्ने गर्छन् । त्यसैले किसानहरूलाई यतिबेला भ्याइनभ्याइ हुन्छ । यो समयलाई ‘मानो खाएर मुरी उब्जाउने’ समय पनि भन्ने गरिन्छ । यो समय किसानका लागि आय आर्जनको स्रोत बढाउने समय हो ।
अपशोच नेपाल कृषिप्रधान देश भएर पनि अझै धान उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । नेपाल अझै पनि धानमा परनिर्भर नै रहेको छ । पहिलेको तुलनामा अहिले नेपालमा धान उत्पादनमा वृद्धि भए पनि आत्मनिर्भरचाहिँ बन्न सकेको छैन । सरकारको भनाइअनुसार धानमा आत्मनिर्भर हुन कम्तीमा प्रतिहेक्टर ३.७५ मेट्रिक टन धान उत्पादन हुनुपर्छ । अहिले प्रतिहेक्टर ३.५ देखि केही माथिसम्म उक्लिएको छ । धान उत्पादन दिगो हुन नसक्नुको कारण सिँचाइ र गुणस्तरीय बीउको अभाव तथा धानले राम्रो बजार पाउन नसक्नु हो । दिनरात भोकप्यास खटेर असारे झरीमा निथ्रुक्क भिजेर धान खेती गर्ने किसान भुसको भाउमा धान बेच्न बाध्य छन् । स्वदेशमै उत्पादित किसानले धानको मूल्य नपाएको बेला नेपालले भने विदेशबाट चामल आयात गरेको तीतो यथार्थ छ । यही कारणले हाल किसान धानखेतीबाट पलायन हुने गरेका छन् । फलस्वरूप खेतबारी, खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै गएको छ ।
तथ्यांकअनुसार नेपालमा लगभग वार्षिक ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । तर, आर्थिक वर्ष २०७७-७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्यांक छ । विगतको तुलनामा नेपालमा धान उत्पादनमा वृद्धि भए पनि अझै पनि देशलाई अपुग नै देखिन्छ, जसले गर्दा नेपालले वार्षिक रूपमा ३० अर्बभन्दा बढी रुपैयाँको चामल आयात गर्दै आएको छ । नेपालमा धान उत्पादनको सम्भावना प्रबल रहेको छ, किनभने नेपालमा प्रशस्त खेतीयोग्य भूमि छ, जनशक्ति छ र उपयुक्त वातावरण पनि छ । यसको सदुपयोग र योजना कार्यान्वयन गरी किसानको समस्या हल गर्न सरकार अघि बढ्नुपर्छ । देशको अर्थतन्त्रलाई चलायमान बनाइराख्न समग्र धानको उत्पादनमा वृद्धि गर्न आवश्यक छ । धान उत्पादन गर्ने प्रमुख भूमिका र जिम्मेवारी किसान निहित हुने भएकाले किसानलाई सरकारको उचित साथ मिलेमा मात्र धानको उत्पादनमा वृद्धि हुन्छ । सरकारले किसानलाई समयमा बीउ र मलखाद उपलब्ध गराउने काम गर्नुपर्छ, अनि मात्र नेपाल धानमा आत्मनिर्भर बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्