कोरोनाका कारण विश्वव्यापी श्रम बजारमा संकुचन «

कोरोनाका कारण विश्वव्यापी श्रम बजारमा संकुचन

कोरोना कहरका कारण विश्वव्यापी श्रम बजारमा संकुचन आएका कारण श्रम गन्तव्यमा जाने नेपालीको संख्या घटेको छ । कोरोना कहरकै कारण प्रमुख श्रम गन्तव्यमा नेपाली कामदारको माग पनि कम रहेको तथा माग भए तापनि हवाई सेवा बन्द भएको एवं नेपाली श्रमिकलाई सरकारले खोप लगाउने प्राथमिकतामा पनि नराखेका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ह्वात्तै घटेको छ । वास्तवमा तिनै नेपाली युवाले विदेशमा श्रम गरेर पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ । तर, तिनै नेपाली युवा सरकारको प्राथमिकतामा कहिल्यै परेनन् । तसर्थ वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्यामा अघिल्लो वर्षको तुलनामा शतप्रतिशत तथा त्यसभन्दा अगाडिको आर्थिक वर्षको तुलनामा करिब चार गुणा कमी आएको छ ।
आर्थिक वर्ष २०७५-०७६ मा कुल ५ लाख ७ हजार ८ सय १७ नेपाली युवा वैदेशिक रोजगारीमा गएकोमा आर्थिक वर्ष २०७६-०७७ मा घटेर ३ लाख ६८ हजार ४ सय १३ मात्र नेपाली युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । झन् गत आर्थिक वर्ष २०७७-०७८ मा त यो संख्या घटेर १ लाख ६६ हजार ३ सय ५ मा सीमित भएको छ । त्यसमा पनि युएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानजस्ता नेपाली युवाको प्रमुख ७ श्रम गन्तव्यमा जाने श्रमिकको संख्या सबैभन्दा बढी घटेकोे छ । किनकि कतार, साउदी अरब र युएई जाने नेपालीको संख्या शतप्रतिशतभन्दा बढीले कमी आएको छ । वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र युएई जाने नेपाली संख्या एक वर्षमा २ लाख ५७ हजारभन्दा कमी भएको छ । आर्थिक वर्ष २०७५-०७६ मा कतार, साउदी अरब र युएई जाने नेपालीको संख्या ३ लाख ९८ हजार रहेकामा गत आर्थिक वर्षमा सो संख्या घटेर १ लाख ४१ हजार ९ सय ७७ मात्र छ । साथै, गत वर्ष मलेसिया जान नपाएका युवा वैकल्पिक रोजगारी खोज्दै खाडी राष्ट्र जाने क्रम बढेका कारण संख्यामा केही वृद्धि भएको देखिए तापनि फेरि कोरोनाको दोस्रो लहरका कारण घटेको छ । यस्तै, अघिल्लो आर्थिक वर्ष कतार जाने नेपाली युवाको संख्या सबैभन्दा बढी ८१ हजार ५ सय ६७ रहेकोमा गत आर्थिक वर्षमा सो संख्यामा शतप्रतिशत घट्न गई ४० हजार ४ सय ४६ मा सीमित भएको छ ।
अघिल्लो आर्थिक वर्ष युएई जाने नेपाली युवाको संख्या ९३ हजार ४ सय २२ रहेकोमा गत आर्थिक वर्षको सो संख्या शतप्रतिशतले कमी आएर ४० हजार ४ सय २४ मा सीमित भएको छ भने अघिल्लो वर्ष साउदी अरब जाने नेपालीको संख्या ८३ हजार १ सय ६३ मा शतप्रतिशत नै कमी भएर ४६ हजार ७ सय ९६ मा झरेको छ । यो संख्या संस्थागत, वैधानिकीकरण, व्यक्तिगत र पुनः श्रम स्वीकृति हो । यसमा पुनः श्रम स्वीकति लिएर जानेको संख्या बढी रहेको छ ।
तर, वैश्विक महामारी कोराना कहरका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षसम्ममा रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आए पनि उनीहरूद्वारा प्रेषित रेमिट्यान्स भने घटेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षकोे ११ महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स मुलुकमा भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२.६ प्रतिशत बढी हो । तर, प्रमुख श्रम गन्तव्य खाडी राष्ट्रमा आएको कोरोना संकटका बीच आर्थिक मन्दी भएपछि वैदेशिक रोजगारमा जाने युवाको संख्या घट्दै गए पनि सरकारले वैकल्पिक रोजगारीको व्यवस्था गर्न सकेको छैन । भाषणमा नेपाली युवा अब विदेशमा श्रम बेच्न जानु नपर्ने बताए तापनि सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्न कुनै चासो नराखेका कारण पनि वैदेशिक रोजगारको विकल्प नेपाली युवाका लागि अझै केही बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्